उद्योग वाणिज्य संघका सदस्यलाई पाँच लाखको बिमा

सुर्खेत: सुर्खेत उद्योग वाणिज्य संघले आफ्ना साधारण सदस्यहरूको लागि जीवन तथा दुर्घटना बिमा कार्यक्रम लागू गरेको छ । संघको बुधवार बसेको कार्यसमिति बैठकले सदस्यहरूको जीवन तथा दुर्घटनाका लागि पाँच लाख रूपैयाँसम्मको बिमा गर्ने निर्णय गरेको हो ।

चालू आर्थिक वर्षदेखि नै लागू हुने गरी बिमा कार्यक्रम सुरु गरिएको हो । पहिलो चरणमा सबैभन्दा पहिला सदस्यता नविकरण गर्ने एक सय ५० जना सदस्यको जीवन बिमा गरिने संघले जनाएको छ । बुधवार नै सदस्यता नविकरण गरेका नन्दबहादुर शाहीको जीवन बिमा गरेर अभियानको सुरुवात गरिएको हो ।

संघमा आवद्ध हुने सदस्यलाई संरक्षण गर्ने उद्देश्यले बिमा कार्यक्रम लागू गरिएको अध्यक्ष हर्षविक्रम खड्काले जानकारी दिए । ठूलो रकम (प्रिमियम) तिरेर व्यक्तिगत रूपमा बिमा गर्न नसक्ने साना तथा मझौला व्यवसायीहरूलाई लक्षित गरेर संघले नै यो अभियान सञ्चालन गरेको उनको भनाइ छ ।

परीक्षणकालको रूपमा संस्थाले पहिलो वर्ष एक सय ५० जनाको मात्र बिमा गराए पनि अभियानको प्रभाव र सफलताअनुसार आगामी वर्षमा बिमाको दायरा र संख्या पनि बढाउँदै लगिने जनाइएको छ । संघमा आवधिक रूपमा सदस्यता नविकरण गर्ने सदस्यको निधन भएमा विमावापतको पाँच लाख रूपैयाँका साथै पार्थिव शरिर व्यवस्थापन तथा अन्तिम संस्कार खर्चवापत १० हजारदेखि ५० हजारसम्म प्रदान गरिने छ ।

यस्तै कुनै कारणवश घटना–दुर्घटनामा परी शारिरीक अपाङ्गता भएको अवस्थामा पनि स्वास्थ्य अवस्था हेरेर बिमाङ्कको दश प्रतिशतदेखि शतप्रतिशतसम्म रकम पाउने गरी बिमा गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।

प्रकाशित मितिः   २२ श्रावण २०८२, बिहीबार ११:२५