भवन निर्माणमा ढिलासुस्ती
पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित मेहलकुना अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गरिएको छ । सेवा विस्तार गरेपनि अस्पतालमा भवनको अभाव भने कायमै छ । ५० शैय्या विस्तारसँगै संरचना अभाव भएपछि ६ वर्षअघि अस्पतालको नयाँ भवन निर्माण सुरु गरिएको थियो । सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेत र एनके लोहनी केएसके जेभी निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएर भवन निर्माण सुरु गरिएको हो । तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७४ पुस २७ गते ठेक्का सम्झौता भएको थियोे । २८ करोड लागत अनुमान गरिए पनि २१ करोड ७९ लाख रूपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । तर उक्त भवन निर्माण अलपत्र परेको छ । भवन निर्माण समयमै नसकिँदा अस्पतालको सेवा प्रभावित भएको छ । निर्माण व्यवसायी र सम्बद्ध कार्यालयको लापरबाहीका कारण ६ वर्षसम्म भवनको आधा मात्रै काम भएको छ ।
५० शै®या क्षमता विस्तार गरिएको अस्पतालले अहिले १५ शैय्याको संरचना र पूर्वाधारबाट सेवा दिइरहेको छ । पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ । तर भवन निर्माणले पूर्णता पाउन सकेको छैन । निर्धारित म्यादभित्र काम सम्पन्न नभएपछि म्याद थप गरिएको छ । पहिलो सम्झौताअनुसार २०७७ असार २५ गते काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । तोकिएको समयमा काम नसकिएपछि २०७७ असोजमा पहिलो पटक ६ महिना म्याद थप भयो । २०७७ असोज २५ गतेदेखि पुस २५ गतेसम्म म्याद थप गरिएको थियो । त्यसयता विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले पटकपटक म्याद थप गरिरहेको छ । २०८० जेठ समान्तसम्म अन्तिम म्याद रहेको थियो । म्याद सकिएसँगै सात महिनादेखि काम ठप्प छ । डेकुरेसन, रंगरोगन र एउटा भवनको ढलानको कामसमेत बाँकी छ ।
भवन निर्माण थालिएको ६ वर्ष भएपनि हालसम्म भवनको ६५ प्रतिशत मात्रै प्रगति भएको अस्पतालले जनाएको छ । धेरै पटक म्याद थपिएपनि ठेकेदारको लापरबाहीले काम हुन सकेको छैन । निर्माणाधिन अस्पताल भवनमा पाँच वटा ब्लक छन् । समयमै निर्माण कार्य नसकिएर योजना अलपत्र परेपछि अहिले चौतर्फी आलोचना र गुनासो बढेको अस्पतालले जनाएको छ । पूर्वाधार विकासमा लापरबाही हुने गरेको छ । मेहेलकुना अस्पताल पनि त्यही प्रवृत्तिको सिकार भएको छ । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको सेवा विस्तारसँगै गर्नुपर्ने पूर्वाधार निर्माणमा लापरबाही भएको छ । ठेकेदारको लापरबाहीलाई सरकारी तहबाट उचित नियमन हुन सकेको छैन । पटक–पटक म्याद थप गर्दा पनि भवन निर्माण नहुनुले पनि त्यही देखाउँछ ।
प्रकाशित मितिः २३ पुष २०८०, सोमबार ०५:०३
सम्पादकीय ।