सुर्खेतको प्रजातान्त्रिक आन्दोलनमा गोविन्द मल्लको योगदान

सुर्खेतको प्रजातान्त्रिक आन्दोलनमा संघर्षशील छबि बनाएका पुरानो पुस्ताका नेता गोविन्द मल्लको यहीँ असोज २३ गते ७८ वर्षको उमेरमा असामयिक निधन भयो । उहाँका बारेमा अनेकौं सकारात्मक स्मृतिहरू छन् मसँग । वास्तवमा उहाँसँग मेरो पहिलो परिचय २०४३÷०४४ सालतिरबाट एउटा राजनीतिक कोठे छलफलका क्रममा सुरु भएको थियो ।

चालिसको दशकमा पञ्चायत विरोधी विभिन्न जनआन्दोलनमा सहयात्री भएर हामीले निकै जोखिमपूर्ण अभियानहरूको नेतृत्व साथै मिलेर ग¥यौँ । ती दिनहरूमा उहाँले निर्वाह गरेको भूमिका, उहाँको प्रतिवद्वता र लगानी सुर्खेतको प्रजातान्त्रिक आन्दोलनमा अविस्मरणीय छ । पञ्चायती व्यवस्थाको अन्तपछि बनेको पहिलो जिल्ला विकास समितिको सभापतिसमेत भइसक्नु भएका मल्ल निष्पक्ष र पारदर्शी छबि भएका उदाहरणीय व्यक्तित्व हुनुहुन्थ्यो । अतः उहाँको निधन लोकतन्त्रमा विश्वास राख्ने हामी सबैका लागि दुःखद् र पीडादायी बनेको छ । म उहाँप्रति हार्दिक श्रद्धाञ्जलीसहित सम्पूर्ण शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

जतिबेला पञ्चायती व्यवस्था गोमन सर्पलेझैँ फणा उठाएर नेपाली जनताको शिरमाथि डसिरहेको थियो, ठीक त्यही समयमा हामी पञ्चायत विरोधी विद्यार्थी आन्दोलनमा होमिदै थियौँ र देशमा पञ्चायत विरोधी जनमत तीव्र गतिमा विकसित भइरहेको थियो । पञ्चायतको स्थानीय तहको निर्वाचनको सन्निकटमा तत्कालीन प्रतिबन्धित नेपाली कांग्रेस र प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (माले) ले जनपक्षीय उमेदवारका रूपमा निर्वाचनमा भाग लिने निर्णय गरे । अन्य कतिपय वामपन्थी दलहरू (नेकपा मसाल र तत्कालीन नेकपा मशाल हालको माओवादी केन्द्रलगायत) ले पञ्चायतकालका विभिन्न निर्वाचनको बहिस्कार गर्ने नीति लिएका थिए ।

म यतिबेलासम्म कुनै खास पार्टी विशेषको सदस्यका रूपमा संलग्न भइसकेको थिइनँ, तर पञ्चायत विरोधी जुझारु वामपन्थी विद्यार्थी नेताको रूपमा उदीयमान भइरहेको थिएँ । यसैबीच २०४४ को फागुन÷चैतको महिना हुनुपर्छ म र निर्मल पन्तलगायत वीरेन्द्रनगर–८ स्थित नेपाली कांग्रेसका श्रद्वेय नेता दुर्गाकेशर खनालको घरमा पुग्यौँ । त्यहाँ हामीलाई भेटघाटका लागि बोलाइएको थियो । त्यो भेट मेरा लागि जीवनभरको राजनीतिक पाठशाला बन्यो र मैले त्यहीँ नेपाली कांग्रेसका नेता पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालासँग भेट्ने अवसर पाएँ ।

त्यहाँ सुर्खेत जिल्लास्थित विभिन्न तहका कांग्रेसी नेताहरूको जमघट थियो । ‘स्थानीय निर्वाचन आइरहेको छ, हामीले निर्वाचनलाई उपयोग गर्ने निर्णय ग¥यौँ, भाइहरूले सहयोग गर्नुप¥यो’ भनेर सुशील कोइरालाले आफ्नो पार्टीको नीतिगत धारणा सबै समक्ष सबिस्तारमा प्रस्तुत गर्नुभयो । छलफल अगाडि बढ्दै गयो, त्यहाँ गोविन्द मल्ल, पूर्णबहादुर खड्का, दुर्गाकेशर खनाल, शम्भु कोइराला, प्रेमदेव गिरी, कालीप्रसाद शाक्य, शिवराज जोशी, भीमप्रसाद सापकोटा, शेरबहादुर बस्नेतलगायतको उपस्थिति थियो । विद्यार्थी नेताका रूपमा निर्मल पन्त र म थियौँ । छलफलकै क्रममा वीरेन्द्रनगर नगर पञ्चायतको प्रधानपञ्चका लागि उमेदवारको खोजी सुरु भयो । सुरुमै सुशील कोइरालाले गोविन्द मल्लको नाम लिएपछि उहाँकै उम्मेदवारी उचित हुने भनेर एक घण्टाजति उहाँकै नाममा छलफल केन्द्रीत भयो तर उहाँले मान्नु भएन ।

