कृषकलाई ६ करोड राहत दिने निर्णय

सुर्खेत: कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट क्षति बेहोरेका कृषकहरूलाई राहत दिने भएको छ । गत भदौ र असोजमा परेको वर्षा र हावाहुरीलगायत प्राकृतिक प्रकोपबाट क्षती बेहोरेका किसानहरूलाई राहत प्रदान गर्न ६ करोड रूपैयाँ छुट्याएको छ ।

यस्तै इजरायलमा मृत्यु भएको परिवारलाई पनि राहत दिइने भएको छ । सरकारले इजरायलमा प्यालेस्टाइनी समूह हमासले गरेको आक्रमणमा मृत्यु भएका विद्यार्थीका परिवारलाई तीन लाख रकम दिने निर्णय गरेको हो । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा मृत्यु भएका कर्णालीका नागरिकका परिवारलाई तीन लाख रूपैयाँ प्रदान गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए । उनका अनुसार बैठकले इजरायलमा रहेका नागरिकको छिटो उद्धारका लागि संघीय सरकारलाई आग्रह गरेको छ ।

त्यसैगरी बैठकले नेपाल बार एशोसियनको नियमित वार्षिक साधारण सभाका लागि १५ लाख रूपैयाँ सहयोग र अनुदान प्रदान गर्ने निर्णय गरेको छ । बारको केन्द्रीय साधारणसभा केही दिनअघि सुर्खेतमा सम्पन्न भएको थियो ।

प्रकाशित मितिः   २५ आश्विन २०८०, बिहीबार ०५:०१