विद्यार्थीलाई सीप
कर्णाली प्रदेश सरकारले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन ‘झोलाविहीन शुक्रवार’ बनाउने नीति लिएको छ । बालबालिकालाई अतिरिक्त क्रियाकलाप तथा जीवन उपयोगी ज्ञान र कलातर्फ आकर्षित हुनेगरी विद्यालयलाई क्रमशः ‘झोलाविहीन शुक्रवार’ बनाउने नीति लिएको हो । पछिल्लो समय विद्यालयमा शुक्रवार विभिन्न अतिरिक्त कार्यक्रमको आयोजना गर्ने गरिएको छ । विद्यार्थीलाई शैक्षिक ज्ञान मात्र नभई सीपमूलक ज्ञानको पनि आवश्यकता रहेकाले विद्यालयमा व्यावहारिक शिक्षा दिन सुरु गरिएको प्रदेश सरकारले जनाएको छ । गत आर्थिक वर्ष २०८१÷०८२ देखि कार्यक्रम सुरु गरिएको हो । कार्यक्रम प्रभावकारी मानिएपछि चालु आर्थिक वर्षमा समेत निरन्तरता दिइएको छ ।
विद्यालयहरूमा हप्तामा एक दिन किताबरहित शिक्षा सञ्चालन गर्नेगरी योजना अघि सारिएको छ । हरेक हप्ताको शुक्रवार जीवन उपयोगी शैक्षिक कार्यक्रमलाई परीक्षणको रूपमा सञ्चालन गर्नेगरी कार्यक्रम सुरु गरिएको हो । गत वर्ष परीक्षणको रूपमा कार्यक्रम सुरु गरिएको थियो । उक्त वर्ष सुर्खेतका चार पालिकाका आठ वटा विद्यालयमा कार्यक्रम कार्यान्वयन गरिएको थियो । पञ्चपुरी, लेकवेशी र भेरीगंगा नगरपालिकाका एक/एक वटा र वीरेन्द्रनगर नगरपालिकाका पाँच वटा विद्यालयमा कार्यक्रम कार्यान्वयन गरिएको थियो । यो वर्षदेखि प्रदेशभर नै कार्यक्रम कार्यान्वयन गर्ने योजना रहेको प्रदेश सरकारले जनाएको छ । बालबालिकाले दैनिक रूपमा प्रयोगमा आउने सामग्रीलाई राम्रोसँग पहिचान गर्नसक्ने र बनाउन पनि सिक्ने हुँदा दुनाटपरी बनाउने, घरमा प्रयोग हुने नाङ्लो बनाउने, घर लिपपोत गर्ने, विद्यालयमा सरसफाइ र प्लम्बिङसम्बन्धी ज्ञान दिने योजना अनुरूप कार्यक्रम कार्यान्वयन हुनेछ । विद्यार्थीलाई व्यावहारिक ज्ञान सिकाउने प्रमुख लक्ष्य कार्यक्रमको छ । विद्यार्थीलाई कृषि तथा सहरी खेती, सौन्दर्यकला र कपाल शैली, काष्ठकला तथा नक्कासी, पाककला, फेसन डिजाइन तथा कपडा निर्माण, तार तथा बिजुली जडान, विपद् पूर्वतयारीका लागि भवन निर्माण, रैथाने कला, मोबाइल तथा विद्युतीय सामग्री, पाइप जडान तथा मर्मत र कला तथा मूर्तिकला लगायतका विषयमा विद्याहरूलाई व्यवहारिक ज्ञान सिकाइनेछ ।
कार्यक्रममा माध्यमिक तहका विद्यार्थीहरू सहभागी हुने छन् । जीवन उपयोगी सिपको आधारमा दिइने शिक्षाले शैक्षिक बेरोजगारी समस्या हट्ने र बालबालिकाको सिर्जनशीलतामा वृद्धि हुने अपेक्षा राखिएको छ । विद्यार्थी किताबी अध्ययनबाट मात्र व्यवहारिक बन्न सक्दैनन् । एक दिन किताब बाहिरका विषयवस्तुका बारेमा जानकारी दिने, विभिन्न परियोजनात्मक काममा लगाउने, उनीहरूलाई विविध प्रतियोगितात्मक कार्यक्रमहरू खेलकुद, कला, सङ्गीत र साहित्य लगायतका अतिरिक्त कार्यकलाप गराउने, विभिन्न स्थानको अवलोकन गराउने जस्ता कार्यक्रमले उनीहरूलाई किताबबाहिरको सीप र ज्ञान हासिल गर्न पनि मद्यत गर्दछ । त्यसैले यो कार्यक्रमलाई प्रदेशभरका सबै विद्यालयमा कार्यान्वयनका लागि ध्यान दिन जरुरी देखिन्छ ।
प्रकाशित मितिः ७ श्रावण २०८२, बुधबार ०५:०३
सम्पादकीय ।