उहाँले नमान्नुको विशेष कारण थियो । उहाँका सहोदर दाजु रामबहादुर मल्ल त्यतिबेलासम्म वीरेन्द्रनगर नगर पञ्चायतको प्रधानपञ्चमा वहाल हुनुहुन्थ्यो र उहाँको उम्मेदवारी पर्ने निश्चितप्रायः थियो । फलस्वरूप घर–परिवारमै विरोध हुने र दाजुभाइबीच मन मुटाव आउने कारणले गर्दा उहाँले आफ्नो उम्मेदवारीलाई अस्वीकार गर्नु भयो । उहाँको अस्वीकृतिपश्चात तकिनाको आँड लगाएर खाटमा पल्टिएका युवा नेता पूर्णबहादुर खड्काको नाममा नयाँ बहस–छलफल सुरु भयो । पूर्णबहादुर खड्काको नाम आउनासाथ उहाँ खाटबाट सिधा खडा हुनु भयो र गोविन्द मल्लकै शैलीमा आफ्नो उम्मेदवारीको उहाँले पनि विरोध गर्नुभयो । यो विरोध वास्तवमा औपचारिकतामा नै केही बेर सीमित रह्यो र अन्ततः पूर्णबहादुर खड्का नगर पञ्चायतको प्रधानपञ्च तथा शम्भु कोइराला उपप्रधानपञ्चको उम्मेदवारमा सर्वसम्मतरूपमा टुँगो लाग्दै थियो । ठीक त्यहीबेला घटनाक्रमले नयाँ मोड लियो ।

गोविन्द मल्ल

 

तत्कालीन पञ्चायती व्यवस्थाका पिल्लर, पञ्चायत विरोधीहरूका लागि काल नै भने पनि फरक नपर्ने नेता तुलसीप्रसाद शर्माको नाटकीयरूपमा बैठक कक्षमा प्रवेश भयो । उनलाई त्यस्तो अर्धभूमिगत शैलीको भेटघाट कार्यक्रममा कसले बोलायो ? किन बोलायो ? मलाई अहिलेसम्म पनि त्यो दिनको परिघटनाको झल्झली याद आइरहन्छ र अन्यमनस्क भावमा आफैप्रति अनुत्तरित हुन्छु । विद्यार्थी आन्दोलनमा चर्चा कमाइसकेको एवम् पटकपटक प्रहरीको हिरासतमा कष्टकर यातना भोगिसकेकाले मेरा लागि शर्मासँगको त्यो असान्दर्भिक भेटले कञ्चेरी तातिने अवस्था सिर्जना गर्‍यो । त्यो भेटलाई मैले पुनः यातना शिविरतर्फको यात्राको प्रवेशद्वारका रूपमा मनमनै लिएँ तर पनि बोल्न सकिनँ ।

बैठक कक्षमा तुलसीप्रसाद शर्माको आगमन हाम्रा लागि अशुभ संकेत भइसकेको थियो तथापि उनको उपस्थिति खासगरी सुशील कोइरालालाई भेट्ने अभिलाषातर्फ लक्षित रहेछ भन्ने अनुमान लगायौँ । दुवैकाबीच केहीबेर नोकझोक भयो । सुशील कोइरालाले शर्मालाई विगतको याद दिलाउने कोशिस मात्रै गरेनन्, वर्तमानमा कांग्रेसमाथि पञ्चायतले गरेका ज्यादती र थुनछेकको पनि विरोध गर्दै स्पष्ट शब्दमा भने; ‘तपाईंलाई लाज लाग्दैन ? हाम्रा साथीहरूलाई थुनछेक गर्ने र यातना दिने काम गरिरहनु भएको छ । वामपन्थीहरू बढिरहेका छन् तर तपाईं भने हामीमाथि झुट्टा मुद्दा लगाएर दुःख दिइरहनु भएको छ । यहीँ हो तरिका ?’

