लगानीमैत्री योजना

कर्णाली प्रदेश सरकारले लगानीमैत्री योजना निर्माण गर्ने भएको छ । लगानीकर्तालाई प्रदेशमा लगानीमा सम्भाव्य क्षेत्रबारे जानकारी प्रदान गरी लगानीमैत्री वातावरण निर्माणका लागि ‘कर्णाली प्रदेश लगानी पोर्टल विकास’ गर्न लागेको छ । प्रदेशमा लगानीयोग्य परियोजना विकास तथा अन्य आवश्यक पूर्वतयारीसहित आगामी आर्थिक वर्षमा लगानी सम्मेलनको योजना बनाएको हो । लगानी सम्मेलन गर्ने विषय भने पहिलोपटक होइन । यसअघि पनि निर्धारित समयमा लगानी सम्मेलन हुननसक्दा पटक–पटक मिति सर्ने गरेको थियो । आगामी आर्थिक वर्षमा लगानीका क्षेत्र परिचान गरेर लगानी सम्मेलन गर्ने योजनामा प्रदेश सरकार रहेको छ ।

सरकारले ‘आयोजना बंैक’ निर्माण गरेर मात्र लगानी सम्मेलन गर्ने भएको छ । बेला–बेला भइरहने सरकार फेरबदल र योजना आयोगले पूर्णता नपाउँदा लगानी सम्मेलन अन्योलमा पर्दै आएको थियो । आगामी आर्थिक वर्षमा भने लगानी सम्मेलनका लागि केही आधार निर्माण गरेर मात्र सम्मेलनको मिति तय गर्ने सरकारले जनाएको छ । आयोजना बंैक निर्माण गर्ने र त्यसै अनुरूप लगानी सम्मेलन गर्नेगरी तयारी भइरहेको जनाइएको छ । अहिले आयोजना बंैकको कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको छ । लगानी सम्मेलनबारे यसअघि भएका काम र आयोजनाको सुनिश्चित गरेर मात्र सम्मेलन गर्ने तयारी भएको हो । यसअघिको योजना आयोगले समेत केही तयारी गरेको थियो । सोहीबमोजिम काम अघि बढाउन लागिएको हो । तयारी पूरा गरेर मात्र सम्मेलनको मिति तय गर्ने गरी योजना आयोग लागिरहेको छ । यसअघि भएका अभ्यास हेर्दा तयारी नहुँदा काम हुन सकेको थिएन । दुई पटक लगानी सम्मेलनको योजना विफल बनेको थियो । त्यतिबेला धेरै कामसमेत अघि बढिसकेको अवस्थामा सरकार फेरबदलले गर्दा सम्मेलन अन्योल बनेको थियो । यस पटक भने सरकारले लहडमा भन्दा पनि तयारी पूरा गरेर मात्र लगानी सम्मेलन गर्ने तयारी गरेको छ ।

कर्णालीमा लगानीमैत्री वातावरण छैन । जसले गर्दा ठूला आयोजना सञ्चालनमा आउन सकेका छ्रैनन् । धेरै आयोजना अध्ययनकै चरणमा छन् । आयोजना निर्माणकै चरणमा प्रवेश गर्न सकेका छैन । प्रदेशको आफ्नै आन्तरिक आम्दानी पनि न्यून छ । संघीयता कार्यान्वयनमा आएको सात वर्ष वित्तिसक्दा पनि सरकारले पूर्वाधार निर्माणमा अपेक्षित उपलब्धी हासिल गर्न सकेको छैन । ठूला आयोजना निर्माणका लागि नीजि क्षेत्रले प्रस्ताव भने नगरेका भने होइनन् तर सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न नसक्दा आफैले निर्माण गरेका योजनामा समेत सरकार विफल बन्दै गएको छ । आगामी आर्थिक वर्षमा भने आयोजना बंैक निर्माण गरेर लगानी सम्मेलन गर्ने योजना बनाएको छ । यसले कर्णालीमा लगानीमैत्री वातावरण निर्माणमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः   ३१ असार २०८२, मंगलवार ०९:५०