निस्क्रिय सांसद
कर्णाली प्रदेशसभाको बजेट अधिवेशअन्तर्गत ३९ वटा बैठक सम्पन्न हुँदा सभा सदस्य राजिवविक्रम शाह ६ वटा बैठकमा मात्रै सहभागी भए । सोमवार रातिबाट सकिएको यो अधिवेशनका बैठकहरूमा सबैभन्दा कम उपस्थित हुने सदस्य हुन्, उनी । शाहपछि कम उपस्थित हुने सूचिको दोस्रो नम्बरमा छन्, अर्का सदस्य शेरबहादुर बुढा । उनी जम्मा आठ दिन मात्रै बैठकमा उपस्थित भए । शाह र बुढाको जस्तै अन्य सदस्यहरूले पनि सभाका अधिकांश बैठकमा उपस्थिति जनाएका छैनन् । ४० जना सदस्य रहेको सभाको बैठकमा धेरैले आधाभन्दा कममा मात्रै सहभागी भएका छन् । ३९ मध्ये २० वटाभन्दा कम बैठकमा सहभागी हुने सदस्यहरूको संख्या धेरै छ ।
कानुन निर्माणको जिम्मा लिएर प्रदेश सभामा निर्वाचित प्रतिनिधिहरू नै महत्वपूर्ण छलफलमै सहभागी हुने गरेका छैन । बैठकमा उपस्थित न्यून देखिएको छ । दोस्रो कार्यकालको दोस्रो तथा बजेट अधिवेशनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र दुई वटा विधेयक पारित गरेको छ । यस्तो महत्वपूर्ण बैठकहरूमा समेत सदस्यहरूको उपस्थित न्यून रहेको हो । हुम्लाका कलबहादुर हमाल ११ दिन उपस्थित भएका छन् । विनोदकुमार शाह र विन्दमान विष्ट १६÷१६ दिन, विजया बुढा १९ दिन उपस्थिति हुँदा जुम्कित लामा कार्की, बलिमाया बुढा, इन्द्रकुमारी शाही र लक्ष्मी सुनार १९÷१९ दिन बैठकमा सहभागी भएका थिए । पूर्णबहादुर खत्री १७ दिन उपस्थित भएका छन् । देवेन्द्रबहादुर शाही, दक्षिणा शाही, कल्याणी खड्का, घनश्याम भण्डारी र तुल्सा मल्ल, १८÷१८ बैठकमा सहभागी भएका हुन् । नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीसहित जितबहादुर मल्ल र जानकी सिंह १७÷१७ दिन उपस्थित भएका छन् । गमता विक, महेन्द्र केसी, हिक्मतबहादुर विष्ट, टेकराज पछाईं समान २२ वटा बैठकमा सहभागी भएका छन् । मिलन खड्का रोका २१ दिन, वीरबहादुर शाही, दुर्गबहादुर रावत र रणसिंह परियार २०÷२० दिन उपस्थित हुँदा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेल २२ दिन उपस्थित भएका छन् । प्रदेशसभामा सरकारको प्रतिनिधित्व पनि न्यून हुने गरेको छ । मुख्यमन्त्री र मन्त्रीहरू समेत कम उपस्थित हुन्छन् ।
प्रदेशसभाका सदस्यहरूले संसद् बैठकभन्दा पनि पार्टीका बैठक, भेला, प्रशिक्षणलगायतका कार्यक्रमलाई प्राथमिकता दिँदै आएका छन् । संसद्मा जनताको आवाज बोलेर सरकारलाई खबरदारी गर्दै कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने दायित्वबाट उनीहरू विमुख देखिन्छन् । कर्णालीका सांसदहरू जनजीविकाका सवालभन्दा सत्ता राजनीतिको खेलमा बढी रुमलिएको आलोचनासमेत हुँदै आएको छ । आफ्नो दायित्व र जिम्मेवारीप्रति गम्भीर नभएर सांसदहरू पार्टी गतिविधिमा नै बढी भुलिरहेको आरोप लाग्ने गरेको हो ।
प्रकाशित मितिः २५ आश्विन २०८०, बिहीबार ०५:०२
सम्पादकीय ।