कोइरालाको यो अभिव्यक्ति मेरा लागि अत्यन्तै भयानक त्रासदीमय अनुभूति बन्न पुग्यो । शर्माले जवाफमा यत्ति मात्रै भने, ‘म सहयोग गर्छु, पूर्ण भाइलाई सहयोग गर्छु । यी भाइहरू छन् नि (हामीतिर देखाउँदै) म सहयोग गर्छु ।’ उनले यत्ति वाक्यांश पूरा गरेर दश मिनेटको छोटो भेटघाटपश्चात् तत्कालै हिँडे । तर मेरो मनमा कांग्रेसप्रति पलाउन सुरु गरेको भावनाको मुना भाँचियो र म त्यो घटनापछि कहिल्यै पनि कांग्रेसप्रति आकर्षित भइनँ । शर्माको बहिर्गमनपश्चात् छलफलमा फेरि शर्माकै विषयले प्रवेश पायो । यतिबेला मसँगसँगै गोविन्द दाजुको पनि कञ्चेरी तातेको रहेछ, तत्कालै उहाँको प्रतिक्रिया आइहाल्यो, ‘यो बड्डोलाई कसले बोलायो ?’ आपसआपसमा मुखामुख भयो ।

खै कताबाट आयो ? कता गयो ? क्षणभरमा हामीलाई आँधी आएको जस्तो भाव सम्प्रेषण गरेर शर्मा निस्केपछि मेरो मनमनै कुरा उब्जियो, कांग्रेसीहरू यस्तो खुङ्खार पञ्चसँग पनि नडराइकन नोकझोक गर्छन्, मानौँ घनिष्ट साथी होलाझैँ गाली गर्छन्, हपार्छन् कसरी सम्भव भयो यस्तो ? म धेरै द्विविधामा परें । त्यहाँ उपस्थित अरु धेरैलाई मेरोजस्तै अनुभूति भएको थियो या थिएन यसै भन्न सक्दिनँ तर यत्ति हो कि शर्माको उपस्थितिले हामीलाई डर, त्रास र खल्लो गराउने काम भने अवश्य भयो ।

शर्मा त गए तर मेरो मनबाट शर्माको डर गएन । त्यो दिन बित्यो, निर्वाचन नजिकै आयो । ठाउँठाउँमा पूर्णबहादुर खड्कालाई जिताउनका लागि रातिराति पर्चा छर्ने र पोष्टर टाँस्ने काममा लाग्यौँ । गणेश रेग्मीमार्फत हामीलाई निर्वाचन सामग्रीहरू आउथे । निर्मल पन्त र म एक्लैले रातभर पोष्टिङ गर्दै घरका चम्किला भित्ताहरूमा गिलास चिन्ह अंकित पोष्टर टाँस्थ्यौँ । यदाकदा मानिसहरूले भनेको कान थापेर सुन्थें यो सब कसले गरिरहेको छ ? कोको छन् यसमा ? आदिआदि । यही बीचमा ठाउँ–ठाउँमा प्रहरी धरपकट र सभा–समारोह बिथोल्ने काम भइरहन्थ्यो । सार्वजनिक स्थलमा सभा गर्न रोक लगाएपछि कतिपयका घरको आँगनमा पनि ससानो भेला गरेर निर्वाचन प्रचारप्रसारको गतिविधि अगाडि बढाउने गरिएका थिए । जनतामा पञ्चायती व्यवस्थाप्रति व्यापक विरोध र आक्रोस फैलिरहेको थियो । गोविन्द दाजु यस्तो कठिनाइमा पनि बेलाबेलामा हामीलाई सुझाव, सल्लाह र मनोत्साह दिनु हुन्थ्यो ।

पञ्चायतको नजरमा यतिबेलासम्म म पक्कापक्की पञ्चायत विरोधी एवम् खतरनाक वामपन्थीको सूचीमा परिसकेको थिएँ तर त्यतिबेलासम्म पनि वास्तवमा म ढुलमुले स्वभावको नै थिएँ । मेरो पुरै रुझान वामपन्थी, क्रान्तिकारी र विद्रोही प्रकारको थियो तर मैले कांग्रेसीहरूलाई बोकेर निर्वाचनमा खटिएको थिएँ । यसमा एउटा कुराले मुख्यतः काम गरेको थियो, त्यो के भने वामपन्थी उमेदवारका रूपमा घनश्याम कोइरालाको प्रधानपञ्चमा उमेदवारी थियो तर माहोल बन्न नपाउँदै पूर्णबहादुर खड्काको प्रचार अभियानले ओझेलमा पारिदिएको थियो र म पञ्चायत इतरलाई जसरी पनि जिताउनुपर्छ भन्ने दृढ अठोटमा थिएँ, फलस्वरूप यसका लागि जसरी पनि कांग्रेसी साथीहरूलाई साथ दिनुपर्ने अवस्था थियो । अन्ततः मैले जे गरें ठीक गरें भन्ने लागेको छ ।

