विमानस्थलको प्रगति

कर्णालीमा विकासका पर्याप्त पूर्वाधार छैनन् । सडक पूर्वाधारकै अभाव छ । हवाईमार्गको पहुँच न्यून छ । त्यसमाथि निर्माण थालिएको आयोजना पनि समयमै सम्पन्न हुँदैनन् । कालीकोटमा तीन दशकअघि नै निर्माण थालिएको विमानस्थल अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । ३७ वर्षपछि बल्ल निर्माणको काम अन्तिम चरण पुगेको सुनथराली विमानस्थल सञ्चालनको तयारी गरिएको छ । आगामी वैशाख १ गते परीक्षण उडान गरेर विमानस्थल सञ्चालनमा ल्याउने तयारी थालिएको हो । यसअघि २०७३ माघ २९ गते पहिलो पटक उक्त विमानस्थलमा जहाज परीक्षण उडान गरिएको थियो । परीक्षण गरिए पनि नियमित उडान हुन भने सकेन । दोस्रो पटक परीक्षण गरेर नियमित सञ्चालनको तयारी गरिएको हो ।

जिल्लाको नरहरिनाथ गाउँपालिका–१ कोटबाडामा २०४२ सालदेखि विमानस्थल निर्माणको योजना अघि बढेको थियो । स्थानीय नागरिकको पहलमा त्यतिबेला तत्कालीन जिल्ला विकास समिति कालीकोटले एक लाख रकम विनियोजन गरेर विमानस्थल निर्माणको काम सुरु गरिएको हो । त्यसको ६ वर्षपछि २०४८ मा मात्रै सरकारले सुनथराली विमानस्थललाई आफ्नो योजनामा राखेर बजेट विनियोजन गरेको थियो । सरकारको योजनामा परेपनि निर्माणको काम भने नियमित हुन सकेन । बिचमा द्वन्द्वका कारण पनि विमानस्थल निर्माण कार्य अवरुद्ध भयो भने द्वन्द्वपछि पनि बिचमै अलपत्र छोड्दा लामो समयसम्म विमानस्थल सञ्चालन हुन नसकेको हो । ३७ वर्षपछि विमानस्थलका लागि पूर्वाधार तयार भएको छ । ६ सय ४० मिटर लम्बाइ र ६० मिटर चौडाइ रहेको धावनमार्ग तयार गरिएको छ । त्यसैगरी पाँच सय २५ वर्गमिटरमा धावनमार्गको टर्निङ प्याड निर्माण गरिएको छ भने ट्याक्सीवेको लम्बाई २५ मिटर र चौडाई २० मिटर छ । ७० मिटर लम्बाई र ३० मिटर चौडाइमा विमानको पार्किङ क्षेत्र बनाइएको छ । विमानस्थलमा दुवै तर्फबाट जहाज अवतरण गर्न सक्नेगरी निर्माण गरिएको हो । यो सबै १४ करोड ९३ लाख पाँच हजार दुई सय ३० रूपैयाँ लागतमा निर्माण गरिएको हो ।

अधिकांश पूर्वाधार तयार भइसकेकाले अब भने व्यावसायिक रूपमा जहाज उडानका लागि परीक्षण गर्न लागिएको जनाइएको छ । सुनथरालीमा अहिले उडानपूर्वका तयारी भइरहेको छ । त्यसका लागि आवश्यक भौतिक संरचना निर्माण हुँदैछन् । विमानस्थल सञ्चालनमा आएपछि नागरिकलाई यातायातका लागि सहज हुनुका साथै जिल्लाको पर्यटकीय विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । विगतमा निकै लामो समय अलपत्र परेको विमानस्थल निर्माणको कामले अब भने पूर्णता पाउने देखिएको छ ।

प्रकाशित मितिः   २६ चैत्र २०७९, आईतवार ०५:०३