कर्णालीमा प्रहरी अस्पताल सञ्चालन

सर्वसाधारणले पनि उपचार सेवा पाउने

 

सुर्खेत: नागरिकलाई सुरक्षा दिने प्रहरीले स्वास्थ्य सेवा पनि उपलब्ध गराउने भएको छ । कर्णाली प्रदेश प्रहरी अस्पतालले सर्वसाधारणको उपचार गर्नेगरी सेवा सञ्चालनमा ल्याएको हो । १५ शैड्ढयाबाट सेवा सुरु गरिएको छ ।

२०७४ सालमा स्वास्थ्य उपचार केन्द्रको रूपमा स्थापना भएको अस्पतालले अब आम नागरिकलाई पनि समेट्ने गरेर सेवा विस्तार गरेको छ । २०७८ सालमा नै ५१ जना प्राविधिक कर्मचारीहरूको दरबन्दी कायम गरिएको थियो । दरबन्दी कायम गरिएको भएपनि आवश्यक बजेट नहुँदा अस्पतालले सेवा दिन सकिरहेको थिएन । चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन भएसँगै अस्पतालले सेवा सञ्चालन गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी अस्पतालले बुधवारबाट सेवा सुरु गरेको प्रदेश प्रहरी अस्पतालका अर्थोपेडिक सर्जन डा. श्यामकृष्ण लौडारीले बताए । उनका अनुसार अन्तरंग सेवा, प्रयोगशाला ल्याब, फार्मेसी, माइनर अपरेसन, जनरल ओपिडी, हाडजोर्नी तथा नशारोग ओपिडी, आँखा रोग ओपिडी सेवा सुरु गरेको छ । अस्पतालबाट बहालवाला प्रहरी कर्मचारी, आश्रित प्रहरी परिवार, भूपू प्रहरी, अमर तथा असक्त प्रहरी परिवारलाई सेवा दिनेछ । त्यसका साथसाथै नियमानुसार सरकारी अस्पतालहरू सरहका न्यूनतम् शुल्कमा आम सर्वसाधारण नागरिकले अस्पतालबाट सेवा लिन पाउनेछन् । प्रदेशका दशवटै जिल्लाका नागरिकले सेवा लिनेगरी सेवाक्षेत्र विस्तार गरिएको हो ।

सेवा दिन भने निकै चुनौती रहेको प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक माधवप्रसाद श्रेष्ठले बताए । भौतिक अवस्था र साधनस्रोत अभावकाबीच सेवा सुरु गरिएको उनको भनाइ छ । ‘अस्पतालका लागि जग्गा उपलब्ध नहुनु, भौतिक संरचनाहरू बनाउन सक्ने र प्राप्त हुनसक्ने स्रोतको सुनिश्चितता नहुनु, स्वास्थ्य उपकरणहरूको अभाव र स्वास्थ्य जनशक्तिको अभाव रहेको छ,’ श्रेष्ठले भने ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले केही महिनाअघि एक्सरे मेसिन, भिडियो एक्सरे, मेसिन ल्याबका उपकरणहरू माइनर अपरेसनका लागि चाहिने स्वास्थ्य उपकरणहरू प्रदेश आपूर्ति केन्द्रमार्फत उपलब्ध गराउन पहल गरेको थियो । अस्पताल सुरुवातीको चरणमा रहेको भन्दै सहज सेवा दिनेगरी लागिपरेको कार्यालय प्रमुख श्रष्ठको भनाइ छ ।

बुधवार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले अस्पतालको उद्घाटन गरेका छन् । तत्कालको आवश्यकता पूरा गर्नेगरी १५ शैड्ढयाको अस्पताल उद्घाटन तथा शुभारम्भ गरिएको हो । अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले नागरिकलाई प्राथमिकतामा राखेर अस्पताल शुभारम्भ गरेकोमा प्रहरी अस्पतालको टिमप्रति आभार व्यक्त गरेका छन् । नेपाल प्रहरी प्रदेश संरचनामा रूपान्तरण हुँदै गरेको तथा प्रदेशभरिका प्रहरी कर्मचारी तथा नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै अस्पतालको स्थापना गरी सेवा सुरु गरिएकोमा उनले खुसी व्यक्त गरेका छन् ।

विपद्को समयमा यस अस्पतालले ठूलो भूमिका राख्ने भन्दै उनले प्रश्न नउठ्नेगरी सेवा दिन अनुरोधसमेत गरे । मुख्यमन्त्री कँडेलले भने, ‘सरकारी अस्पतालमा प्रश्न नै प्रश्न उठ्ने गरेको छ, सेवा दिँदा प्रश्न नउठ्नेगरी दिनुहोला, नागरिकले समेत सहज रूपमा सेवा पाउने कुराले झन जिम्मेवार बनाएको छ ।’

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक माधवप्रसाद श्रेष्ठले प्रदेशमा प्रहरी तथा भूतपूर्व प्रहरीको संख्या ठूलो रहेकाले प्रहरी अस्पताल सञ्चालन गरिएको बताए । उनले नाम प्रहरी अस्पताल भएपनि प्रहरीका अतिरिक्त सर्वसाधारण नागरिकले पनि सेवा पाउने उल्लेख गरे । अस्पतालको शुभारम्भले प्रदेशमा रहेका पूर्वप्रहरी कर्मचारी, अशक्त तथा बहालवाला प्रहरी कर्मचारी र आश्रित परिवारसमेतको स्वास्थ्य सेवामा पहुँच पुग्ने उद्देश्यले प्रदेश प्रहरी अस्पताल सञ्चालनमा ल्याइएको उनको भनाइ छ । कार्यक्रममा प्रदेश अस्पतालसम्बन्धी प्रतिवेदन अर्थोपेडिक सर्जन डा. श्यामकृष्ण लौडारीले प्रस्तुत गरेका थिए । उनले अस्पतालमा तत्कालका लागि प्रयोगशाला, एक्सरे तथा आकस्मिक सेवा उपलब्ध गराउनुका साथै अस्पतालमा ५१ जना जनशक्ति रहने उल्लेख गरेका छन् ।

प्रकाशित मितिः   १ माघ २०८२, बिहीबार ०५:०५