निर्वाचनको पहिलो दिन मतदान सम्पन्न भयो । साँझसम्म सबै मतपेटिका निर्वाचन कार्यालयमा पुगिसकेका थिए । हामीहरू निर्वाचन कार्यालयको चौरमा (हालको नेपाल दुरसञ्चार कार्यालय सुर्खेत) बसिरहेका थियौँ । अत्यन्त डर–त्रासको वातावरण मडराइरहेकै बेला एक हुल मण्डलेहरू राति लगभग दस बजेतिर पेट्रोमेक्सको चहकिलो प्रकाशसहित तथानाम गाली गर्दै रक्सीको मातमा हामीलाई लक्षित गरेर ‘विदेशी दलाल, उग्रवादी तत्व, अराष्ट्रिय तत्व, सिध्याउनु पर्छ’ भन्दै चौरमा ताण्डव नृत्य देखाउँदै नजिकै आइपुगे । हामीसँग लड्नका लागि विचारबाहेक केही पनि थिएन तर उनीहरूसँग तत्कालीन सत्ता, प्रहरी प्रशासन सबै थियो । त्यतिबेला गोविन्द दाजुले त्यस घटनाको मध्यस्थता गरेर नछुट्याएको भए म, निर्मल पन्त, हरिदास श्रेष्ठ, कुलबहादुर बी.सी., विष्णु खड्कालगायतले नराम्ररी कुटाइ खान्थ्यौँ र प्रहरी खोरमा जाक्किन्थ्यौं । यस सन्दर्भमा उहाँ धेरै नै परिपक्व हुनुहुन्थ्यो र हामीलाई धेरै नै सम्झाउनु हुन्थ्यो ।

त्यो घटनामा संलग्न सबै मण्डलेहरू अहिले कांग्रेसमा छन् भन्नुपर्दा लाज लागेर आउँछ । त्यसदिन दुःख दिनेहरूमा स्वयम् प्रधानपञ्चका तत्कालीन उमेदवार धर्मराज पुरी, पञ्चायतका हस्ती डिपी समदर्शी (हाल उहाँको निधन भइसकेको छ), धर्मराज गिरी, निरक केसी, प्रेम क्षेत्री (उहाँको निधन भइसकेको छ), राम श्रेष्ठलगायत एक दर्जन थिए । हामीले कुनै प्रतिक्रिया नदिइकनै चुपचापसँग रिसलाई दबाएर बस्यौँ । गोविन्द दाजुको यिनीहरूसँग आफ्नै प्रकारको बेग्लै सम्बन्धले झगडा शान्त बनाउनमा ठूलो भूमिका खेलेको थियो ।

खासमा के भने जबजब राजा वीरेन्द्रको जन्मोत्सव आउथ्यो, प्रत्येक साल पुस १४ गतेदेखि झन्डै दुई हप्तासम्म कुइनेपानीको चौरमा रमाइलो मेला नामको जुवामेला सञ्चालन हुन्थ्यो, त्यसमा गोविन्द दाजुले हाउजीको गोटी छानेर हातमा परेको गोटीको घोषणा गर्नुहुन्थ्यो । यसरी सुन्दर र आकर्षक शैलीमा गोटीको नम्बर माइकबाट टाढाटाढासम्म सुनिने गरी गोविन्द दाजुले भट्टयाउनु हुन्थ्यो । त्यो सबै मेलाको आयोजक वा प्रायोजकमध्ये यिनै व्यक्तिहरू सम्मिलित हुन्थे त्यसकारण गोविन्द दाजुलाई मण्डलेहरूले केही गर्ने आँट गर्थेनन् । त्यसरी उहाँले एउटा बेग्लै पहिचान बनाउनु भएको थियो ।

स्थानीय निर्वाचनको पहिलो चरणमा नगर पञ्चायत र गाउँ पञ्चायतको मत परिणाम धमाधम आउन थाल्यो । वीरेन्द्रनगर नगर पञ्चायतमा पूर्णबहादुर खड्काको जित भयो । यसपटकको निर्वाचन सफलताले कांग्रेसलाई दोस्रो चरणमा पनि जित हात पार्न सकिन्छ भन्ने आत्मविश्वास बढेर गयो र गोविन्द दाजु जिल्ला पञ्चायत सभापतिमा उम्मेदवार बन्नु भयो तर यसमा उहाँलाई जित हासिल भएन । यसपछि कांग्रेससँग मेरो सम्बन्ध पूर्णरूपमा विच्छेद भयो र म नेकपा (मसाल) संवद्व अनेरास्ववियु (छैठौं) मा आवद्ध भएँ ।

