‘कांग्रेस चाँडै कर्णाली सरकारमा जान्छ’

सुर्खेत: नेपाली कांग्रेसका उपसभापति एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कांग्रेस चाँडै कर्णाली सरकारमा जाने बताएका छन् । सातवटै प्रदेशमा अहिलेकै गठबन्धनको सरकार बन्ने भन्दै उनले कर्णालीमा पनि सोहीअनुसार हुने बताए । ‘कर्णाली प्रदेश पनि चरणवद्ध प्रक्रियामा नै छ । के गर्ने भन्ने विषय केन्द्रको नेतृत्वले निर्णय गर्छ’ खड्काले भने, ‘कांग्रेस चाँडै नै सरकारमा सहभागी हुनेछ ।’ केन्द्रको निर्णय सातवटै प्रदेशमा लागूहुने उनले जानकारी दिए ।

त्यसैगरी समस्यामा परेको अर्थतन्त्रलाई सही दिशामा ल्याउन सरकार लागिपरेको खड्काले बताए । मुलुकको अर्थतन्त्र ऋणात्मक बनेको भन्दै उनले ऋण लिएर तलब खुवाउनुपर्ने अवस्था रहेको समेत जनाए । उनले भने, ‘मुलुकको अर्थतन्त्र धरापमा परेको छ । तलब खुवाउन ऋण लिनुपर्ने अवस्था छ ।’ मुलुक अर्थतन्त्रको चपेटामा परेकाले प्रतिकूलतामा काम गर्नुपरेको बताए । राजस्व संकलन न्यून भएका कारणले मुलुक ऋणात्मक अर्थतन्त्रमा चलेको उनको भनाइ छ । सरकारलाई चुनौति र अवसर बराबर रहेको उनले बताए ।

वर्तमान सरकारको न्यूनतम् साझा कार्यक्रम सार्वजनिक भएको र त्यसैमा टेकेर नीति कार्यक्रम संसद्मा प्रस्तुत गरिने खड्काले जनाए । गठबन्धनको सरकारले मुलुकलाई कसरी अगाडि बढाउने छ भन्ने विस्तृत खाका संक्षेपिकरणको रूपमा साझा कार्यक्रम अघि सारिएको उनले बताए । जनताको निराशालाई आशामा बदल्ने काम वर्तमान सरकारले गर्ने खड्काको भनाइ छ । उनले भने, ‘अवस्था परिवर्तन नहुँदा जनतामा निराशा उत्पन्न भयो । त्यसलाई कसरी आशामा बदल्ने, काम कारबाहीलाई कसरी प्रभावकारी बनाउने भन्नेमा दृढइच्छाका साथ लागिपरेका छौँ ।’

प्रकाशित मितिः   २६ चैत्र २०७९, आईतवार ०५:०१