कर्मचारीतन्त्रसँग असन्तुष्ट मुख्यमन्त्री कँडेल

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्मचारीतन्त्रप्रति असन्तुष्टि व्यक्त गरेका छन् । परम्परागत कर्मचारीतन्त्र र झन्झटिलो कानुनी संरचनाका कारण जनअपेक्षाअनुसारको गतिमा विकास निर्माणका काम अघि बढ्न नसकेको गुनासो उनको छ ।

राष्ट्रिय सतर्कता केन्द्रद्वारा बिहीवार वीरेन्द्रनगरमा आयोजित भ्रष्टाचारविरुद्ध प्राविधिक परीक्षण अन्तरनिकाय समन्वय गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्मचारी प्रशासन, कानुनी जटिलता र कार्यशैलीकै कारण विकासमा ढिलासुस्ती हुने गरेको उल्लेख गरे । उनले कर्मचारीहरू दबाब, प्रभाव वा प्रलोभनमा परेर निर्णय गर्ने प्रवृत्तिबाट मुक्त हुनुपर्ने बताए । ‘सुधारको काममा तपाईंहरू अघि बढ्नुभयो भने मेरो पूर्ण सहयोग रहनेछ’ कँडेलले भने । कानुनले ‘गर्नु हुँदैन’ भन्ने व्यवस्था गरे पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन नहुने गरेको भन्दै मुख्यमन्त्रीले थपे, ‘देखाउनलाई हामी प्रमुख हौँ, व्यवहारमा भने हामी अनुरोध गर्ने ठाउँमा रहेछौँ ।’

ढिलासुस्ती गैरजिम्मेवारी र काम नगर्ने प्रवृत्ति पनि भ्रष्टाचारकै रूप भएको उनको भनाई थियो । समयमै काम नगर्ने, समयमा कार्यालय नआउने, जिम्मेवारी पूरा नगर्ने अवस्थाबारे प्रश्न गर्दै मुखयमन्त्री कँडेलले भने, ‘यस्ता विषयहरूलाई पनि भ्रष्टाचारको दायराभित्र ल्याउनुपर्छ ।’ सबै क्षेत्रका मानिसलाई एउटै दृष्टिले हेर्न नहुने उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले तर्साएर मात्रै भ्रष्टाचार नियन्त्रण हुन नसक्ने धारणा व्यक्त गरे ।

 

प्रकाशित मितिः   २५ पुष २०८२, शुक्रबार ०५:०१