गोविन्द दाजुसँग बीचबीचमा केही न केही सन्दर्भमा अवश्य भेट भइरहन्थ्यो । २०४५ साल मंसिरको अन्तिम सातातिर अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाउने कार्यक्रम थियो । श्री जन माध्यमिक विद्यालय वीरेन्द्रनगर बजारको प्राङ्गणमा मानवअधिकार दिवस मनाउन हामी सबै जना भेला भएका थियौँ । बालाराम शर्मा, मदन भट्ट, कृष्णबहादुर रेग्मी, घनश्याम कोइराला, श्यामकृष्ण अधिकारी, गोविन्द मल्ल, देवेन्द्र बी.सी.लगायत वरिष्ठतम् मानवअधिकारवादीहरूसँगसँगै म पनि उपस्थित भएको थिएँ । कार्यक्रम सुरु नहुँदै ‘सर मुडाते ही ओले पडे’ भनेझैं प्रहरीको लठ्ठी वर्षियो र हामी सबैको भागाभाग भयो । बालाराम शर्मा, कृष्णबहादुर रेग्मी, घनश्याम कोइराला, गोविन्द मल्ल, श्यामकृष्ण अधिकारी, देवेन्द्र बी.सी.आदिलाई सोधपुछका लागि भनेर कार्यक्रम स्थलबाटै प्रहरीले लिएर गयो तर म भने जसोतसो प्रहरीको आँखा छलेर घर आएँ । घरमा आए पनि सूचना त पुगिसकेको रहेछ, भोलिपल्ट बिहानै प्रहरीले घरबाटै उठाएर लग्यो । झन्डै एक हप्ताको सोधपुछ र थुनछेकपछि बालाराम शर्मालाई जेल चलान ग¥यो र बाँकी हामी सबैलाई छाड्यो । यस्ता विभिन्न उतारचढाव हामी सबैले पञ्चायतकालमा भोग्यौँ ।

मेरो काम भनेको साथीहरूसँग या त पञ्चायत विरोधी छलफल गर्नु, राति–राति शहर–बजारमा बाल पेन्टिङ गर्नु, कम्युनिष्ट साहित्य पढ्नु या त घरेलु काममा दलिनु हुन्थ्यो । बाँकी फुर्सद भनेको शून्य बराबर भने पनि हुन्छ । बीचबीचमा म विद्यार्थी आन्दोलन संगठित गर्न लेखगाउँ, सिरूपाटा ( रूपलाल आचार्यको घरसम्म), चौरासे (देवराम ढकालको घरमा) वरपरका गाउँबस्तीसम्म पुगेर फर्किन्थें । बेलाबखत भारतका शहरसम्म प्रशिक्षण लिन जान्थ्यौैँ । रत्नविक्रम प्यासी अखिल (छैठौं) का जल्दाबल्दा नेता थिए म उनकै निर्देशनमा चल्न थालिसकेको थिएँ । अब म नेपालभित्र काठमाडौं, बुटवल, पोखरा, गोरखा, नेपालगञ्ज, बर्दिया, धनगढीलगायत भारतका गोरखपुर, पलिया, गौरिफण्टा, नानपारा, महेन्द्रनगर वनबासा नजिकैको बजार आदि ठाउँमा जान थालेँ । नेकपा (मसाल) का महामन्त्री क.मोहनविक्रम सिंहसँग मेरो पहिलो भेट गोरखपुरमा भयो र उहाँले विद्यार्थीलाई एकहप्तासम्म प्रशिक्षण दिनु भयो, तत्पश्चात् म पूर्णरूपले कम्युनिष्ट हुनुमा नै गर्व गर्न थालेंं ।

दिन बित्न केही बेर लाग्दो रहेनछ । २०४६ साल नजिकै आयो, अब केही परिवर्तनको संकेत देखापर्न थालेको महशुस भयो । नेपाली कम्युनिष्टहरू अनेकौं चिरामा विभाजन भएका थिए । नेपाली कांग्रेस भने विपिकै आदर्श पछ्याउँदै एउटा मूल लक्ष्यमा एकताबद्व थियो । सायद मलाई लाग्छ २०४६ सालको भदौमा नेकपा (माले) को चौथो महाधिवेशन हुन्छ र उनीहरू कांग्रेससँग मिलेर संयुक्त जनआन्दोलन गर्ने निर्णयमा पुग्छन् । त्यसबेलासम्म हामी कांग्रेससँग भन्दा वामपन्थीहरूको अलग्गै मोर्चा निर्माण गरेर अगाडि जानुपर्छ भन्ने पक्षमा थियौँ । अन्ततः नेपाली कांग्रेस र वाममोर्चा (सात वटा सानाठूला वामपन्थी दल मिलेर बनेको मोर्चा) ले संयुक्तरूपमा जनआन्दोलन गर्ने निर्णयमा पुगें, हामी भने न यता न उता भइरहेका थियौँ । पार्टीले कुनै ठोस निर्णय पठाएको पनि थिएन तापनि नेकपा (मसाल) का जुझारु नेता, श्रद्वेय दाजु केदार कँडेल र मेरा बीचमा छलफल भयो र हामी पार्टीको निर्देशन आए पनि नआए पनि नेपाली कांग्रेस र वाममोर्चाको संयुक्त जनआन्दोलनमा जाने निर्णयमा पुग्यौँ ।

