कुडा कर्णालीका

हाम्मो काली, हाम्मै कर्नाली

कर्णाली उत्सवको पाँचौं संस्करणको दोस्रो दिन हाम्मो काली, हाम्मै कर्णाली सत्रको आयोजना गरिएको थियो । उक्त सत्रमा काली–कर्णाली सेरोफेरोका लोक संस्कृतिलाई छलफलको मुख्य विषयवस्तु बनाइएको थियो । छलफलमा संस्कृतिविद यज्ञराज उपाध्याय र कलाकार डिक्रा बादी सहभागी हुनुभएको थियो भने पत्रकार कृष्ण मल्लले सत्रको सहजीकरण गर्नुभएको थियो।


 

कर्णाली भौगोलिक रूपमा विकट छ । आर्थिक रूपमा विपन्न छ । तर लोक साहित्य र लोक संस्कृतिमा कर्णाली अत्यन्त उर्वर भूमि हो । काली कर्णालीमा जति पनि हाम्रा लोक साहित्य र संस्कृतिका विधाहरू छन् ति अनुपम छन् । समुन्द्रजस्तै विशाल छन् ।

काली कर्णाली क्षेत्रलाई नारी र महर्षिद्वारा सेवित पवित्र भूमि भनिएको छ । यो ऋषिमुनीको तपोभूमि हो । नेपाली भाषाको उद्गमस्थल पनि हो ।

नेपाली भाषाको उद्गम क्षेत्र जुम्ला जिल्लाको सिंजा क्षेत्रलाई मानिएको छ । तत्कालीन खस राजाहरूले नेपाली भाषालाई राजकीय भाषाको मान्यता दिएपछि यसले फैलिने अवसर प्राप्त गरेको हो । अहिलेको नेपाली भाषा त्यसैको परिष्कृत रूप हो ।

पृथ्वीनारायण शाहको दिव्योपदेश खस भाषामै बोलिएको र लेखिएको हो । आदिकवि भानुभक्त आचार्यले नेपालीकृत गरेको रामायणमा खस भाषाकै प्रयोग भएको छ । अतः काली कर्णाली क्षेत्र नेपाली भाषाको जननीस्थल हो । सभ्यता र संस्कृतिको अनुपम भण्डार हो । १३औँ शताब्दीदेखिको यहाँको लोक साहित्यले यहाँको इतिहासलाई दर्शाएको छ । यहाँको प्रशासनिक क्षेत्रको महिमालाई उजागर गरेको छ ।

महाकालीदेखि कर्णाली नदीसम्मको समग्र भू–भागलाई हामी सांस्कृतिक रूपमा काली कर्णाली क्षेत्र भन्ने गर्दछौँ । नेपालको यो मात्र यति ठूलो भूगोल भएको क्षेत्र हो जहाँ भाषा साहित्य संस्कृति रहनसहन चालचलन भेषभुषा र खानपिनमा समानता छ । यद्यपि, सामान्य क्षेत्रगत फरकपना भने स्वाभाविक नै हो ।

जुम्लामा गाइने नउलिया र देउडा बझाङ अछाम दार्चुला र बैतडीमा पनि गाइन्छ । गीतमा हुने वर्णनमा केही फरकपना हुन सक्छ । कतै प्रकृति त कतै सामाजिक जनजीवनको वर्णन भएको होला कुनैमा मठमन्दिर त कुनैमा जीवन भोगाईको वर्णन होला । जे भएपनि तिनको स्वरूप र लयमा कुनै भिन्नता छैन ।

हामीले गाउने धेरैजसो गीत संगीतको उत्पत्ति पशुपन्छीको आवाजबाट व्युत्पति भएको मान्न सकिन्छ । महर्षि मण्डुक्यले संगीतका सात सुरहरू सारेगमपधनि को विकासबारे व्याख्या गरेका छन् । आइन्स्टाइन र चाल्र्स डार्विनले पनि यस्तै मान्यता अघि सारेका छन् । हाम्रोमा गाइने नेउल्या गीत नेउली चरीको सुमधुर स्वरबाटै विकास भएको भन्ने लोक मान्यता छ । यस्तै चाचरको स्वरबाट चाचरी बनेको हो । र झैकरीको स्वरबाट झ्याउरे बनेको हो ।

नेउल्या खेल नै काली कर्णाली क्षेत्रको चर्चित जीवनशैली हो । यसमा १४ अक्षरको एउटा पंक्ति हुन्छ र दुई पंक्तिमा गीत पूरा हुन्छ । नेउल्या खेल्दा हामीले हाम्रा खुट्टाका पैतेला एक र आधा अर्थात् डेढ पटक चाल्छौं । डेढ कदम अगाडी र डेढ कदम पछाडी गरेर खुट्टा चलाउने भएकाले यसलाई डेउडा भनिएको हो । प्राचीन शब्द भने नेउल्या नै हो । डेउडा भन्ने शब्द धेरै पछि आएको हो ।

जनकविकेशरी धर्मराज थापाले २०१४ सालतिर काली कर्णाली क्षेत्रको भ्रमण गरेपछि डेढीमा खेलिने खेल भएकाले नेउलीलाई डेउडा भन्न प्रस्ताव गर्नुभएको थियो । त्यसपछि रेडियो नेपाललेनै डेउडा भनेपछि सबैले त्यसलाई पछ्याएको हो । अब यही जनजिब्रोमा झुन्डिन थाल्यो ।

