बालविवाहका कारण हिंसाको जोखिम

सुर्खेत: कर्णालीमा बालविवाह नै महिला हिंसाको प्रमुख कारक रहेको पाइएको छ । अधिकांश हिंसाका घटना बालविवाहका कारण भएको पाइएको हो । विगतको जस्तो १२/१५ वर्षमै विवाह गर्ने दरमा कमी आए पनि २० वर्ष नपुग्दै विवाह गर्ने दर भने अझै उच्च छ ।
बालविवाहविरुद्धको अभियानमा सक्रिय माया सापकोटाका अनुसार पछिल्लो समय बालविवाहमध्ये ९२ प्रतिशत आफै भागेर हुने गरेको पाइन्छ । बालविवाहविरुद्धको साझा अभियान (क्याक्मा) सुर्खेतकी उपाध्यक्ष सापकोटाले बालविवाहलाई समाजले अपराधका रूपमा नलिएर परम्परा र चलनको रूपमा स्वीकार गरेकाले पनि न्यूनीकरणमा निकै चुनौती रहेको बताइन् ।
अभियानले पछिल्लो तीन वर्षको अवधिमा एक सय २० जना बालविवाहकै कारण हिंसामा परेका महिलाको उद्धार गरेको छ । आवश्यक कानुनी तथा आर्थिक सहयोग गरेर उनीहरूलाई सहयोग गरिएको क्याक्माका निकिता कठायतले बताइन् । कर्णालीका ३२ पालिकामा क्याक्माले काम गरिरहेको छ । महिला हिंसा र बालबालिकामाथिका अपराध गम्भीरतापूर्वक लिएर पीडितलाई न्याय दिलाउन सहयोग गर्ने गरिएको उनको भनाइ छ ।
चेतनाको अभाव र गरिबीजस्ता समस्याले कर्णालीमा बालविवाह न्यूनीरकण हुन नसकेको महिला अधिकारकर्मी ममता नगाल बताउँछिन् । बालविवाहको अवस्था अहिले पनि विकराल रहेको भन्दै उनले स्थानीय सरकारले बढी जिम्मेवारपूर्वक काम गर्नुपर्ने जनाइन् ।
त्यसो त बालविवाह न्यूनीकरणका लागि कर्णालीमा विभिन्न कार्यक्रम तथा अभियान सञ्चालन गरिए पनि बालविवाहको दरमा उल्लेख्य सुधार हुन भने सकेको छैन । केही समयअघि गरिएको केन्द्रीय तथ्यांक विभाग नेपाल बहु–सूचकाङ्क कलस्टर सर्वेक्षणअनुसार कर्णालीमा उमेर नपुगी विवाह गर्नेको तथ्यांक डरलाग्दो छ । सर्वेक्षण अनुसार १५ वर्ष मूनिका बालबालिकाको विवाह गर्ने संख्या नेपालभर पाँच दशमलव दुई प्रतिशत रहेको छ । जबकी कर्णालीमा उक्त संख्या आठ दशमलव चार प्रतिशत रहेको छ । नेपालभर १८ वर्षमूनि विवाह गर्ने बालबालिकाको संख्या २२ दशमलव सात प्रतिशत रहेको छ भने कर्णालीमा ३४ दशमलव ६ प्रतिशत रहेको छ ।
नेपालभर १५ वर्षमूनि विवाह गर्ने बालिकाको संख्या सात दशमलव नौ प्रतिशत रहेकोमा कर्णालीमा १५ वर्ष मूनिका १२ प्रतिशत बालिकाले बालविवाह गरेको पाइएको छ । यस्तै, नेपालभर १८ वर्षमूनिका ३२ दशमलव आठ प्रतिशत बालिकाले बालविवाह गरेका छन् भने कर्णालीमा ४४ दशमलव तीन प्रतिशत बालिकाले बालविवाह गरेको तथ्यांकले देखाएको छ । गरिएको सर्वेक्षणअनुसार १५ देखि १९ वर्षको बालविवाहको तथ्यांकमा नेपालभर १२ दशमलव आठ प्रतिशतले बालविवाह गरेका छन् भने कर्णालीमा २० दशमलव आठ प्रतिशतले बालविवाह गरेका छन् । सोही उमेर समूहका नेपालभर १९ दशमलव तीन प्रतिशत बालिकाले बालविवाह गर्दा कर्णालीमा २७ दशमलव चार प्रतिशतले बालविवाह गरेको पाइएको छ । बालकको संख्या नेपालभर पाँच दशमलव तीन प्रतिशत रहेको छ भने कर्णालीमा १२ दशमलव एक प्रतिशत रहेको छ । यसले पनि कर्णालीमा बालविवाहको अवस्था कहालीलाग्दो रहेको देखाउँछ ।
पछिल्लो राष्ट्रिय जनगणनाअनुसार पनि कर्णालीमा १८ वर्षभन्दा कम उमेरमा नै विवाह हुनेको संख्या ३७ दशमलव नौ प्रतिशत रहेको छ । सल्यानमा ४३ दशमलव तीन, रूकुमपश्चिममा ४२ दशमलव तीन, जाजरकोटमा ४० दशमलव आठ, सुर्खेतमा ३८ दशमलव सात, मुगुमा ३५ दशमलव नौ, डोल्पामा ३२ दशमलव एक, हुम्लामा ३३ दशमलव सात, जुम्लामा ३४ दशमलव सात, दैलेखमा ३५ दशमलव दुई, कालीकोटमा २८ दशमलव एक प्रतिशत बालविवाह हुने गरेको पाइएको छ ।
कर्णाली प्रदेश सरकारले बालविवाह रोक्न रणनीतिक योजना स्वीकृत गरेको छ । प्रदेश बालविवाह अन्त्यसम्बन्धी रणनीति–२०८२ तयार पारिएको हो । रणनीतिक योजना अनुरूप यो वर्षका कार्यक्रममा समेटेर विभिन्न कार्यक्रम कार्यान्वयन गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो वर्ष बालविवाह न्यूनिकरणसम्बन्धी सचेतनाका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । टोलदेखि पालिकासम्म सचेतनाका कार्यक्रम राखिएको छ । ‘किशोरी तथा अभिभावक रूपान्तरण कार्यक्रम’ कार्यान्वयन गर्न लागिएको मन्त्रालयका सामाजिक महाशाखा प्रमुख सुवर्ण खड्काले बताए । उनका अनुसार युनिसेफ र सामाजिक विकास मन्त्रालयको समन्वयमा कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । त्यसका लागि ६३ करोड बजेट विनियोजन गरिएको छ ।
प्रकाशित मितिः २४ पुष २०८२, बिहीबार १०:०९
साझा बिसौनी ।