बालाराम शर्मा केही दिन अगाडि मात्रै लामो कारागार जीवनबाट थुनामुक्त हुनुभएको थियो । केदार दाजुले बालाराम शर्मा र गोविन्द मल्लसँग भेटेर आवश्यक गृहकार्यमा जुट्न मलाई जिम्मेवारी दिनुभयो र म बालाराम शर्मालाई भेट्न गएँ । शर्मा सर अति गोप्य ढंगबाट घरमै लुकिरहनु भएको थियो र यो जानकारी पश्चात् उहाँको घरमा मेरा मित्र भूपति अधिकारी र म शर्मा सरलाई भेट्न गयौँ । को कतिबेला जासुस बन्ने, कसले कसलाई विश्वास गर्ने समस्या सुरु भएको थियो । त्यतिबेला नेकपा (माले) लगायत केही वामपन्थी दलका नेता–कार्यकर्ताहरूले पञ्चायती व्यवस्थाका अगाडि आत्मसमर्पण गरेका थिए र उनीहरू सिआइडी बनिसकेका थिए । स्थानीय तबरमा सुर्खेत युवा क्लब नामको मण्डलेहरूको पल्टन खडा गरेर पञ्चायती व्यवस्थाका भाटहरूले हामीलाई दिनु दुःख दिएका थिए । यसरी आत्मसमर्पण गर्नेमध्येकै झुण्डले रातदिन हाम्रा विरुद्ध जासुसी जेहाद छेडिरहेको थियो । लुक्दै–छिप्दै नेताहरूलाई भेट्ने र आन्दोलनका विभिन्न कार्यक्रम र योजनाहरू तय गर्नुपर्ने थियो । २०४६ सालको माघमा नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा पूर्णबहादुर खड्का, दुर्गाकेशर खनाल र शेरबहादुर बस्नेत गिरफ्तार हुनु भयो । यसैबीच अब बालाराम शर्मा, गोविन्द मल्ल, मदन भट्ट पक्राउ पर्ने दिनगन्ती सुरु भइसकेको थियो ।

 

लगभग तीन–चार हप्ताको अन्तरमा हामी सबै एउटै परिवारका सदस्यका रूपमा प्रहरी हिरासतमा थुनियौँ, जेलमा पनि साथै बस्यौं र जनआन्दोलनको सफलताको साथसाथै हामी सबै छुटेर आआफ्ना पार्टी निर्माणमा लाग्यौं तर जीवनभर पूर्वाग्रही नभएरै मैत्रीपूर्ण राजनीतिक यात्रामा अगाडि बढ्यौं ।

 

यहीँ बीचमा हामीले भेटघाटलाई व्यवस्थित बनाउनु र लुकेर भए पनि छिटपुट कार्यक्रमहरू अगाडि बढाउनुपर्ने अवस्था थियो । बालाराम शर्मासँगको लामो छलफललगत्तै भोलिपल्ट म गोविन्द दाजुलाई भेट्न गएँ । सामान्य काठको नारे स्टाईलको रातो माटोले लिपपोत गरेको घर, सामुन्ने नजिकै गोठमा विपिले भनेझैँ एउटा दुहुनो गाई किलामा बाँधिएको थियो र उहाँकी धर्मपत्नीले गाई दुहुदै हुनुहुन्थ्यो, म टप्लक्क पुगें । गोविन्द दाजु आँगननेर कुर्सीमा बसेर रेडियोमा ट्युनिङ मिलाइरहनु भएको थियो, हाम्रो भेट भयो ।

