कर्णालीमा कांग्रेस बन्यो पहिलो

प्रतिस्पर्धामा नेकपा | कमजोर देखियो एमाले | राप्रपा यथावत | उदायो रास्वपा

सुर्खेत: फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनबाट कर्णाली प्रदेशमा नेपाली कांग्रेस प्रमुख राजनीतिक शक्तिका रूपमा अनुमोदित भएको छ । प्रत्यक्षतर्फ प्रदेशका १२ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै पाँच वटा क्षेत्र कांग्रेसले जितेको छ ।

नेपाली कम्युनिष्ट पार्टीले चार वटा क्षेत्रमा जित निकाल्दा नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक÷एक क्षेत्र जितेका छन् । नेकपाले आफूलाई कांग्रेस सँगसँगै मुख्य प्रतिस्पर्धी शक्तिकै रूपमा उभ्याउँदा एमाले भने कमजोर देखिएको छ । अघिल्लो चुनावबाट कर्णालीमा आफ्नो बलियो उपस्थिति देखाएको राप्राले यसपटक पनि त्यसलाई कायम राख्न सफल भएको छ । यो चुनावबाट रास्वपाले पनि उदाएको छ ।

कांग्रेस कर्णालीको परम्परागत राजनीतिक शक्ति हो । यद्यपि, विगतका चुनावमा उसलाई एमाले र तत्कालीन माओवादीले चुनौती दिँदै आएका थिए । कतिसम्म भने २०७४ मा एमाले र माओवादीले गठबन्धन गर्दा कांग्रेस कर्णालीबाट प्रतिनिधिसभामा नतिजाविहीन हुन पुगेको थियो । त्यसको पाँच वर्षपछि २०७९ मा कांग्रेसले माओवादीसँग गठबन्धन गरेर चार सिट जित्यो । त्यतिबेला एमाले नतिजाशून्य भएको थियो । तर यसपटक चुनावी गठबन्धन भएन । सबै दल एक्ला एक्लै लडेका थिए । जसको फाइदा कांग्रेसलाई भएको छ । अघिल्लो पटक गठबन्धन गर्दा पनि चार सिट जितेको कांग्रेसले यसपटक एक्लै लडेर एक सिट थपको छ, पाँच वटामा जित हात पार्न सफल भयो ।

कांग्रेसले अघिल्लो चुनावमा जितेको सुर्खेतको क्षेत्र नं. २ र दैलेखको क्षेत्र नं. २ गुमाए पनि यसपटक थप तीन वटा क्षेत्रमा जित निकाल्यो । कांग्रेसले यसपटक थपेको सिटमा दैलेखको क्षेत्र नंं. १, जाजरकोट र हुम्ला हुन् ।

दैलेख–१ मा कांग्रेसकी बासना थापा १२ हजार तीन सय ७२ मत प्राप्त गरेर निर्वाचित भइन् । दैलेख–१ मा जस्तै जाजरकोटमा पनि कांग्रेसले वर्षौंपछि जित निकालेको छ । लगातार तीन वटा चुनाव जितेका शक्तिबहादुर बस्नेतलाई पराजित गर्दै जाजरकोटबाट नेपाली कांग्रेसका खडकबहादुर बुढा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । यो नतिजाले जाजरकोटमा शक्ति बस्नेतको वर्चश्व तोडिएको छ । २०७०, २०७४ र २०७९ मा लगातार शक्तिले जितेका थिए । यसपटक भने त्यसलाई निरन्तरता दिन सकेनन् ।

गत चुनावमा माओवादीसँग गठबन्धन गरेको कांग्रेसले बस्नेतलाई नै सघाएको थियो । २०७४ मा एमाले र २०७९ मा कांग्रेसको सहयोगमा शक्तिले चुनाव जितेका थिए । यसपटक एक्लाएक्लै चुनाव लड्दा उनी पराजित हुन पुगे । कांग्रेसले कर्णालीमा एक सिट थप्न पायो । यो चुनावसँग जाजरकोटमा कांग्रेसको पुनरागमन भएको छ ।

