बर्खे अधिवेशन अन्त्य
सुर्खेत: कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ (बर्खे) अधिवेशन अन्त्य भएको छ । बुधवार रातिदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरिएको हो ।
बुधवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्ने प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख यज्ञराज जोशी अधिवेशन अन्त्यको पत्र प्रदेशसभामा पठाएका थिए । बुधवार दिउँसो बसेको छैटौँ अधिवेशनको ३४औँ बैठकमा उक्त पत्र वाचन गर्दै सभामुख नन्दा गुरुङले अधिवेशन अन्त्यको जानकारी गराएकी हुन् ।
यसैबीच बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले मन्त्रालयहरूको कामकारबाही अनुगमन गर्न एक अनुगमन इकाई गठन गर्ने निर्णय गरेको छ । तीन सदस्यीय उक्त समितिले प्रत्येक मन्त्रालयको कामकाज, सूचनाको हक कार्यान्वयनको अवस्था र सूचना अधिकारीको कार्यसम्पादनबारे अनुगमन गर्ने छ ।
उक्त इकाईको संयोजकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासकीय सुधार महाशाखाका सचिव रहनेछन् । यस्तै, सदस्यहरूमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सूचना तथा सञ्चार महाशाखाका उपसचिव र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी रहनेछन् ।
मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव ढोलकराज ढकाललाई सामाजिक विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको छ । उनलाई कामकाजका लागि उक्त मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको हो ।
त्यसैगरी बैठकले जाजरकोटको जुनीचाँदे गाउँपालिकाको केन्द्र तोक्ने विषयमा पनि निर्णय गरेको छ । गाउँ कार्यपालिकाले तोकेको केन्द्रलाई प्रदेश मन्त्रिपरिषद्ले परिवर्तन गरेपछि उक्त विषय सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्च अदालतले गाउँपालिकाकै निर्णयलाई सदर गरेपछि सोही निर्णय कार्यान्वयनका लागि प्रक्रिया अघि बढाउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय प्रदेश मन्त्रिपरिषद्ले गरेको छ ।
बैठकले ‘पत्रकारिता पुरस्कार वितरण कार्यविधि, २०८१’ लाई पनि स्वीकृत गरेको छ । यो कार्यविधि स्वीकृत भएसँगै प्रदेशमा पत्रकारिता क्षेत्रमा पुरस्कार वितरणको प्रक्रिया सहज हुने विश्वास गरिएको छ ।
प्रकाशित मितिः २२ श्रावण २०८२, बिहीबार ११:२३
दिपेश दाहाल ।