२१ पुगे रास्वपाका सांसद
सुर्खेत: उपनिर्वाचनमा दुई सीट जितेसँगै प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका २१ सांसद हुने भएका छन् । पार्टी गठनको पाँच महिनामै आम निर्वाचनमा सहभागी भएको रास्वपाले गत मंसिर ४ को निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी प्रतिनिधिसभामा २० सीट जितेको थियो । रविको सांसद पद खारेज भएपछि रास्वपाको १९ सीट थियो । उपनिर्वाचनमा चितवन–२ र तनहुँ–१ बाट वाग्लेले जितेपछि २१ सीट भएको हो ।
रवि लामिछानेले गत साउन पहिलो साता आफ्नो नेतृत्वमा पार्टी घोषणा गरेका थिए । प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० मा भएको उपनिर्वाचनबाट लामिछाने पुनः सांसद बनेर फर्किएका छन् । अमेरिकी नागरिकता लिएर त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरेकाले सांसद बन्न रवि लामिछाने अयोग्य हुने सर्वोच्चले फैसला गरेपछि चितवन २ मा उपनिर्वाचन भएको हो । जहाँ लामिछानेले करिब ६९ भन्दा बढी प्रतिशत मतसहित विजयी भए । उनी ५४ हजार एक सय ७६ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धीहरू कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार दुई सय १४ मत ल्याए भने एमालेका रामप्रसाद न्यौपानेले १० हजार नौ सय ३६ मत ल्याएका छन् । चितवन २ को उपनिर्वाचनमा कुल ७८ हजार दुई सय ७७ मत खसेको थियो ।
तनहुँ १ मा स्वर्णिम वाग्लेले ३४ हजार नौ सय १८ मत ल्याएर विजयी भएका छन् । कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गरे भने एमाले उम्मेदवार सर्वेन्द्र खनालले आठ हजार चार सय ८८ मत प्राप्त गरे ।
बारा २ मा भएको उपनिर्वाचनमा भने जसपाका अध्यक्षसमेत रहेका उम्मेदवार उपेन्द्र यादवले अग्रता बनाएका छन् । दोस्रो स्थानमा जनमत पार्टीका शिवचन्द्र कुशवाहा र एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल तेस्रो स्थानमा छन् । स्वतन्त्र पार्टीका रमेश खरेल भने चौथोमा छन् ।
प्रतिनिधिसमाको गत मंसिर ४ को निर्वाचनबाट रास्वपाले सात स्थानमा प्रत्यक्ष जितेको थियो । सर्वोच्चले लामिछाने सांसद बन्न अयोग्य हुने फैसला गरेसँगै रास्वपाका प्रत्यक्ष निर्वाचित सांसदको संख्या ६ मा झरेको थियो । रास्वपाका गणेश पराजुली, तोसिमा कार्की, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम र हरि ढकालले प्रत्यक्ष निर्वाचन प्रणालीबाट जितेर सांसद छन् । रास्वपाले १३ सांसद समानुपातिक निर्वाचन प्रणालीबाट जितेको थियो । जसमा अशोककुमार चौधरी, असिम शाह, चन्दा कार्की, डोलप्रसाद अर्याल, ढाकाकुमार श्रेष्ठ, निशा डाँगी, विनिता कठायत, मनिष झा, लक्ष्मी तिवारी, शिव नेपाली, सन्तोष परियार र सुमना श्रेष्ठ छन् ।
रास्वपाले सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीबाट कारबाही गरेर उक्त ठाउँमा बिन्दाबासिनी कंशाकारलाई सिफारिस गरेको छ । श्रेष्ठले मन्त्री बन्नका लागि पार्टीको कोर टिमले साढे दुई करोड रूपैयाँ मागेको र त्यसको व्यवस्थापन गर्नुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग गरेको कुराकानी सार्वजनिक भएको थियो । श्रेष्ठ समानुपातिक सांसद भएकाले उनको ठाउँमा कंशाकार सांसद बन्नेछिन् ।
प्रकाशित मितिः १३ बैशाख २०८०, बुधबार ०७:१७
साझा बिसौनी ।