कांग्रेसले यसपटक हुम्लामा पनि जित निकालेको छ । हुम्लाबाट जयपति रोकाया विजय भएका छन् । गत निर्वाचनमा हुम्लाबाट माओवादी केन्द्रका छिरिङ डम्डुल लामा निर्वाचित भएका थिए । त्यतिबेला लामालाई कांग्रेसले पनि सघाएको थियो । यसपटक एक्लै चुनाव लड्दा कांग्रेसले बाजी मारेको छ ।

कर्णालीबाट कांग्रेसले जितेको अर्को क्षेत्र हो, सुर्खेतको क्षेत्र नं. १ । त्यसो त यो क्षेत्रबाट २०४८ यता दुई पटक बाहेक अरु सबै चुनाव कांग्रेसले जितेको छ । त्यसमा पनि पाँच पटक कांग्रेसका पूर्व केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले नै जितेका छन् । यो चुनावमा पनि कांग्रेसले विजयी यात्रालाई कायम राखेको छ । त्यो पनि पूर्णबहादुरकै सहोदर भाइ विष्णुबहादुर खड्काको जितसहित । पहिलो पटक संसदीय चुनावमा उम्मेदवार बनेका विष्णुबहादुर खड्काले नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई पराजित गरे । क्षेत्र नं. १ मा जित दोहो¥याएको कांग्रेसले अघिल्लो पटक जितेको सुर्खेतकै क्षेत्र नं. २ भने यसपटक गुमाएको छ ।

मुगुमा भने कांग्रेसले अघिल्लो पटकको जितलाई दोहो¥याएको छ । मुगुबाट कांग्रेसका खड्ग शाही विजयी भएका छन् । गत चुनावमा यहाँबाट कांग्रेसकै ऐनबहादुर शाही निर्वाचित भएका थिए । यसपटक कांग्रेसले उम्मेदवार परिवर्तन गरे पनि जित दोहो¥याउन सफल भएको छ । यसरी प्रदेशका १२ मध्ये पाँच सिट जितेर नेपाली कांग्रेस कर्णाली प्रदेशको प्रमुख राजनीतिक शक्ति बनेको छ ।

कर्णाली प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को पनि राम्रै प्रभाव छ । यसअघि तत्कालीन माओवादी केन्द्र बलियो अवस्थामा थियो । त्यसमाथि एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादी पनि मिसिएर नेपाली कम्युनिष्ट पार्टी बनेपछि अझ बलियो बनेको देखिन्छ । फागुन २१ गतेको निर्वाचनको नतिजाले पनि कर्णालीमा नेकपालाई प्रमुख राजनीतिक शक्तिकै रूपमा अनुमोदन गरेको छ ।

कर्णालीका १२ वटा क्षेत्रमध्ये चार वटा क्षेत्र जितेर नेकपा कांग्रेसपछिको दोस्रो ठूलो दल बनेको छ । २०७९ मा भने नेकपा (अर्थात् तत्कालीन माओवादी र समाजवादी) ले कर्णालीबाट सात वटा क्षेत्र जितेको थियो । कांग्रेससँगको गठबन्धनको बलमा माओवादीले चार र समाजवादीले तीन सिट जितेका थियो । तर यसपटक दुवै दल मिलेर एउटा पार्टी बनाउँदा भने त्यो सात सिट जोगाउन सकेन । तीन सिट गुमाएर चारमा सीमित हुन पुग्यो ।

नेकपाले अघिल्लो पटक जितेका केही क्षेत्र गुमाउँदा यसपटक नयाँ क्षेत्रमा पनि जित निकाल्न सकेन । उसले कालीकोट, सल्यान, डोल्पा र रूकुमपश्चिममा जित हात पा¥यो । यि चार वटै क्षेत्र २०७९ मा पनि नेकपाले नै जितेको थियो ।

कालीकोटबाट कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही निर्वाचित भए । त्यसैगरी रूकुमपश्चिममा पनि नेकपाले जित निकालेको छ । गोपाल शर्माले रूकुममा कम्युनिष्ट जितलाई निरन्तरता दिएका छन् । आफ्नै पूर्व सहकर्मी जनार्दन शर्मासहित कांग्रेसका राजु केसीलाई पराजित गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीले सल्यानमा पनि जितेको छ । रास्वपाका ललितकुमार चन्दलाई पराजित गर्दै नेकपाका रमेशकुमार मल्ल निर्वाचित भएका हुन् । २०७९ मा सल्यानबाट तत्कालीन एकीकृत समाजवादीका प्रकाश ज्वाला निर्वाचित भएका थिए । ज्याला अहिले नेकपामै छन् । ज्वालाको जितलाई मल्लले पनि जोगाएका छन् ।

