कृषि क्याम्पसको योजना अलपत्र

करोडौँ लागतका भवन प्रयोगविहीन, सम्बन्धन नै अन्योलमा

सुर्खेत: सम्बन्धन नपाउँदा कृषि क्याम्पसको भवन प्रयोगविहीन बनेका छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ७ अमलटाकुरामा निर्माण गरिएका भवन प्रयोगविहीन बनेका हुन् ।

क्याम्पस सञ्चालनका लागि २०७५ भदौदेखि भौतिक संरचना निर्माणको काम थालिएको थियो । हाल त्यहाँ दुई वटा भवन निर्माण सम्पन्न भएका छन् । उक्त प्रस्तावित क्याम्पस सञ्चालनका लागि बजेट जुटाउन महायज्ञ सञ्चालन गरिएको थियो । २०७६ कार्तिक २२ देखि २९ गतेसम्म महायज्ञ लगाएर डेढ करोड रकम संकलन गरियो । सो रकम भवन निर्माणको लागि जग्गा खरिदमा खर्च गरिएको छ । महायज्ञबाट जम्मा भएको रकमले व्यक्तिको ९२ रोपनी जग्गा खरिद गरी भवन निर्माण गरिएको कृषि क्याम्पस सञ्चालन समितिका अध्यक्ष मोहन बडुवालले जानकारी दिए । उनका अनुसार क्याम्पस सञ्चालनका लागि दुई वटा भवन तयार भएका छन् भने दुई वटा भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ ।

क्याम्पस सञ्चालन गर्न भौतिक संरचना बनिसके पनि अध्यापन अनुमतिको भने टुँगो लाग्न सकेको छैन । पाँच वर्ष अघि नै मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा सम्बन्धनका लागि फाइल पेस गरिएको थियो । तर अहिलेसम्म पनि कुनै टुँगो लागेको छैन ।

प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा भवन निर्माण गरिएको हो । चौकुनेमा कृषि क्याम्पस सञ्चालनका लागि कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ मा ८० लाख बजेट दिएको थियो । उक्त भवनको निरन्तरताको लागि आर्थिक वर्ष २०७८÷०७९ मा पनि ८० लाख बजेट प्रदेश सरकारले दिएको हो । अहिले क्याम्पस सञ्चालनका लागि भवन निर्माण भएका छन् ।

आर्थिक वर्ष २०७९÷०८० मा गाउँपालिकाले करिब ५० लाख बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा पनि पालिकाले करिब ८० लाख विनियोजन गरेको छ । क्याम्पस सञ्चालनका लागि भवन तयार भएको गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिए । उनका अनुसार चार वटा भवन तयार भएका छन् । दुई वटा भवन पालिकालाई हस्तान्तरण गरिएको छ भने दुई वटा भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सम्बन्धन पाए क्याम्पस सञ्चालनका लागि पूर्वाधार तयार पारिएको उनले जनाए ।

 

सम्बन्धनको अलमल

क्याम्पस सञ्चालन गर्न भौतिक संरचना बनिसके पनि अध्यापन अनुमतिको भने टुँगो लाग्न सकेको छैन । पाँच वर्ष अघि नै मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा सम्बन्धनका लागि फाइल पेस गरिएको थियो । तर अहिलेसम्म पनि कुनै टुँगो लागेको छैन । क्याम्पसको सम्बन्धनका विषयमा विभिन्न क्षेत्रसँग पहल भइरहेको कृषि क्याम्पस सञ्चालन समितिका अध्यक्ष बडुवाल बताउँछन् । ‘हामीले गतवर्षदेखि नै पढाइ सुरु गरिसक्ने लक्ष्य राखेका थियौँ,’ उनले भने, ‘तर अहिलेसम्म सम्बन्धित निकायबाट सम्बन्धन पाउन सकिएको छैन ।’ पटक–पटक क्याम्पसको सम्बन्धनका लागि मध्यपश्चिम विश्वविद्यालयसँग प्रक्रिया अघि बढाइएको थियो । कोरोना महामारीले गर्दा काम समयमा नै सम्पन्न नभएपछि विश्वविद्यालयसँगको सम्बन्धन प्रक्रिया भने टुटेको छ । उनले भने, ‘मध्यपश्चिम विश्वविद्यालयले पहिला सम्बन्धन दिन्छाँै, पूर्वाधार तयार पार्नुस् भन्यो । अहिले आएर सम्बन्धन दिन आलटाल गरेको छ ।’ विश्वविद्यालयले सम्बन्धन दिन नचाहेको उनको आरोप छ ।

 

त्रिभुुवन विश्वविद्यालयसँग संवाद

करोडौँ लागतमा निर्माण गरिएका क्याम्पसका भवन अलपत्र पर्न थालेपछि सम्बन्धनका लागि त्रिभुुवन विश्वविद्यालयसँग संवाद थालिएको छ । आंगिक क्याम्पसको सम्बन्धनको विषयमा त्रिभुवन विश्वविद्यालयसँग पहल भइरहेको अध्यक्ष मोहन बडुवालले बताए । उनका अनुसार विश्वविद्यालयसँग संवाद र आवश्यक पहल भइरहेको छ । ‘त्रिभुवन विश्वविद्यालयले एक प्रदेशमा एक कृषि क्याम्पस स्थापना गर्ने भनेको छ । सोही बमोजिम हामीले पहल थालेका छौँ’ बडुवालले भने । अब सकेसम्म त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिनेगरी पहल भइरहेको उनले बताए ।

प्रकाशित मितिः   २५ आश्विन २०८०, बिहीबार ०५:०५