सामान्य नमस्कारको शिष्टाचारपश्चात् उहाँले मलाई भित्र जाऊ भन्नुभयो र काठको सानो लिस्नो (भ¥याङ) उक्लेर हामी घरको माथिल्लो तलामा बस्यौं । उहाँसँग पनि यिनै विषयमा छलफल भयो र राजनीतिक आन्दोलनमा कसरी जाने भन्ने सल्लाह भयो । धेरै नेताहरू धमाधम गिरफ्तार भइरहेकाले जतिबेला जे पनि हुनसक्छ सजग भएर काम गर्ने सल्लाह भयो । यति कुरा २०४६ फागुनको २÷३ गते भएको मलाई अहिलेसम्म पनि स्मृतिमा ताजै छ ।

त्यसको ३÷४ दिनलगत्तै अर्थात फागुन ६ गते बिहानै मलाई घरबाटै प्रहरीले गिरफ्तार ग¥यो । यसपटक पनि उहाँ अछुतो रहनु भएन । लगभग तीन–चार हप्ताको अन्तरमा हामी सबै एउटै परिवारका सदस्यका रूपमा प्रहरी हिरासतमा थुनियौँ, जेलमा पनि साथै बस्यौँ र जनआन्दोलनको सफलताको साथसाथै हामी सबै छुटेर आआफ्ना पार्टी निर्माणमा लाग्यौं तर जीवनभर पूर्वाग्रही नभएरै मैत्रीपूर्ण राजनीतिक यात्रामा अगाडि बढ्यौँ ।

मसँग उहाँका यस्ता अनेकौं सुन्दर गुणहरूको गहिरो प्रभाव छ भन्दा अत्युक्ति नहोला । साधारण लवाइखवाई, मृदुभाषी, सहृदयी तथा प्रजातन्त्रप्रति सदैव निष्ठावान उहाँको जन्मजात गुण थियो । सबैलाई माया र सहयोग गर्ने स्वभाव भएकाले उहाँप्रति कोही कहिल्यै विरोधी भएनन् भन्ने मेरो स्पष्ट बुझाइ छ । हामी जनयुद्धमा हिँड्दा पनि बारम्बार भेटघाटमा उहाँका असहमतिका विषयहरूसहित गम्भीरतापूर्वक सुझाव–सल्लाह लिने काम भइरहन्थ्यो ।

२०५५ सालको अन्तिमतिर एकदिन जिल्ला प्रशासन कार्यालय सुर्खेतमा मानवअधिकारकर्मीको तर्फबाट हामीले प्रमुख जिल्ला अधिकारी समक्ष हत्या–आतंकको विरोध गर्दै राज्यले नागरिकको जिउने हक–अधिकारसम्बन्धी विषयमा ध्यानाकर्षण गराउनुपर्ने भयो । २०५५ वैशाखमा सुर्खेतको लेखफर्सास्थित माथिल्लो भेक (जसलाई ठाँटी भनिन्छ) मा तीनजना माओवादी कार्यकर्ताहरू गणेशप्रसाद शर्मा (सुर्खेत), डिला थापा(रोल्पा) र अन्य एकजना (नाम बिर्सिएँ) लाई प्रहरीको किलो शेरा टु अप्रेसनअन्तरगत पक्राउ गरेर रातभरि राखेर भोलिपल्ट हत्या गरिएको थियो, त्यसै विषयलाई लिएर हामीहरू भानुभक्त भारतीको संयोजकत्वमा हत्याको छानबिन समिति बनाएका थियौँ र प्रमुख जिल्ला अधिकारीलाई घटनाको प्रारम्भिक प्रतिवेदनसहित आफ्ना धारणाहरू राख्ने गरी भेटघाटमा थियौँ । भेटमा भानुभक्त भारती, विष्णु खनाल, पीताम्बर ढकाल, शान्ति ढकाल, देवेन्द्र बी.सी., लीलाधर गौतम, मदन भट्ट, मलगायत दर्जनजति मानवअधिकारकर्मीले हत्याको कारण, यसको क्षतिपूर्ति, नागरिकहरूको जिउ–ज्यानको सुरक्षासम्बन्धी विषयमा प्रमुख जिल्ला अधिकारीसमक्ष छानबिन समितिकोतर्फबाट ध्यानाकर्षण गरायौँ । अर्जुनजंग शाही जो त्यतिबेला सुर्खेतका एसपी थिए र उनले गरेको ज्यादती तथा हत्या–आतंकले त्रासदी निम्त्याएको सन्दर्भमा छलफल भयो । त्यो छलफलमा गोविन्द दाजु पनि हुनुहुन्थ्यो तर आफ्नो अलग्गै काम विशेषले प्रमुख जिल्ला अधिकारीसँगै हुनुहुन्थ्यो, उहाँले हत्याको विरोध गर्नुभयो र यसप्रति जनतामा फैलिएको त्रासदीलाई नजरअन्दाज नगर्न अर्जुनजंग शाहीलाई पनि सचेत गराउनु भयो । त्यो दिन उहाँ आफ्नै काम विशेषले त्यहाँ पुगे पनि हाम्रालागि फलदायी भेट भयो । लामो छलफलमा प्रमुख जिल्ला अधिकारीले आफ्नो बचाउमा दलिलहरू पेस गरे, हामीले पनि आफ्नो अनुसन्धानको प्रारम्भिक रिपोर्ट सुनायौँ । एकघण्टा जति अर्जुनजंग शाही तथा प्रमुख जिल्ला अधिकारीसँग हाम्रो निकै नोकझोक भयो तर नेपाली कांग्रेस सत्तासिन हुँदाहुँदै पनि गोविन्द दाजुले निष्पक्ष भावले आफ्नो अभिव्यक्ति सुनाउनुभयो, यसले हामीलाई धेरै मद्दत पुग्यो । यो उहाँको विरोधी शक्तिका विचारहरूलाई पनि सम्मान गर्ने चरित्रको अनुकरणीय पक्ष थियो ।

