ट्राफिक लाइटमा लापरबाही
वीरेन्द्रनगरमा दिनप्रति दिन सवारी चाप बढ्दो छ । पैदलयात्रुहरूको भिडभाड पनि बढ्दै गएको छ । जसले गर्दा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनिरहेको छ । ट्राफिक व्यवस्थापनकै लागि भनेर गत असारमा वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्रचोकमा ट्राफिक लाइट जडान गरेको थियो । तर पछिल्लो समय प्रयोगविहीन छ । छेउमै ट्राफिक लाइट जडान गरेपनि ट्राफिक प्रहरीले हात र सिठीको सहारामा सवारी साधनको चाप व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । पोलमा बत्ति बलिरहेको हुन्छ, तर त्यसको पालना कसैले गरिरहेको हुँदैन । अझ रोचक कुरा के छ भने जतिबेला पनि पहेँलो बत्ति बलिरहेको हुन्छ । जसले गर्दा यात्रु र सवारी चालकलाई समेत अलमलमा पार्ने गरेको छ ।
आवश्यक प्राविधिक परीक्षणपश्चात् २०८२ असारमा जडान गरिएका बत्ती नगर प्रमुख मोहनमाया ढकालले जिल्ला ट्राफिक कार्यालय सुर्खेतलार्ई हस्तान्तरण गरेकी थिइन् । त्यसयता करिब तीन महिना नियमित सञ्चालनमा रहेको ट्राफिक लाइट अहिले प्रयोगमा छैन । आर्थिक वर्ष २०८१/०८२ मा स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत वीरेन्द्रचोकमा ट्राफिक बत्ती जडान गर्न नगरपालिकाले ३० लाख रूपैयाँ विनियोजन गरेको थियो । वीरेन्द्रनगर नगरपालिकाले झण्डै २५ लाख लगानीमा जडान गरेको हो । लागत अनुमान ३१ लाख गरिएपनि २४ लाख ७४ हजारमा ठेक्का सम्झौता भएको थियो । प्रदेशको राजधानीमा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले नगरपालिकाले ट्राफिक लाइट जडान गरे पनि त्यो ‘सो पिस’ मा परिणत भएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । बत्ती जडान गरेपछि असोजबाट सञ्चालनमा नआएको बताइएको छ । जडान गरिएको केही समयपछि नै बिग्रिएको थियो । तर समयमै मर्मत हुन सकेको छैन । बिग्रिएका कारण बन्द समेत नहुने र पहेँलो बत्ती बलिरहने भएकाले यात्रुहरूलाई अलमल हुने गरेको छ । अब मर्मत गरेर मात्र सञ्चालन गर्न सकिने अवस्था छ । तर यसबारे वीरेन्द्रनगर नगरपालिका बेखरजस्तै छ । सम्बन्धित कार्यालयबाट यसको आधिकारिक समस्याबारे जानकारी आएको खण्डमा तत्काल समाधान गरिने भनाइ नगरप्रमुख मोहनमाया ढकालको छ ।
पहिलो पटक जडान गरिएको बत्ती नै प्रयोगविहीन भइरहँदा नगरपालिकाले भने अन्य क्षेत्रमा पनि विस्तार गर्ने योजना बनाइरहेको छ । रत्न राजमार्ग अन्तर्गत यरिचोक, मंगलगढी चोक, एयरपोर्ट चोकमा सडक विभाग र मुलपानी चोक, दैलेख रोड चोकलगायतका क्षेत्रमा नगरपालिकाले ट्राफिक बत्ती जडान गर्नेगरी योजना निर्माण गरिएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरको ट्राफिक व्यवस्थापनका लागि बत्ती जडान अपरिहार्य छ । तर त्यसको उचित प्रयोगमा समेत ध्यान दिनु पर्दछ । पहिलो पटक जडान गरिएको ट्राफिक लाइटको सञ्चालनमा भने लापरबाही देखिएको छ ।
प्रकाशित मितिः १ माघ २०८२, बिहीबार ०५:०३
सम्पादकीय ।