विद्युतीकरण हुँदै गाउँ-बस्ती

सुर्खेत: स्थानीय सरकारले बस्ती विद्युतीकरणलाई प्राथमिकतामा राखेका छन् । हरेक घरमा बिजुली पु¥याउने योजना क्रमशः पूरा हुने चरणमा अगाडि बढेको छ । पछिल्लो समय कर्णाली प्रदेशमा पनि विद्युतमा नागरिकको पहुँच बढेको छ ।
कर्णालीका कैयन् पालिका अहिले पनि विद्युतविहीन छन् । केहीमा भने आंशिकरूपमा विद्युतीकरण भएको छ । आंशिक रूपमा विद्युतीकरण भएका स्थानीय तहमा पूर्णरूपमा सेवा उपलब्ध गराउने योजनाका साथ स्थानीय सरकार र नेपाल विद्युत प्राधिकरण लागि परेका छन् । केही स्थानीय तहमा प्राधिकरणले विद्युत सेवा उपलब्ध गराउन सकेको छैन । ती स्थानीय तहलाई केन्द्रमा राखेर प्राधिकरणले योजनाबद्ध प्रयास गरिरहेको छ । भौगोलिक कठिनाइ तथा विकटताले गर्दा कर्णालीका केही स्थानीय तहहरूमा विद्युतीकरणमा ढिलाइ भइरहेको छ । त्यसका लागि स्थानीय तहहरूले सामुदायिक विद्युतीकरणसँग मिलेर काम अघि बढाएका छन् ।
दैलेखको गुराँस गाउँपालिकाका दुई हजार पाँच सय घरधुरीमा बत्ती बलेको छ । गाउँपालिकाले ग्रामीण सामुदायिक विद्युतीकरण कार्यक्रमसँग मिलेर विद्युत विस्तार गरेको हो । बिजुलीको सुविधा नपुगेको गाउँपालिकाका टोल–टोलमा पहिलो पटक बत्ती बलेको छ । स्थानीयवासीको उज्यालोमा बस्ने रहर पूरा भएसँगै उनीहरूको मुहारमा उज्यालो थपिएको छ । गाउँपालिकाले यो वर्ष नै एक हजार घरधुरीमा बत्ती बाल्ने लक्ष्य राखेको जनाएको छ ।
विद्युतीकरणका लागि २३ करोड ४२ लाख ६९ हजार सात सय बजेट खर्च भएको छ । गाउँपालिकाको दश प्रतिशत र सामुदायीक विद्युतीकरणको ९० प्रतिशतको साझेदारीमा विद्युतीकरणको काम गरिएको हो । अझै विस्तारका लागि तीन करोड बजेट माग गरिएको पालिकाले जनाएको छ । अहिले गुराँस गाउँपालिकाका ६० प्रतिशत नागरिकले बत्ती बालीरहेको अध्यक्ष टोपबहादुर बिसीले बताए । उनले भने, ‘गाउँपालिकाका चार हजार दुई सय घरधुरीमध्ये दुई हजार पाँच सयमा बत्ती बल्यो, थप एक हजार घरधुरीमा यो वर्ष नै बत्ती बालिने छ । बाँकी सात सय घरधुरीमा आगामी आर्थिक वर्षमा बत्ती बाल्ने योजना बनाएका छौँ ।’ उनका अनुसार गाउँपालिकाका एक हजार घरधुरीमा पनि विद्युत विस्तारको काम भइरहेको छ ।
यस्तै सुर्खेतको सिम्ता गाउँपालिकाका ४५ प्रतिशत घरधुरीमा बत्ती बलेको छ । ‘सिम्ता उज्यालो कार्यक्रम’ अन्तरर्गत पालिकाका नौ मध्ये आठ वटा वडामा बत्ती बलेको छ । पालिकाले नीति–कार्यक्रम र बजेटमा प्राथमिकता राखिएकाले विद्युतीकरणको काम अघि बढेको गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्दले बताए । यसै अभियानले यतिबेला सिम्ताका अधिकांश भू–भाग अँध्यारोमुक्त भएका छन् । पालिकाका विकट बस्तीमा बिजुली बलेको छ । गाउँपालिकाका अध्यक्ष चन्द भन्छन्, ‘बत्ती बाल्न बाँकी वडा नं. २ मात्र छ । बाँकी घरधुरीमा यसै आर्थिक वर्षभित्र बिजुली पु¥याउने लक्ष्य छ ।’ गाउँपालिकाले सामुदायिक विद्युतीकरणसँगको साझेदारीमा विद्युतीकरणको काम गरेको थियो ।
दुई वर्ष अघिसम्म भगवतीमाई गाउँपालिका दैलेखमा ५० भन्दा पनि कम घरधुरी विद्युतको पहुँचमा थिए । ९९ प्रतिशत नागरिकले उज्यालोका लागि दियालो बाल्थे । आर्थिक अवस्था राम्रो भएका केही परिवारका घरमा सोलार जोडिएका थिए । अहिले गाउँपालिकाका साढे दुई सय घरधुरीमा बत्ती पुगेको छ । भौगोलिक रूपमा विकट रहेका वडामा विद्युतीकरणको काम भइरहेको गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले बताए । उनका अनुसार पालिकाका तीन हजार घरधुरीमा अझै बत्ती पुगेको छैन । उक्त गाउँपालिकाले समेत सामुदायिक विद्युतीकरणसँगको साझेदारीमा काम गरेको थियो ।
सुर्खेतको लेकवेशी नगरपालिकाका ६ हजार घरधुरीमा बत्ती बलेको छ । नगरपालिकाका विकट क्षेत्र बाहेक अन्य क्षेत्रमा बत्ती बलेको नगरप्रमुख उमेशकुमार पौडेलले बताए । उनका अनुसार आगामी दुई वर्षभित्र पालिकाका सबै घर–घरमा बत्ती पू¥याउने लक्ष्य राखीएको छ ।
कर्णालीको अधिकांश भूगोलमा अहिले पनि विद्युत विस्तार हुन सकेको छैन । संघीय र प्रदेश सरकारले थालेका विद्युतीकरणका थुप्रै योजना अलपत्र छन् । तर, विद्युतीकरणमा स्थानीय तहका कार्यक्रम भने प्रभावकारी देखिएका छन् । पालिकाहरूले छोटो अवधिमै विद्युतीकरणका योजनामा उल्लेखनीय प्रगति गरेका हुन् ।



रजनी याेगी ।