नेपाली जनता २०४६ सालको जनआन्दोलनका धेरै उपलब्धिलाई बचाउँदै, यसलाई अझै सुव्यवस्थित एवम् परिशोधन गर्दै अगाडि बढिरहेका छन् । यसमध्ये मौलिक हक, वाक स्वतन्त्रता, राजनीतिक स्वतन्त्रताको सर्वाेत्तम प्राप्तिका लागि हामीभन्दा अघिल्लो पुस्ताले धेरै लडाइँ लडेको तथ्य कसैले लुकाएर लुक्दैन । पञ्चायतकालमा जेलनेल, निर्वासन र हत्याकाण्डमा अनेकौं सपुतहरूले ज्यानको आहुति नदिएको भए अहिलेसम्म पनि हामी शाहवंशीय राजतन्त्रको अन्धकारमय युगमै गोलचक्कर मारिरहेका हुने थियौँ । २०५२ सालपछि नेपालमा युगान्तकारी जनयुद्धको आँधी बेहरी उठ्यो र सम्पूर्ण उत्पीडित वर्ग समुदायले जनयुद्धमा भाग लियो । अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको जुन राजनीतिक कोर्ष चलिरहेको छ, यसमा अझै पनि व्यापक परिवर्तन आवश्यक भइसकेको छ भन्ने कुरा गतवर्ष मात्रै गोविन्द दाजुले काठमाडौंमा मलाई सुनाउँदै हुनुहुन्थ्यो । उहाँमा परिवर्तनकारी चिन्तन असाध्यै राम्रोसँग विकसित हुँदाहुँदै पनि शारीरिक अशक्तताले गल्दै जानू भयो र यसै साता निधन हुनु भयो । उहाँ निष्पक्ष भावमा जनताका काम गर्नुहुन्थ्यो र कहिल्यै पनि मेरो र तेरो पार्टी भनेर छुट्टाउनु हुन्थेन ।

उहाँ जिल्ला विकास समितिको सभापति भएको बेला कतिपय कार्यक्रम लिएर म आफै पनि सहयोग माग गर्न पुगेका बखत सहृदयी भावले सहयोग दिनुहुन्थ्यो र अनेकौं रमाइला सुझावहरू पनि दिनुहुन्थ्यो । घर व्यवस्थापन कसरी भइरहेको छ, जीवन कसरी चलिरहेको छ, के कति आम्दानी छ जस्ता नितान्त व्यक्तिगत विषयमा पनि मेरो कुरा हुन्थ्यो उहाँसँग । यसरी नेपाली कांग्रेस सुर्खेतका थुप्रै पुराना नेताहरूसँग मेरो राजनीतिक सल्लाह–सुझाव आदानप्रदान भइरहन्छ र गोविन्द दाजु त्यसमध्ये अग्रणी नै हुनुहुन्थ्यो तर अब सदाका लागि उहाँका सुझाव, सल्लाहलाई सम्झिनु, अगाडि बढ्नु र समाज रूपान्तरण अभियानमा जोडिनु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । उहाँको विचार, सिद्धान्त र राजनीतिक निष्ठाप्रति कसैले प्रश्न उठाउने ठाउँ छैन, आफैमा उहाँको छवि प्रजातान्त्रिक चरित्रको बलियो प्रमाणका रूपमा स्थापित छ । अन्तमा सुर्खेती प्रजातान्त्रिक आन्दोलनका निष्ठावान व्यक्तित्व दाजु गोविन्द मल्लप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दछु ।

–बलभद्र भारती

प्रकाशित मितिः   २९ आश्विन २०८२, बुधबार ०५:०४