१३२ केभी विद्युत विस्तार: सुल्झियो बैजनाथको विवाद

सुर्खेत: कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन विस्तारमा देखिएको विवाद सुल्झिएको छ । जसले गर्दा आयोजना अघि बढाउने बाटो खुलेको छ । लामो समयदेखि विवाद नै विवाद हुँदा आयोजना निर्माणको काम अवरुद्ध हुँदै आएको थियो । जसले गर्दा आयोजना निर्माणमा ढिलाइसमेत भएको छ ।

तीन तहकै सरकारको प्राथमिकतामा विद्युत विस्तार योजना परेसँगै आयोजनाको अवरोध हटेको हो । गृहमन्त्री रमेश लेखकले अवरोध हटाउन बाँके प्रशासनलाई निर्देशनसमेत दिएका थिए । सोही लगत्तै केही दिनअघि सुरक्षा घेराबाट राष्ट्रिय निकुञ्जमा फाउन्डेसन निर्माण गरिएको थियो । अहिले आयोजना निर्माणको काम धमाधम अघि बढेको आयोजना प्रमुख रवि चौधरीले बताए । बैजनाथको विवाद समाधान भएसँगै आयोजना निर्माणको कामले गति लिएको उनको भनाइ छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार बैजनाथ गाउँपालिकाको वडा नं. १ गाभर र वडा नं. ४ को बानियाँभार हुँदै लाइन विस्तार गर्नुपर्नेछ । तर उक्त लाइन विस्तारले बस्ती र खेतीयोग्य जमिनमा असर पुग्ने भन्दै स्थानीयले विरोध जनाउँदै आएका थिए । विवाद समाधान भएसँगै उक्त बस्तीमा तीन वटा टावर निर्माण गरिनेछ भने ३० घरपरिवार प्रभावित हुनेछन् । अबको ६ महिनामा काम सक्नेगरी योजना निर्माण गरिएको छ ।

यस्तै, वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ सुब्बाकुनामा पनि विवाद सुल्झिएको छ । उक्त स्थानका नागरिकले पनि काममा अवरोध गर्दै आएका थिए । आयोजनाबाट उक्त वडाका १८ घरपरिवारको जग्गा प्रभावित हुनेछन् । सरकारले जसरी पनि आयोजनाको काम अघि बढाउने भनेपछि स्थानीय सहमतिका आएका छन् । सरकारले वार्तामार्फत् सहमति नभए बलप्रयोग गरेर आयोजना अघि बढाउने भनेपछि स्थानीय पनि सहमतिमा आएका हुन् । वडा नं. ११ सुब्बाकुनामा भने केही दिनमा काम सुरु गरिने आयोजना प्रमुख चौधरीले बताए । विवाद सुल्झाउन कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल सुर्खेतबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य, संघीय सरकार, जिल्ला प्रशासन बाँके र सुर्खेतले पहल गरेका थिए । लामोसमयदेखि थालिएको पहलले सार्थकता पाएको छ । अब भने आयोजना निर्माणको कामले गति लिनेछ । ६ महिना म्याद थपका लागि फाइल पेस गरिएको छ । म्याद थप गरेर आयोजना निर्माणको काम अघि बढाइने चौधरीले बताए । पछिल्लो पटक थपिएको आयोजना निर्माणको अवधि भने सकिएको छ ।

 

 

९५ प्रतिशत भौतिक प्रगति

लाइन विस्तार कार्यको सुरुवात २०७७ असारदेखि गरिएको थियो । हालसम्म आयोजनाको ९५ प्रतिशत प्रगति हासिल भएको छ । अब मात्र पाँच प्रतिशत काम गर्न बाँकी छ । जग्गा र वनका कारण आयोजनाले तोकिएकै मितिमा कामसमेत गर्न सकेको छैन । अहिले भने विवाद समाधान भएसँगै बाँकी ठाउँमा काम अघि बढाइएको छ । भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रा.लि. ले ७० करोड रूपैयाँमा आयोजनाको ठेक्का पाएको हो । रूख कटानको काम धमाधम भइरहेको छ । अहिलेसम्म करिब पाँच हजार रूख काटिएको छ । करिब पाँच हजार पाँच सयभन्दा बढी रूख काटिनेछ । एक सय ५६ फाउन्डेशन निर्माण गरिएको छ । अब ६ वटा फाउन्डेशन निर्माण गर्नुपर्ने हुन्छ । उक्त क्षेत्रमा विवादित समाधान भएसँगै फाउन्डेशन निर्माणको काम अघि बढाइएको छ । आयोजनाका लागि एक सय ६२ वटा निर्माण गरिनेछ ।

यस्तै, हालसम्म ४० किलोमिटर तार तान्ने काम सकिएको छ । जम्मा ५२ किलोमिटर तार तानिनेछ । सुर्खेतको सुब्बाकुनामा सव–स्टेशन निर्माणको काम अन्तिम सकिएको छ । सुब्बाकुनामा सव–स्टेशन निर्माणको काम सकिएको आयोजना प्रमुख चौधरीले बताए । उनले भने, ‘सुब्बाकुनामा सव–स्टेशन निर्माणको सकियो, अब लाइन चार्ज गर्नका लागि तयारी अवस्थामा छ ।’ चालु आर्थिक वर्षदेखि दैलेखमा पनि सव–स्टेशन निर्माणको थालिएको छ । उक्त क्षेत्रमा पनि काम धमाधम भइरहेको छ ।

 

प्रकाशित मितिः   ३१ असार २०८२, मंगलवार ०९:४९