अवरोधकैबीच बजेटमाथिको छलफल समापन

सुर्खेत: प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधकैबीच कर्णाली प्रदेशसभामा बजेटमाथिको छलफल सकिएको छ । आइतवार कांग्रेसले अवरोध गर्दागर्दै बजेटमाथिको सामान्य छलफल समापन गरिएको हो ।

बजेटको विषयलाई लिएर कांग्रेसले असार ५ गतेदेखि लगातार संसद् अवरुद्ध गरिरहेको छ । असार ६ गते बैठक सञ्चालन नहुँदै कांग्रेस प्रदेश सभाबाट बाहिरिए यता संसद् चल्न सकेको थिएन । असार १२ गतेदेखि सूचना टाँस गरेर बैठक सर्दै आइतवार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको थियो । तर, सरकार र प्रतिपक्षबिच सहमति नहुँदै ७ बजे मात्रै बैठक सुरु भयो ।

सरकार र प्रतिपक्षबिच सहमति नभइ बैठक सञ्चालन गरेको, प्रतिपक्षका मागको बेवास्ता गर्दै सरकार अघि बढ्न खोजेको भन्दै कांग्रेसले अवरोध ग¥यो । तर, सभामुख नन्दा गुरुङले प्रतिपक्षको अवरोधका बिच अर्थमन्त्री महेन्द्र केसीलाई जवाफ दिन रोस्टममा बोलाइन् ।

त्यसबिचमा कांग्रेसले अर्थमन्त्री केसीलाई रोक्न खोज्यो । तर केसी फुत्किएर रोस्टममा गए । उनले आफूले यसअघि नै बजेटमाथि जवाफ दिइसकेको भन्दै जवाफ सकिएको जानकारी गराए । त्यसपछि सभामुख गुरुङले बजेटमाथिको सामान्य छलफल सकिएको घोषणा गरिन् । उनले सोमवार दिउँसो ३ बजेका लागि प्रदेशसभा बैठक बोलाएकी छिन् ।

कांग्रेस सांसद बेदराज सिंहले सरकारले प्रतिपक्षका माग सम्बोधन नगरेर जबरजस्ती अघि बढ्न खोजेको बताएका छन् । बजेटमाथि उठेका विषयहरूको समाधान नहुँदै जबरजस्ती तरिकाले सदन चलाएको उनले आरोप लगाए ।

प्रकाशित मितिः   १८ असार २०८१, सोमबार ०५:०१