तीन स्वास्थ्य संस्थालाई तीन करोड

सुर्खेत: कर्णाली प्रदेश सरकारले तीनवटा स्वास्थ्य संस्थाका लागि एक÷एक करोड बजेटको अख्तियारी दिएको छ । प्रादेशिक अस्पताल नभएका संघीय निर्वाचन क्षेत्रमा रहेका एक–एक स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहमा बजेट अख्तियारी प्रदान गर्ने निर्णय गरिएको हो ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार सुर्खेतको सालकोट अस्पतालको लागि पञ्चपुरी नगरपालिकालाईलाई एक करोड दिइनेछ । त्यसैगरी दुल्लु अस्पतालको लागि दुल्लू नगरपालिकालाई र कालिका खेतु प्राथमिक स्वास्थ्य चौकीका लागि हिमा गाउँपालिकालाई पनि एक÷एक करोड बजेटको व्यवस्था गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको बैठकले इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेखको अधुरो भवन निर्माणको लागि ६० लाख सम्बन्धित इलाका प्रहरी कार्यालयमा अख्तियारी प्रदान गर्न नेपाल सरकार, गृह मन्त्रालय र अर्थ मन्त्रालयको स्वीकृति माग गर्ने निर्णय गरेको छ । प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना, प्रादेशिक आयोजना व्यवस्थापन इकाई सुर्खेत र ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई, सुर्खेतको अस्थायी दरबन्दी संरचना स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मितिः   २५ पुष २०८२, शुक्रबार ०५:०४