निस्क्रिय प्रदेश सांसद: महत्त्वपूर्ण बैठकमै गयल

सुर्खेत: कर्णाली प्रदेशसभाको बजेट अधिवेशअन्तर्गत ३९ वटा बैठक सम्पन्न हुँदा सभा सदस्य राजिवविक्रम शाह ६ वटा बैठकमा मात्रै सहभागी भए । सोमवार रातिबाट सकिएको यो अधिवेशनका बैठकहरूमा सबैभन्दा कम उपस्थित हुने सदस्य हुन्, उनी । शाहपछि कम उपस्थित हुने सूचिको दोस्रो नम्बरमा छन्, अर्का सदस्य शेरबहादुर बुढा । उनी जम्मा आठ दिन मात्रै बैठकमा उपस्थित भए ।

शाह र बुढाको जस्तै अन्य सदस्यहरूले पनि सभाका अधिकांश बैठकमा उपस्थिति जनाएका छैनन् । ४० जना सदस्य रहेको सभाको बैठकमा धेरैले आधाभन्दा कममा मात्रै सहभागी भएका छन् । ३९ मध्ये २० वटाभन्दा कम बैठकमा सहभागी हुने सदस्यहरूको संख्या धेरै छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सन्तोषी शाही पनि एक तिहाइ बैठकमा मात्रै सहभागी भएको पाइएको छ । उनी १३ दिन बैठकमा उपस्थित भएको तथ्यांक प्रदेशसभा सचिवालयले दिएको छ । त्यसैगरी सुरेश अधिकारी १७ दिन बैठकमा उपस्थित भएका छन् । कानुन निर्माणको जिम्मा लिएर प्रदेश सभामा निर्वाचित प्रतिनिधिहरू नै महŒवपूर्ण छलफलमै सहभागी हुने गरेका छैन । बैठकमा उपस्थित न्यून देखिएको छ । दोस्रो कार्यकालको दोस्रो तथा बजेट अधिवेशनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र दुई वटा विधेयक पारित गरेको छ । यस्तो महŒवपूर्ण बैठकहरूमा समेत सदस्यहरूको उपस्थित न्यून रहेको हो ।

हुम्लाका कलबहादुर हमाल ११ दिन उपस्थित भएका छन् । विनोदकुमार शाह र विन्दमान विष्ट १६÷१६ दिन, विजया बुढा १९ दिन उपस्थिति हुँदा जुम्कित लामा कार्की, बलिमाया बुढा, इन्द्रकुमारी शाही र लक्ष्मी सुनार १९÷१९ दिन बैठकमा सहभागी भएका थिए । पूर्णबहादुर खत्री १७ दिन उपस्थित भएका छन् । देवेन्द्रबहादुर शाही, दक्षिणा शाही, कल्याणी खड्का, घनश्याम भण्डारी र तुल्सा मल्ल, १८÷१८ बैठकमा सहभागी भएका हुन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीसहित जितबहादुर मल्ल र जानकी सिंह १७÷१७ दिन उपस्थित भएका छन् । गमता विक, महेन्द्र केसी, हिक्मतबहादुर विष्ट, टेकराज पछाईं समान २२ वटा बैठकमा सहभागी भएका छन् ।

मिलन खड्का रोका २१ दिन, वीरबहादुर शाही, दुर्गबहादुर रावत र रणसिंह परियार २०÷२० दिन उपस्थित हुँदा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेल २२ दिन उपस्थित भएका छन् । सभामुख नन्दा गुरुङ र उपसभामुख यशोदा न्यौपाने पनि २२÷२२ दिन उपस्थित भएका छन् ।

 

मन्त्रीहरूको उपस्थिति पनि न्यून

प्रदेशसभामा सरकारको प्रतिनिधित्व पनि न्यून हुने गरेको छ । मुख्यमन्त्री र मन्त्रीहरू समेत कम उपस्थित हुन्छन् । मुख्यमन्त्री राजकुमार शर्मा ३९ वटा बैठकमध्ये १३ पटक मात्रै उपस्थित भएका छन् । बैठकमा सरकारकै प्रतिनिधिको उपस्थिति नभएको भन्दै पटक–पटक आलोचनासमेत हुँदै आएको छ ।

यस्तै आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह १९ दिन, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी २२ दिन, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार विसी १६ दिन, सामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेल २१ दिन, जलस्रोत तथा ऊर्जा विकास मन्त्री उर्मिला विश्वकर्मा १९ दिन, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मंगलबहादुर शाही २० दिन, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्मा १४ दिन उपस्थित भएका छन् ।
बैठकमा गयल हुने सदस्यहरूका कारण प्रदेशसभा प्रभावकारी हुन नसकेको आरोप लाग्ने गरेको छ । नागरिक समाजका प्रतिनिधि पिताम्बर ढकाल सदस्यहरूको अनुपस्थितले संसद्को गरिमा कायम हुन नसक्ने बताउँछन् । उनले भने, ‘प्रदेश सभामा यस्तो हुनु राम्रो होइन । पार्टीका कार्यक्रम र अन्य कामले गर्दा संसद् अवरुद्ध र अनुपस्थित हुनुहुँदैन् । तर धेरैजसो यही कारणले अनुपस्थित हुने र अवरुद्ध हुने भइरहेको छ । यसले संसद्को गरिमा कायम हुन सक्दैन ।’ उनले कानुन निर्माणमा प्रत्यक्ष सहभागी हुने सांसदहरू नै संसद्मा गयल हुँदा प्रभावकारी कानुन निर्माणमा समेत असर पुग्ने बताए ।

प्रकाशित मितिः   २४ आश्विन २०८०, बुधबार ०५:०६