रोकिएन बालविवाह
कर्णाली प्रदेशमा बालविवाह न्यूनीकरण हुन सकेको छैन । अहिले पनि बर्सेनि ठूलो संख्यामा उमेर नपुगेका बालबालिकाहरूको विवाह भइरहेको छ । विगतको जस्तो १२÷१५ वर्षमै विवाह गर्ने दरमा कमी आए पनि २० वर्ष नपुग्दै विवाह गर्ने दर भने अझै उच्च छ । पछिल्लो राष्ट्रिय जनगणनाअनुसार पनि कर्णालीमा १८ वर्षभन्दा कम उमेरमा नै विवाह हुनेको संख्या ३७ दशमलव नौ प्रतिशत रहेको छ । सल्यानमा ४३ दशमलव तीन, रूकुमपश्चिममा ४२ दशमलव तीन, जाजरकोटमा ४० दशमलव आठ, सुर्खेतमा ३८ दशमलव सात, मुगुमा ३५ दशमलव नौ, डोल्पामा ३२ दशमलव एक, हुम्लामा ३३ दशमलव सात, जुम्लामा ३४ दशमलव सात, दैलेखमा ३५ दशमलव दुई, कालीकोटमा २८ दशमलव एक प्रतिशत बालविवाह हुने गरेको पाइएको छ ।
केही समयअघि गरिएको केन्द्रीय तथ्यांक विभाग नेपाल बहु–सूचकांक कलस्टर सर्वेक्षणअनुसार कर्णालीमा उमेर नपुगी विवाह गर्नेको तथ्यांक डरलाग्दो छ । सर्वेक्षण अनुसार १५ वर्ष मूनिका बालबालिकाको विवाह गर्ने संख्या नेपालभर पाँच दशमलव दुई प्रतिशत रहेको छ । जबकी कर्णालीमा उक्त संख्या आठ दशमलव चार प्रतिशत रहेको छ । नेपालभर १८ वर्षमूनि विवाह गर्ने बालबालिकाको संख्या २२ दशमलव सात प्रतिशत रहेको छ भने कर्णालीमा ३४ दशमलव ६ प्रतिशत रहेको छ । नेपालभर १५ वर्षमूनि विवाह गर्ने बालिकाको संख्या सात दशमलव नौ प्रतिशत रहेकोमा कर्णालीमा १५ वर्ष मूनिका १२ प्रतिशत बालिकाले बालविवाह गरेको पाइएको छ । यस्तै, नेपालभर १८ वर्षमूनिका ३२ दशमलव आठ प्रतिशत बालिकाले बालविवाह गरेका छन् भने कर्णालीमा ४४ दशमलव तीन प्रतिशत बालिकाले बालविवाह गरेको तथ्यांकले देखाएको छ । गरिएको सर्वेक्षण अनुसार १५ देखि १९ वर्षको बालविवाहको तथ्यांकमा नेपालभर १२ दशमलव आठ प्रतिशतले बालविवाह गरेका छन् भने कर्णालीमा २० दशमलव आठ प्रतिशतले बालविवाह गरेका छन् । सोही उमेर समूहका नेपालभर १९ दशमलव तीन प्रतिशत बालिकाले बालविवाह गर्दा कर्णालीमा २७ दशमलव चार प्रतिशतले बालविवाह गरेको पाइएको छ । यसले पनि कर्णालीमा बालविवाहको अवस्था कहालीलाग्दो रहेको देखाउँछ ।
त्यसो त बालविवाह न्यूनीकरणका लागि कर्णालीमा विभिन्न कार्यक्रम तथा अभियान सञ्चालन गरिए पनि बालविवाहको दरमा उल्लेख्य सुधार हुन भने सकेको छैन । कर्णाली प्रदेश सरकारले बालविवाह रोक्न रणनीतिक योजना स्वीकृत गरेको छ । प्रदेश बालविवाह अन्त्य सम्बन्धी रणनीति–२०८२ तयार पारिएको हो । रणनीतिक योजना अनुरूप यो वर्षका कार्यक्रममा समेटेर विभिन्न कार्यक्रम कार्यान्वयन गरिने भएको छ । यो वर्ष बालविवाह न्यूनिकरणसम्बन्धी सचेतनाका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । टोलदेखि पालिकासम्म सचेतनाका कार्यक्रम राखिएको छ ।
प्रकाशित मितिः २५ पुष २०८२, शुक्रबार ०५:०३
सम्पादकीय ।