यसैगरी डोल्पामा पनि नेकपाले आफ्नो जित दोहो¥याएको छ । दोहो¥याउने उम्मेदवार पनि उनै हुन्, धनबहादुर बुढा । यो जितसँगै धनबहादुर डोल्पाबाट लगातार चौथो पटक निर्वाचित भएका छन् । यसअघि २०७०, २०७४ र २०७९ मा पनि उनले चुनाव जितिसकेको छन् । यसपटक अर्को रोचक कुरा के पनि छ भने लगातार चौथो जित निकाल्ने क्रममा उनले आफ्नै सहोदर दाइलाई पनि पराजित गरे । कांग्रेसबाट उम्मेदवार कर्णबहादुर बुढा धनबहादुरका दाइ हुन् । उनी भने योसँगै चौथो पटक पराजित भएका छन् । यसअघि २०५१, २०५६ र २०६४ मा पनि चुनाव लडेर पराजित भएका थिए ।

नेकपा (एमाले)का लागि फागुन २१ को चुनाव सम्झनलायक रहेन । त्यसो त एमालेले २०७९ मा पनि कर्णालीका १२ वटै क्षेत्रमा हार बेहोरेको थियो । कांग्रेस–माओवादी र समाजवादीसहितको गठबन्धनविरुद्ध लड्दा नतिजाविहीन हुनु परेको थियो ।

यद्यपि, कर्णालीमा एमालेको सांगठनिक प्रभाव कमजोर भने थिएन । त्यसैले फागुन २१ को चुनावमा दलहरूबीच एक्लाएक्लै प्रतिस्पर्धा हुँदा एमालेलाई पनि प्रमुख प्रतिस्पर्धीकै रूपमा हेरिएको थियो । तर चुनावी प्रतिस्पर्धामा भएपनि निर्वाचित नतिजामा भने एमाले निकै कमजोर अवस्थामा पुग्यो ।

प्रदेशका १२ मध्ये एउटामा मात्रै जित हात पा¥यो । दैलेखको निर्वाचन क्षेत्र नं. २ बाट चुनाव जितेका लक्ष्मीप्रसाद पोखरेल कर्णालीबाट प्रतिनिधिसभामा निर्वाचित एमालेका एक्ला उम्मेदवार हुन् । अघिल्लो चुनावमा नतिजाविहीन भएको एमालेले यसपटक त्यो नतिजाशून्य अवस्थाको भने अन्त्य गरेको छ । तर उसले अपेक्षाकृत नतिजा पाउन सकेन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २०७९ मा एक सिट जित्दै कर्णालीमा आफ्नो उपस्थिति देखाएको थियो । फागुन २१ को निर्वाचनमा पनि त्यो नतिजालाई कायम राख्न सफल भएको छ । अघिल्लो पटक जुम्लाबाट निर्वाचित ज्ञानबहादुर शाही यसपटक पनि निर्वाचित भएका छन् । २०७९ मा पनि जुम्लाबाट शाही निर्वाचित भएका थिए । उनले लगातार दोस्रो पटक जित निकालेका छन् । हरेक चुनावमा नयाँ उम्मेदवार रोज्ने इतिहास बनाएको जुम्लाले पछिल्ला दुवै चुनावमा एकै व्यक्तिलाई जिताएको छ ।

अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कमजोर देखिएको छ । यद्यपि, एउटा क्षेत्र जितेर कर्णालीबाट पनि रास्वपाले प्रतिनिधिसभामा आफ्नो सहभागिता सुनिश्चित गरेको छ । सुर्खेतको क्षेत्र नं. २ बाट रास्वपा उम्मेदवार रमेशकुमार सापकोटा निर्वाचित भएका छन् । उनी कर्णालीबाट निर्वाचित हुने रास्वपाका एक्ला उम्मेदवार हुन् ।

प्रकाशित मितिः   २५ फाल्गुन २०८२, सोमबार १४:३९