योजना छनोट विधि

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि ‘आयोजना बैंक’ निर्माण गरेर कार्यक्रम छनोट तथा बजेट विनियोजन गर्ने भएको छ । प्रदेश सरकार स्थापना भएदेखि आयोजना बैंक निर्माणको बहस चलिरहे पनि कार्यान्वयनमा भने आउन सकेको छैन । अब भने ऐन निर्माण गरेर कार्यक्रम छनोट गरिने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेटमा समेत आयोजना बंैक स्थापना गर्ने उल्लेख छ । योजना छनौट प्रणालीलाई व्यवस्थित गर्न आयोजना बैंक प्रभावकारी हुने अपेक्षा गरिएको छ । आयोजना छनोट तथा बजेट विनियोजनलाई वस्तुपरक बनाउन र आयोजनाको दोहोरोपना हटाउन ‘आयोजना बंैक’ स्थापना गर्न लागिएको हो । जसअनुसार दिगो विकास लक्ष्य हासिल गर्न मद्दत पु¥याउने, उत्पादन र उत्पादकत्व बढाउने आयोजनामा बजेट केन्द्रित गर्नेगरी बंैक स्थापना गरेर कार्यक्रम छनोट गरिने छ ।

बजेट कार्यान्वयनलाई व्यवस्थित गर्न आयोजना बैंक निर्माण गर्न र सोहीअनुसार बजेट परिचालन गर्नुपर्ने हुन्छ । त्यसका लागि योजना तर्जुमा सम्बन्धी कानुन निर्माण गरेर कार्यान्वयन गरिने छ । कर्णालीमा आयोजना बैंकको अपरिहार्यतालाई प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको समीक्षाले समेत देखाएको छ । नीति तथा योजना आयोग मार्फत आयोजना बैंक सञ्चालनमा ल्याउनु पर्ने सुझाव प्रदेश योजना आयोगले सरकारलाई विभिन्न समयमा दिने गरेको छ । लगानीयोग्य योजना छनोट गर्न, पहुँचका आधारमा औचित्यहीन योजनामा समेत बजेट विनियोजन हुने प्रवृत्ति अन्त्य गर्न आयोजना बैंक निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । सोहीअनुसार प्रदेश सरकारका मन्त्रालयहरूले प्रदेश नीति तथा योजना आयोग मातहत रहेर कार्यक्रम सञ्चालन गर्नेछन् । प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन परम्परागत प्रणालीको नहुने जनाएका छन् । आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीमार्फत् सार्वजनिक गर्न, बजेट तर्जुमा गर्दा प्राप्त सिलिङभित्र प्राथमिकताका आधारमा बजेट प्रस्ताव गरिने जनाइएको छ । प्रदेश नीति तथा योजना आयोगले छनोट गरी निर्धारण गरेको प्राथमिकता क्रमका योजनाहरूबाट प्रदेश गौरवको योजनाहरू, ठूला र बृहत् प्रकृतिका योजनाहरू बजेट दिएर कार्यान्वयनमा जाने सरकारको तयारी रहेको देखिन्छ ।

सरकारका योजना छनोट व्यवस्थित हुन सकेका छैनन् । योजना छनोटदेखि बजेट विनियोजनसम्ममा पहुँच र प्रभाव देखिने गरेको छ । यसले समन्यायिक तथा समानुपातिक विकास अवधारणालाई अजरअन्दाज गर्दछ । जसका कारण विकासको वितरणमा पनि विभेद देखिन्छ । त्यसैले कुनै पनि योजना र कार्यक्रम छनोट तथा बजेट विनियोजनका लागि विविधत संरचना र प्रक्रिया बनाइनु अपरिहार्य देखिन्छ । योजना बैंक स्थापनाले सकारात्मक भूमिका निर्वाह गर्न सक्दछ ।

प्रकाशित मितिः   ११ असार २०८१, मंगलवार ०५:०३