सरकारको प्राथमिकतामा ‘आयोजना बैंक’
सुर्खेत: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि ‘आयोजना बैंक’ निर्माण गरेर कार्यक्रम छनोट तथा बजेट विनियोजन गर्ने भएको छ । प्रदेश सरकार स्थापना भएदेखि आयोजना बैंक निर्माणको बहस चलिरहे पनि कार्यान्वयनमा भने आउन सकेको छैन । अब भने ऐन निर्माण गरेर कार्यक्रम छनोट गरिने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेटमा समेत आयोजना बंैक स्थापना गर्ने उल्लेख छ । योजना छनौट प्रणालीलाई व्यवस्थित गर्न आयोजना बैंक प्रभावकारी हुने अपेक्षा गरिएको छ । आयोजना छनोट तथा बजेट विनियोजनलाई वस्तुपरक बनाउन र आयोजनाको दोहोरोपना हटाउन ‘आयोजना बंैक’ स्थापना गर्न लागिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव आनन्द सारुले बताए । दिगो विकास लक्ष्य हासिल गर्न मद्दत पु¥याउने, उत्पादन र उत्पादकत्व बढाउने आयोजनामा बजेट केन्द्रित गर्नेगरी बंैक स्थापना गरेर कार्यक्रम छनोट गरिने उनको भनाइ छ ।
बजेट कार्यान्वयनलाई व्यवस्थित गर्न आयोजना बैंक निर्माण गर्न र सोहीअनुसार बजेट परिचालन गर्नुपर्ने हुन्छ । त्यसका लागि योजना तर्जुमा सम्बन्धी कानुन निर्माण गरेर कार्यान्वयन गरिने सचिव सारु बताउँछन् । कर्णालीमा आयोजना बैंकको अपरिहार्यतालाई प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको समीक्षाले समेत देखाएको छ । नीति तथा योजना आयोग मार्फत आयोजना बैंक सञ्चालनमा ल्याउनु पर्ने सुझाव प्रदेश योजना आयोगले सरकारलाई विभिन्न समयमा दिने गरेको छ । लगानीयोग्य योजना छनोट गर्न, पहुँचका आधारमा औचित्यहीन योजनामा समेत बजेट विनियोजन हुने प्रवृत्ति अन्त्य गर्न आयोजना बैंक निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । सोहीअनुसार प्रदेश सरकारका मन्त्रालयहरूले प्रदेश नीति तथा योजना आयोग मातहत रहेर कार्यक्रम सञ्चालन गर्नेछन् ।
प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन परम्परागत प्रणालीको नहुने जनाएका छन् । आउँदो वर्षबाट आयोजना बैंकमार्फत् योजना छनोट गरी बजेट कार्यान्वयन गर्ने कामको थालनि गरिने उनको भनाइ छ । आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीमार्फत् सार्वजनिक गर्न, बजेट तर्जुमा गर्दा प्राप्त सिलिङभित्र प्राथमिकताका आधारमा बजेट प्रस्ताव गरिने जनाइएको छ । प्रदेश नीति तथा योजना आयोगले छनोट गरी निर्धारण गरेको प्राथमिकता क्रमका योजनाहरूबाट प्रदेश गौरवको योजनाहरू, ठूला र बृहत् प्रकृतिका योजनाहरू बजेट दिएर कार्यान्वयनमा जाने सरकारको तयारी रहेको उनले बताए ।
विशेष गरी भौतिक पूर्वाधारतर्फका योजनाहरू आयोजना बैंकबाट छनौट गरी कार्यान्वयन गरिने छ । प्रदेश सरकार स्थापनादेखि नै कर्णाली सरकारले आयोजना बैंक निर्माणको चर्चा सुरु गरेको थियो । सरकारले विगतदेखि नै नीति तथा कार्यक्रममै समावेश गरी आयोजना बैंक निर्माणको विषय अघि सार्दै आएको थियो । तर, कार्यान्वयन भने हुन सकेको थिएन ।
गरिबी निवारण, रोजगारी सिर्जना
मुख्यमन्त्रीको कार्यालयमार्फत् कार्यान्वयन हुनेगरी प्रदेश सरकारले गरिबी निवारण र रोजगारी सिर्जनाका लागि विभिन्न कार्यक्रम अघि सारेको छ । मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत् बेरोजगार व्यक्तिलाई रोजगारीको अवसर उपलब्ध गराउन स्थानीय तहबाट कार्यान्वयन गर्नेगरी सशर्त अनुदानको रूपमा वित्तीय हस्तान्तरण गरिएको छ । आगामी आर्थिक वर्षमा कार्यक्रम कार्यान्वयनका लागि एक अर्ब १६ करोड बजेट विनियोजन गरिएको छ ।
बैंक खाता छोरीकोः सुरक्षा जीवन भरीको
यस्तै प्रदेश सरकारको लोकप्रिय कार्यक्रम ‘बैंक खाता छोरीकोः सुरक्षा जीवन भरीको’ कार्यक्रमलाई आगामी वर्षदेखि परिमार्जन गरेर कार्यान्वयन गरिने भएको छ । विगत दुई आर्थिक वर्षदेखि उक्त कार्यक्रम कार्यान्वयन हुन सकेको छैन । महिलाको सशक्तीकरण, बालिकाहरूमाथिको विभेद अन्त्य, हानिकारक सामाजिक अभ्यासहरू रोक्न र बालिकाहरूको माध्यमिक तहसम्मको अध्ययन सुनिश्चित गर्न बैंक खाता छोरीकोः सुरक्षा जीवन भरीको कार्यक्रमलाई परिमार्जित रूपमा सञ्चालन गर्न ऐन निर्माण गरिने प्रदेश सरकारले जनाएको छ ।
सामाजिक सशक्तीकरण कार्यक्रम
यस्तै ‘प्रदेश प्रमुख सामाजिक सशक्तीकरण’ कार्यक्रमलाई थप व्यवस्थित बनाइने भएको छ । ‘कर्णालीको साझा सन्देशः बालविवाह, छाउपडी र छुवाछुतमुक्त प्रदेश’ भन्ने मूल मान्यताका साथ यस्ता विकृतिपूर्ण सामाजिक तथा सांस्कृतिक मान्यताको अन्त्य गर्न प्रदेश प्रमुख सामाजिक सशक्तीकरण कार्यक्रमलाई अभियानको रूपमा सञ्चालन गर्ने प्रदेश सरकारले जनाएको छ ।
‘कर्णाली समृद्धि परियोजना’
निवर्तमान मुख्यमन्त्री राजकुमार शर्माको कार्यकालमा महŒवपूर्ण कार्यक्रमको रूपमा ल्याइएको ‘कर्णाली समृद्धि परियोजना’ लाई प्रदेश सरकारले निरन्तरता दिने भएको छ । आगामी आर्थिक वर्षदेखि विभिन्न मन्त्रालयका रोजगारीका कार्यक्रमसँग जोडेर कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो ।
प्रकाशित मितिः ११ असार २०८१, सोमबार ०५:०५
साझा बिसौनी ।