सुरक्षित आवास
विपन्न परिवारलाई सुरक्षित बसोबासको व्यवस्थापन गर्न सञ्चालन गरिएको ‘सुरक्षित नागरिक आवास’ कार्यक्रम कर्णालीका लागि प्रभावकारी बनेको छ । बर्सेनि आगलागीको जोखिममा रहने यहाँका बस्तीमा उक्त कार्यक्रम लागू भएसँगै खरका छानालाई जस्तापाताले विस्थापित गरेका छन् । सुरक्षित नागरिक आवास कार्यक्रम देशैभरी २०७५ सालबाट लागू भएको हो । कर्णालीमा यो कार्यक्रम जाजरकोटबाट सुरु भएको थियो । सहरी विकास मन्त्रालयमार्फत कार्यान्वयन गरिने सहरी विकास योजना, आवास योजना, भवन निर्माणमा समावेशी सिद्धान्तलाई अवलम्बन गरी कार्यक्रम सञ्चालन भइरहेको छ । नागरिक सुरक्षित आवास कार्यक्रम संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरी स्थानीय तहबाट कार्यान्वयनमा रहेको छ । विपन्न, ज्येष्ठ नागरिक, लक्षित समुुदायलाई लक्षित गरी कार्यक्रम सञ्चालन भइरहेको छ ।
संघीय सरकारले सञ्चालन गरेको यो कार्यक्रम अन्तर्गत अहिले कर्णालीका धेरै पालिकाहरूमा जोखिमयुक्त घरहरू पुननिर्माण भइरहेका छन् । जुम्लाको तातोपानी गाउँपालिकामा सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयन गर्न यो वर्ष पाँच सय १२ घरधुरी छनोट गरिएको छ । नागरिकको बसोबासलाई सुरक्षित बनाउने उद्देश्यले सञ्चालन भएको कार्यक्रम पालिकामा निकै प्रभावकारी भएको गाउँपालिका अध्यक्ष चन्द्रप्रसाद चौलागाइ बताउँछन् । जुुम्लाकै चन्दननाथ नगरपालिकामा सुरक्षित नागरिक आवास कार्यक्रम अन्र्तगत नौ सय घरधुरी छनोटमा परेका छन् । खरको छानो फेर्नका लागि वडामार्फत आवेदन माग गरिएको थियो । हिमा गाउँपालिकामा गत वर्षदेखि कार्यक्रम लागू भएको हो । यो वर्ष चार सय ४० घरधुरीलाई खरको छानोमुक्त गर्ने योजनाका साथ काम भइरहेको छ । यसरी कर्णालीका विभिन्न पालिकाले कार्यक्रम सञ्चालन गरिरहेका छन् । ज्येष्ठ नागरिक, आर्थिक रूपमा विपन्न र दलित वर्गलाई प्राथमिकतामा राखेर कार्यक्रम कार्यान्वयन गरिएको छ । खरका छाना विस्थापित गर्नुका साथै विभिन्न प्राकृतिक विपद्ले क्षति पु¥याएका घर पुननिर्माणका लागि समेत सहयोग गर्ने गरिएको छ । विपद्ले क्षति पु¥याएका धेरै नागरिकलाई यो कार्यक्रमले सघाउ पुुगेको हो । छाना फेर्नका लागि संघीय सरकारले प्रतिघरपरिवार ७५ हजारका दरले रकम दिने गरेको छ । अघिल्लो आर्थिक वर्षसम्म ५० हजारका दरले रकम उपलब्ध गराउने गरिएको थियो ।
विपन्न परिवारलाई यो कार्यक्रमले थप टेवा पुुगेको छ । नागरिकले सुरक्षित छानामुुनी बस्न पाएका छन् । विपद्बाट पीडित परिवारसमेत यो कार्यक्रमबाट लाभान्वित भएका छन् । कर्णाली विपद्को उच्च जोखिममा रहेको भूगोल हो । त्यसैले पनि यहाँका नागरिकको सुरक्षित बासका लागि घर सुरक्षित बनाउन जरुरी छ । यसका लागि सुरक्षित नागरिक आवास कार्यक्रम प्रभावकारी बन्न सक्दछ ।
प्रकाशित मितिः ८ फाल्गुन २०७९, सोमबार ०५:०३
सम्पादकीय ।