सिकलसेलको संक्रमण भयावह

सुर्खेतका बिरामीलाई उपचारमा कठिनाइ

सुर्खेत: थारु समुदायमा सिकलसेल एनिमिया रोग भयवह बन्दै गएको छ । विशेष गरी तराई मूलका थारु समुदायमा यो रोग देखिएको छ । सुर्खेतको वीरेन्द्रनगरका थारु समुदाय पनि सिकलसेल रोगबाट पीडित भइरहेका छन् । उनीहरूले पीडा मात्रै भोगिरहेका छैनन्, असहज जीवनयापन गर्न बाध्य बनिरहेका छन् ।

यो कुनै आपसी हेलमेलबाट सर्ने रोग नभइ वंशाणुगत रोग भएपनि शारिरिक पीडासँगै उनीहरूले समाजबाट समेत अपहेलना खेप्नु परेको छ । ‘समाजका मान्छेहरूले अपहेलना गर्छन्, उनीहरू खुलेर हामीसँग घुलमिल हुँदैनन्’ प्रेमबहादुर चौधरी भन्छन्, ‘यो परिवारका मान्छेहरू सिकलसेल बिरामी हुन् भनेर हेलमेल गर्नै चाहान्नन् ।’

राष्ट्रिय जनगणना २०७८ अनुसार वीरेन्द्रनगरमा थारु समुदायको सात हजार बढी जनसंख्या रहेको छ । उनीहरूकै समुदायमा देखा परिरहेको सिकलसेल परीक्षण भने ठूलो मात्रामा अहिलेसम्म हुन सकिरहेको छैन । सिकलसेल सामुदायिक अनुसन्धान केन्द्र सुर्खेत जिल्ला संयोजक डिलबहादुर चौधरीका अनुसार दुईवर्ष अघि वीरेन्द्रनगरका सात सय ३५ जनाको परीक्षण गराइएको थियो । उक्त परिक्षणमा ७० जना सिकलसेल पोजेटिभ देखिएका थिए । त्यसअघि एक हजार तीन सय जनामा गरिएको परिक्षणबाट तीन सय १३ जनामा सिकलसेल पोजेटिभ देखिएको थियो । हाल वीरेन्द्रनगरमा ४१ जनाले नियमित औषधि खाइरहेका छन् । सिकलसेलका कारण शारीरिक बनावटमा तन्दुरुस्त देखिएपनि अशक्त रूपमा बाचिरहेको चौधरीको भनाइ छ । उनले भने, ‘शारीरिक रूपमा हेर्दा आफू तन्दुरुस्त देखिएपनि काम गर्नका लागि सशक्त छैन, सजिलैसँग टाढासम्म हिँड्न सक्दैन, ठूलो भारी उठाउन तथा जोरले काम गर्न सक्दैन ।’

भौतिक काममात्रै होइन मानसिक रूपमा पनि अरु सामान्य मानिसको जस्तो शसक्त काम गर्न नसकिरहेको बिरामी संगीता चौधरीले बताइन् । ‘ठूलो भारी उठाउन अथवा जोरले काम गर्न सक्दैन, परिवारका अरु मान्छे गर्नुहुन्छ, म घर वरिपरिको सामान्य काम मात्रै गर्न सक्छु’ उनले भनिन्, ‘कतिबेला बिरामी परिन्छ थाहै हुँदैन, अचानक बिरामी हुँदा निकै कठिन हुन्छ ।’

संगीताजस्तै रामकृष्ण चौधरी पनि अशक्त छन् । उनी पनि घरबाट टाढा जान डराउँछन् । ‘म धेरै टाढासम्म जादैन, हिँड्डूलमा पनि अझ बढी समस्या छ, सिकलसेलकै कारण हड्डीमा असर छ’ रामकृष्णले भने ।

नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको शरीर रचना विभागका डा. सुरेन्द्र चौधरीले बिरामीको रगतमा सिकलसेलको मात्रा ६० प्रतिशतभन्दा बढी पुगेपछि रोगले समातेको मानिने गरेको बताए । दीर्घ रक्तअल्पता हुने, ज्वरो आइरहने, छाती दुख्ने, जन्डीस हुने, फियो बढ्ने, हाडजोर्नी दुख्नेजस्ता यो रोगका मुख्य लक्षणहरू रहेको उनको भनाइ छ । सिकलसेलका बिरामीको शरीरमा हुने हँसिया आकारको रक्तकोषले रक्त सञ्चार प्रवाहमा असर पार्ने उनले जनाए । शरीरको विभिन्न भागहरूमा राम्रोसँग रगत प्रवाह हुन नसक्दा शरीरको भित्री अंगमा अक्सिजनको मात्रा कम हुने उनको भनाइ छ । ‘हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ धेरै दुख्ने गर्छ, धेरै पीडा हुन्छ, साथै जण्डिस पनि देखा पर्छ, पेट दुख्छ, पित्त थैलीको पत्थरी, कलेजो सुन्निने, फियो सुन्निने जटिलता उत्पन्न हुन्छ, यसले आँखामा समेत असर पार्छ’ डां.चौधरीले भने ।

 

नियमित उपचारमा कठिन

सुर्खेतका सिकलसेल बिरामीलाई उपचारमा कठिनाइ भएको छ । सुर्खेतमा त्यसको उपचार गर्ने अस्पताल छैन । नेपालगञ्जस्थित भेरी अस्पतालमा पुग्नुपर्छ । रोग पत्ता लागिसकेपछि उनीहरूले जीवनपर्यन्त औषधी सेवन गर्नुपर्ने हुन्छ । औषधी पनि महँगो छ । महिनामा एक पटक अनिवार्य स्वास्थ्य परिक्षण गर्नुपरेको बिमला चौधरीले बताइन् । नेपालगञ्ज उपचार गर्न जाने समेत निकै कठिनाइ हुने गरेको जनाइन् । समय धेरै लाग्ने र आर्थिक अभावका कारण सेवा लिन समस्या भइरहेको उनको भनाइ छ ।

नेपाल सरकारले सिकलसेल बिरामीका लागि एक लाख रूपैयाँसम्म उपचार निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ । कर्णाली प्रदेश सरकारले पनि सिकलसेल बिरामीलाई उपचारमा सहुलियत दिएको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रतिव्यक्तिलाई एक लाखका दरले सहुलियत उपलब्ध गराउने गरिएको निर्देशनालयका रोग फोकलपर्सन किरण शर्माले बताए ।

प्रकाशित मितिः   २९ आश्विन २०८२, बुधबार ०५:०८