ठगी आरोपमा आठजना पक्राउ

सुर्खेत: रोजगारी दिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । ‎जिल्ला प्रहरी कार्यालय सुर्खेतले स्काई ड्रिम ईन्टरपेनर्स प्रा.लि. र ग्लोबल ओरियन्स नेपाल प्रा.लि.का सञ्चालक तथा कर्मचारी गरी आठ जनालाई पक्राउ गरेको हो ।

‎पक्राउ पर्नेमा स्काई ड्रिम ईन्टरपेनर्स प्र.लि.का सञ्चालक डोटीको सायल गाउँपालिका–२ का २६ वर्षीय नरेश बोहोरा, व्यवस्थापक तथा कर्मचारीहरू दार्चुला महाकाली नगरपालिका–४ का २४ वर्षीय कृष्ण धामी, अछाम कमलबजार नगरपालिका–६ का २४ वर्षीय कमल शाही र २२ वर्षीय रविन्द्र शाही रहेका छन् ।

‎त्यस्तै, प्रहरीले कर्मचारीहरू दोधाराचाँदनी नगरपालिका–२ की २२ वर्षीया मनिषा सिंह, कञ्चनपुर बेल्डाडी गाउँपालिका–१ की २१ वर्षीया निर्मला धामी, बैतडी सिगास गाउँपालिका–६ की २२ वर्षीया सुनिता साउँद र डोटी बडिकेदार गाउँपालिका–४ की २२ वर्षीया कमला चिमालालाई पनि पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका ३, मुलपानी चोकमा कार्यालय स्थापना गरी उक्त गिरोहले विभिन्न जिल्लाका युवायुवतीलाई ठगीको सिकार बनाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।

‎प्रहरीका अनुसार कम्पनीले वार्षिक २० हजार रूपैयाँ तिरेपछि सीप सिकाउने, खाना बस्नको व्यवस्था मिलाउने र आकर्षक तलबसहितको रोजगारी दिने भन्दै प्रलोभन देखाउने गरेको थियो । ‎सदस्य बनेपछि उनीहरूलाई नेटवर्किङ मार्केटिङमा संलग्न गराई नयाँ सदस्य भिœयाउन लगाइन्थ्यो ।‎ पीडितहरूका अनुसार यसरी नयाँ सदस्य बनाएवापत प्रतिव्यक्ति ५० हजारदेखि दुई लाख ६० हजार रूपैयाँसम्म जम्मा गर्न लगाइएको थियो । ‎यसरी स्काई ड्रिम ईन्टरपेनर्स प्रा.लि. र ग्लोबल ओरियन्स नेपाल प्रा.लि. ले पीडितहरूबाट करोडौं रकम ठगी गरेको भन्दै जाहेरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

‎पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको बुढथापाले बताए । ग्लोबल ओरियन्स नेपाल नामक कम्पनी नेटवर्किङ व्यवसायको नाममा देशका अन्य भागमा पनि विवादमा परेको देखिन्छ । ‎यसअघि पोखरा, बर्दिया र टीकापुरलगायतका स्थानमा पनि यस कम्पनीले आकर्षक तलबको लोभ देखाएर युवाहरूलाई ठगी गरेको आरोपमा प्रहरीले कारबाही चलाएको थियो ।

प्रकाशित मितिः   ७ श्रावण २०८२, बुधबार ०५:०१