यस्तै देउडा देवताबाट आएको शब्द हो । यसको प्रत्येक अक्षरको अर्थ लगाउँदा ‘देउडा’मा ‘दे’ भनेको देवता ‘उ’ भनेको उपासना र ‘डा’ भनेको डाकनु हो । अर्थात् हाम्रा विशेष चाडहरूमा देवीदेवताहरूको उपासना गरेर उनीहरूलाई आमन्त्रण गर्ने विधि देउडा हो ।

उदाहरणका लागि कृष्णचरित्रमा आधारित भइ हामीले कृष्ण जन्माष्टमीमा भारी र धमारी खेल खेल्छौँ । त्यसमा देवताहरूको वर्णन र स्तुतिगान हुन्छ । यस्तै होरीमा गाइने गीत पनि देउडा हुन् । होरीमा देउडा भन्ने व्यक्तिलाई खलिफा भनिन्छ । खली भनेको पोख्त र फा भनेको फागु खेलाउने व्यक्ति हो । फागु खेलाउन सिपालु व्यक्तिलाई खलिफा भनिन्छ । होरी खेल्ने प्रचलन अछाम जिल्लामा कायमै छ ।

नेउल्या गीतबारे योगी नरहरीनाथले लेखेको पुस्तक २०११ सालमा प्रकाशित भएको छ । नाटककार पहलमानसिंह स्वारले अछामका चाडपर्वबारे लेख्दै डेउडी पारेर खेल्ने नेउल्या गीत भनेर उल्लेख गर्नुभएको छ । रामबहादुर रावलले कर्णाली क्षेत्रको पिवा नेउल्या गीत भनेर लेख्नुभएको छ ।

यस्तै ठाडी भाका भनेको ठाडो स्वर तानेर गाउने गीत हो । यो थुम्कोमा चढेजस्तै हो । जताबाट पनि उचाइमा जानैपर्छ । ठाडी भाकाका अन्तराहरू तलबाट सुरु भएर सुर चढ्दै माथि गएर टुङ्गिन्छ । यो गीत बसेर गाइन्छ । गीत गाउँदा कानमा औंला पनि राखिन्छ । यसमा जीवन भोगाईका कहानी हुन्छन् । ठाडी भाकामा कुनै पनि ताल बाजाको प्रयोग हुँदैन । बाँसुरी र सारङ्गीको प्रयोग भने गरिन्छ । नेउल्यालाई ठाडी भाकामा पनि गाउन सकिन्छ । काली कर्णालीका गीतको संरचना गाउने विधि र लय अन्यत्रभन्दा फरक छ ।

कर्णालीको एउटा महŒवपूर्ण संस्कृति अन्तर्गत देउसी भैलो पनि पर्छ । देउसी जहाँ खेलेपनि हामी त्यसै आएका हैनौं बलिराजाले पठाएको हो भन्ने प्रसँग महŒवपूर्ण छ । उनी बलिराजा कुनै पौराणिक कालका राजा नभएर कर्णालीका राजा हुन् । युद्ध स्रोत र सामग्री जम्मा पार्न उनले देउसी भैलोको माध्यमबाट जनताको घरदैलोमा पुग्ने योजना बनाएका थिए । उक्त संस्कृति अहिले पनि कायमै छ ।

-यज्ञराज उपाध्याय


डिक्रा वादी

नेपालको पश्चिम क्षेत्र त्यसै पनि एकदमै हेपिए–चेपियाको ठाउँ हो । त्यसमा पनि दलित र दलितमा पनि वादी समुदायको सदस्य हुनु चरम विभेद र दुःख पाउनु हो । खाने र बस्ने ठेगान हुँदैनथ्यो । भाग लगाएर गाउँमा गाग्री सुल्पा चिलिम बेचेर हिँड्थ्यौँ ।

वादी समुदायको मुख्य पेसाको रूपमा कला संस्कृति नै रहेको छ । वादी समुदायका सदस्यले छैटी वा बिहे आदिमा मागल र बाजा नबजाएसम्म शुभ सगुन हुँदैन भन्ने थियो । सामाजिक रूपमा हेलाँमा परेपनि सांस्कृतिक रूपमा भने वादी समुदायको महŒवलाई स्वीकार गरिएको भन्न सकिन्छ । वादी समुदायका बालबालिकाको शिक्षामा कम पहुँच छ । शिक्षाले नै समुदायको उत्थान हुन्छ भन्ने लाग्छ ।

समुदायगत हिसाबले हेर्दा वादी समुदायको उत्थान आजको आवश्यकता हो । यसका अलावा जसले कला र संस्कृतिको जगेर्ना गरेको छ उसको पनि संरक्षण हुनु जरुरी छ । कला नै नरहे संस्कृति रहँदैन । संस्कृति देश चिनाउने महŒवपूर्ण माध्यम हो । यसमा सबै तहका सरकारको ध्यान जानुपर्छ । गीत संगीतको क्षेत्रमा लागेर धेरै पैसा कमाउन नसके पनि मैले नाम कमाएको छु । यसमा मलाई गर्व छ ।

प्रकाशित मितिः   १२ असार २०८१, मंगलवार ०५:०४