पीडित सहायता कक्ष स्थापना

सुर्खेत: कर्णालीमा पीडित सहायता कक्ष र ट्राफिक सचेतना अभियान सुरु गरिएको छ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले बुधवार अभियानको उद्घाटन गरेका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले ‘पीडित सहायता कक्ष’ र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले ‘ट्राफिक सेचनता अभियान’को नेतृत्व गरिरहेको छ । पीडित सहायता कक्षको उद्घाटन गर्दै उपप्रधानन्त्री खड्काले केही महिनादेखि सुरु भएको सुरक्षित विशेष अभियान प्रभावकारी बनेकाले देशभर कार्यान्वयनमा लिनुपर्ने बताए ।

उनले पीडितमैत्री प्रहरी सेवा प्रवाहका लागि अभियान प्रभावकारी हुने बताउँदै तल्लो तहका प्रहरी कर्मचारीसम्म यसको स्वामित्व लिने वातावरण बनाइनुपर्ने बताए । ‘पीडितलाई हरेक दिन फोन गरेर उजुरी उपर भइरहेको प्रगतिका बारेमा जानकारी गराउनु सामान्य कुरा होइन, यो चुनौतिपूर्ण छ’, उपप्रधानमन्त्री खड्काले भने, ‘यो अभियानलाई सफल बनाउका लागि सबै प्रहरी कर्मचारीले अभियानको स्वामित्व लिन आवश्यक छ ।’ उनले पीडित बारम्बार प्रहरी कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुनु ठूलो कुरा हुने भन्दै प्रहरीले गाली गर्ने हुन् कि भन्ने मानसिकताबाट सेवाग्राहीलाई मुक्त गर्नुपर्नेमा जोड दिए ।

अभियान सञ्चालन गर्नु मात्रै ठूलो कुरा नभएको बताउँदै यसलाई सफल कार्यान्वयन गर्नुपर्ने उनको जोड थियो । ट्राफिक सचेतना अभियानको शुभारम्भ गर्दै उपप्रधानमन्त्री खड्काले ट्राफिक नियम र सडक सभ्यता सबैले पालना गर्नुपर्ने पनि बताए । उनले ‘ट्राफिक नियमको पालना गर्नाले मेरो जीवनको रक्षा हुन्छ’ भन्ने कुराको बोध प्रत्येक नागरिकमा हुनु आवश्यक रहेको बताए ।

प्रकाशित मितिः   २५ आश्विन २०८०, बिहीबार ०५:०३