सडक निर्माणमा तदारुकता
बहुचर्चित मदन भण्डारी राजमार्गले पश्चिम सुर्खेतका तीन पालिका जोड्छ । विकासमा पछि परेको उक्त क्षेत्रका लागि यो राजमार्ग ‘लाइफ लाइन’ सावित हुने अपेक्षा गरिएको छ । तीनै पालिका जोड्ने वर्षौ पुरानो सडक अहिले पनि स्तरोन्नतिको अभावमा जीर्ण छ । सुधार हुन सकेको छैन । तर मदन भण्डारी राजमार्ग निर्माण भइसकेपछि त्यस क्षेत्रका नागरिकले सुधारिएको सडक उपयोग गर्न पाउनेछन् । सडकको सास्ती अन्त्य हुने अपेक्षा गरिएको छ ।
४५ किलोमिटरको सडकलाई तीन खण्डमा विभाजन गरेर निर्माण थालिएको छ । पश्चिम सुर्खेतका तीन खण्डमध्ये दुई वटाको काम अघि बढेको छ । सम्झौताअनुसारकै समयावधिभित्र निर्माण सम्पन्न गर्नेगरी बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडक खण्ड निर्माणको काम अघि बढाइएको हो । विद्यापुर–बल्दे सडक खण्डमा अहिले बाटो कटिङ्को काम धमाधम भइरहेको छ । पश्चिम क्षेत्रका तीन खण्डमध्ये यो तेस्रो खण्ड हो । २२ किलोमिटर सडक खण्ड निर्माणका लागि एक अर्ब २१ करोड रूपैयाँमा काम सम्पन्न गर्नेगरी बानियाँ मोतिदान डि.एस. जेभी काठमाडौंले ठेक्का सम्झौता गरेको छ । सम्झौताअनुसार २०७९ फागुन १७ गतेदेखि सुरु भएको काम २०८२ फागुन १६ गतेसम्म सम्पन्न गरिसक्नुपर्नेछ । काम सुरु भएको दुई महिनाको अवधिमा करिब सात प्रतिशत सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गतकै बड्डीचौर–खम्बागाडे सडक खण्डको १५ प्रतिशत भौतिक प्रगति भएको छ । उक्त सडक खण्डको साढे १२ किलोमिटरमा सडक निर्माणको काम भइरहेको हो । यो सडक खण्डका लागि प्रदेश सरकारले ४२ करोड बजेट विनियोजन गरेको छ । उक्त खण्डमा अनक जयदेवी जेभी बाँकेले ४२ करोड ४७ लाख ६१ हजार रूपैयाँमा प्रदेश सरकारको पूर्वाधार विकास निर्देशनालयसँग सम्झौता गरेको हो । २०७९ देखि काम सुरु भएको उक्त खण्डमा २०८१ असार १५ गतेसम्म काम सम्पन्न गर्नुपर्नेछ ।
दुई वटा खण्डको काम भइरहे पनि राजमार्ग अन्तर्गत खम्बागाडे–विद्यापुर सडक खण्डको काम भने अघि बढ्न सकेको छैन । दश किलोमिटर दुरीको उक्त खण्डमा कामको सम्झौतासमेत भएको छैन । पश्चिम क्षेत्रको ठूलो भुगोल समेट्ने यो आयोजना निर्माणमा विशेष ध्यान र प्राथमिकता दिन जरुरी छ । आयोजना सुरु हुने तर बीचमै अलपत्र पर्ने प्रवृत्ति दोहोरिन नदिन सम्बन्धित सबै सरोकारवालाहरू सचेत हुनुपर्ने छ भने नागरिक तहबाट आयोजनाको प्रगतिबारे नियमित चासो र निरिक्षण जरुरी हुन्छ । जसले गर्दा आयोजना समयमै निर्माण हुनेतर्फ सहयोग पुग्नेछ ।
प्रकाशित मितिः १३ बैशाख २०८०, बुधबार ०७:१९
सम्पादकीय ।