अपर्याप्त सिँचाइ
असारलाई ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाका रूपमा चिनिन्छ । तर यस वर्ष मध्यअसार लागिसक्दासम्म पनि पर्याप्त रोपाइँ हुन सकेको छैन । कर्णालीका अधिकांश जिल्लामा यसपटक फाटफुट मात्रै रोपाइँ भएको छ । निकै न्यून क्षेत्रमा मात्रै धान रोपिएको छ । पर्याप्त वर्षा नहुँदा प्रदेशभर धान रोपाइँ प्रभावित भएको हो । मनसुन सुरु भएपनि सुर्खेतमा हालसम्म पर्याप्त पानी परेको छैन । केही दिन अघिदेखि हल्का पानी परे पनि रोपाइँका लागि पानी पर्याप्त हुन सकेन । समयमै मल नपाउने समस्या भोग्दै आएका किसानले यसपटक धान पनि प्रतिकूल मौसमका कारण समयमै रोप्न पाएनन् । प्रदेशभरका कृषकले विगतमाभन्दा ढिला रोपाइँ सुरु गरेका छन् । मनसुन भित्रिन ढिलाइ हुँदा रोपाइँमा समेत त्यसको असर परेको हो । मध्यअसार लागिसक्दासम्म कर्णाली प्रदेशमा करिब ४७ प्रतिशत मात्रै रोपाइँ भएको छ ।
अधिकांश जमिनमा सिँचाइ सुविधा छैन । मनसुन पनि ढिला प्रवेश गरेकोले कम रोपाइँ भएको हो । प्रदेशभर यो वर्ष ४७ प्रतिशत रोपाइँ मात्र भएको प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । जुम्लामा ९० प्रतिशत धान रोपाइँ सकिएको छ भने सबैभन्दा कम सुर्खेतमा छ । सुर्खेतमा पाँच प्रतिशत धान रोपाइँ भएको छ । सुर्खेतमा धेरै ठाउँहरू आकाशे पानीमा निर्भर हुन्छन् । जुम्लामा जेठ महिनादेखि नै धान रोपाइँ हुन्छ । जुम्लाका कतिपय ठाउँमा यतिबेला धान गोडमेल भइरहेको छ । नदीको पानी प्रयोग हुने भएकाले अधिकांश ठाउँमा खेत रोपिसकेको छ । यस्तै दैलेखमा ३१, जाजरकोटमा ३२, रूकुमपश्चिममा ३०, सल्यानमा ५२ प्रतिशत जमिनमा रोपाइँ भएको छ । यस्तै हिमाली जिल्लाहरू डोल्पा, हुम्लामा ८०, ८० र मुगुमा ७० प्रतिशत धान रोपाइँ भएको छ । यस्तै कालीकोटमा १५ प्रतिशत खेतमा धान रोपाइँ भएको छ । प्रदेशभर करिब ४१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।
कर्णालीमा कृषियोग्य जमिनको क्षेत्रफल धेरै भएपनि सिँचाइको भने अभाव छ । हालसम्मको तथ्यांकले कूल सिँचित क्षेत्रफल २८ दशमलव आठ प्रतिशत मात्रै देखिएको छ । सुर्खेतमा ४५ दशमलव पाँच प्रतिशत रहेको देखिन्छ । प्रदेशभर ५६ दशमलव आठ प्रतिशतले सिँचाइ सुविधा लिएको तथा सुर्खेतमा ६६ प्रतिशतले सिँचाइ सुविधा लिएका छन् । कृषिमा निर्भर कर्णालीको मुख्यबालीमध्ये एक हो, धान । तर अधिकांश क्षेत्रमा धान रोप्न आकाशे पानीमा निर्भर हुनुपर्ने बाध्यता छ । यसले समयमै रोप्न नपाइने र पर्याप्त उत्पादन नहुने समस्या सिर्जना हुन्छ । त्यसैले धानको उत्पादन वृद्धिका लागि सरकारले सिँचाइको सुविधा विस्तार गर्नु अनिवार्य छ ।
प्रकाशित मितिः १७ असार २०८१, सोमबार ०५:०३
सम्पादकीय ।