हिउँको बाधा
देश चुनावमय भएको छ । उम्मेदवारहरू मत माग्दा मतदाताको घरदैलो पुगिरहेका छन् । तर कर्णाली प्रदेशको हिमाली जिल्लाहरूमा केही दिनयता हिउँ परिरहेको छ । जसले गर्दा उम्मेदवारहरूको प्रचार–प्रसार अभियान नै प्रभावित भइरहेको देखिन्छ । यद्यपि, हिउँ छिचोलेर भएपनि उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगिरहेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूलाई मतदाता भेट्न हिउँले छेकेको छैन । यद्यपि, हिउँकै कारण समस्या भने भइरहेको छ । हिमाली जिल्लाहरूमा हिमपातले एउटा बस्तीबाट अर्को बस्तीमा आउजाउ गर्न समेत हम्मेहम्मे परिरहेको छ । विकट बस्तीहरूमा पुग्न कठिन भइरहेको उम्मेदवारहरू बताउँछन् ।
प्रायः वैशाख र मंसिरमा हुने चुनाव यो पटक फागुनमा हुँदैछ । मौसमी हिसाबले हिमाली क्षेत्रका लागि यो समय निर्वाचनका लागि उपयुक्त भने होइन । तर देशमा उत्पन्न विषम् परिस्थितिका कारण अहिले प्रतिनिधि सभाको चुनाव हुन लागेको हो । फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । निर्वाचन लक्षित चुनावी प्रचार–प्रसार चलिरहेको छ । अन्य जिल्लामा सहज रूपमा चुनावी प्रसारका गतिविधि भइरहेपनि कर्णालीका हिमाली जिल्लामा निकै समस्या भइरहेको छ । अझ हिमाली बस्तीका कैयौँ मतदाता यो समयमा सुर्खेत र नेपालगञ्ज झरिसकेका छन् । मतदाता रिझाउन उम्मेदवार गाउँ पुगे पनि नागरिक सबै गाउँमा छैनन् । कतिपय स्थानमा बाटो अवरुद्ध बनेको छ भने टेलिफोनले समेत काम गरेको छैन । हिमपातका कारण कर्णालीका हिमाली बस्तीहरूमा निर्वाचन गराउन चुनौती देखिएको छ । प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार उच्च हिमाली बस्तीका २० वटा मतदान केन्द्रमा अत्यधिक हिमपात हुन्छ । ती क्षेत्रका झन्डै चार हजार मतदाता बाहिर रहेको प्रहरीको तथ्यांक छ । अत्यधिक चिसो हुने कर्णालीका दश वटा प्रहरीचौकी कार्तिक दोस्रो सातादेखि जिल्ला प्रहरी कार्यालयमै समाहित भइसकेका छन् ।
मुगुको मुगमकार्मारोङ गाउँपालिकास्थित मुगुगाउँ, कीर्ति, डोल्फु, किम्री, कार्तीलगायत गाउँका अधिकांश मानिस बाहिर छन् । मुगु गाउँका मात्रै झन्डै चार सय जना जाडो छल्न गाउँबाहिर गएको देखिन्छ । सुरक्षा निकायमार्फत कति मतदाता बाहिर छन् भन्ने तथ्यांक संकलन गर्न थालिएको छ । बढी हिमपात हुने मुगमकार्मारोङका पाँच वटा मतदान केन्द्रमा हेलिकोप्टरबाट मतपेटिका र निर्वाचन सामग्री ओसार्नुको विकल्प छैन । ती मतदान केन्द्रसम्म जान सडक सुविधा छैन । हिमपात भइरहने क्षेत्र भएकाले बोकाएर पठाउन सकिँदैन । जसले गर्दा निर्वाचनको तयारीमा पनि समस्या देखिएको छ । यद्यपि, मतदान आउन अझै एक महिना बाँकी रहेकाले अवस्था सहज हुनसक्ने आँकलन गर्न सकिन्छ ।
प्रकाशित मितिः १६ माघ २०८२, शुक्रबार ०५:०३
सम्पादकीय ।