दुई पदमा चार उम्मेदवार

सुर्खेत: माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीबाट चार जनाले उम्मेदवारी दर्ता गरेका छन् । बुधवार सुर्खेतमा रहेको प्रदेश निर्वाचन कार्यालयमा पुगेर दुई पदका लागि नेपाली कांग्रेस र नेकपा(एमाले) का एक–एक तथा नेपाली कम्युनिस्ट पार्टीबाट दुई जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

कर्णालीबाट राष्ट्रिय सभाका दुई सदस्य पदमा हुन लागेको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट बुद्धिप्रसाद शर्मा र अन्जु महतरा (शाही) ले उम्मेदवारी दर्ता गराएका छन् । ‎शर्मा अन्य कलस्टर र महतरा महिला कलस्टरका उम्मेदवार बनेका हुन् । ‎उनीहरूले वीरेन्द्रनगरस्थित निर्वाचन आयोगमा पुगेर उम्मेदवारी दर्ता गराए । बुद्धिप्रसाद शर्मा साविक माओवादीतर्फका हुन् भने अन्जु समाजवादीतर्फकी हुन् । शर्माले रुकुम पश्चिमबाट प्रतिनिधित्व गरेका छन् । अन्जुले डोल्पाबाट प्रतिनिधित्व गरेकी छन् ।

त्यसैगरी नेपाली कांग्रेसबाट ललितजंग शाहीको उम्मेदवारी दर्ता भएको छ । उनी कांग्रेस–एमाले गठबन्धनबाट अन्य कलस्टरतर्फको उम्मेदवार बनेका छन् । २०७९ मा प्रदेशसभामा प्रत्यक्षतर्फको चुनाव लडेर पराजित भएका शाही कांग्रेस कर्णाली प्रदेश सभापतिसमेत हुन् ।

राष्ट्रिय सभा निर्वाचनअन्तर्गत कर्णालीमा नेकपा एमालेले महिला कलस्टर पाएको छ । उक्त कलस्टरबाट एमालेकी नेतृ मिनासिंह रखालले उम्मेदवारी दर्ता गराएकी छिन् । दैलेख निवासी रखाल २०७४ मा समानुपातिकतर्फ कर्णाली प्रदेशसभा सदस्य हुन् । उनी एमालेको केन्द्रीय सदस्य हुन् ।

प्रकाशित मितिः   २४ पुष २०८२, बिहीबार १०:१०