मतदातामा असन्तुष्टि

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले चुनावप्रति मतदाताको आकर्षण घटेको देखाएको छ । आइतवार भएको चुनावमा देशभर नै कम मतदान भएको छ । अघिल्लो निर्वाचनको तुलनामा यसपालि थोरै मत खसेको हो । सुर्खेतमा पनि २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनभन्दा अहिले कम मतदान भएको छ । सुर्खेतमा २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दुई लाख चार हजार पाँच सय ७७ मतदाता थिए । त्यतिबेला जिल्लामा ७० दशमलव ५७ प्रतिशत मत खसेको थियो । अघिल्लो प्रतिनिधिसभा र प्रदेशसभाको तुलनामा यसपालि झन्डै सात प्रतिशत कम मतदान भएको हो । आइतवार सम्पन्न संसदीय चुनावमा यहाँ कूल मतदाता संख्याको ६३ दशमलव ८४ प्रतिशत मात्रै भोट खसेको छ ।

सुर्खेतमा यसपटक एक लाख ५४ हजार दुई सय चार जनाले मतदान गरेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ । त्यसमध्ये ८५ हजार पाँच सय २८ महिला र ६८ हजार ६ सय ७६ पुरुष मतदाताले भोट हालेका छन् । यस पटक सुर्खेतमा पुरुषभन्दा करिब १७ हजार बढी महिला मतदाताले मतदान गरेका छन् । जिल्लामा पुरुषभन्दा महिला मतदाताको संख्या धेरै छ । कूल दुई लाख ४३ हजार ६ सय १४ मतदातामध्ये एक लाख २४ हजार आठ सय ७६ मतदाता महिला हुन् । पुरुष मतदाताको संख्या एक लाख १८ हजार सात सय ३८ रहेको छ । सुर्खेतमा प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार वटा निर्वाचन क्षेत्र छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं. १ मा एक लाख २० हजार नौ सय ४० र क्षेत्र नं. २ मा एक लाख २२ हजार ६ सय ७४ मतदाता रहेका छन् । आइतवार भएको चुनावमा खसेको मत संख्याले मतदाताको असन्तुष्टि देखाएको छ । चुनावमा मतदाताको सहभागिता, आकर्षण तथा उत्साहमा कमी आउनुलाई त्यसकै संकेतका रूपमा लिन सकिन्छ ।

यसपटक नागरिकहरूमा अघिल्ला निर्वाचनको तुलनामा उत्साह निकै कम पाइएको थियो । नयाँ उम्मेदवारप्रति युवा पिँढीहरूको केही झुकाव भए पनि पुराना अनुहारलाई नै भोट दिएर के हुन्छ भन्ने बुझाइ मतदातामा रहेको पाइएको छ । यसपटकको चुनावमा बाहिर रहेका मतदातासमेत कमै मात्रै गाउँ फर्किए थिए । यसले पनि निर्वाचनप्रति मतदाता उत्साहित छैनन् भन्ने देखिएको छ । मतदाता संख्या बढ्ने तर खस्ने मतको प्रतिशत घट्दै जानुले राजनीतिप्रति मतदाताको वितृष्णा बढेको देखिन्छ । अहिलेको चुनावमा राजनीतिक दल र पुराना उम्मेदवारहरूप्रतिको असन्तुष्टि प्रकट भएको हो । अपेक्षा अनुरूप न मतदाता सहभागी भए न त मतदातामा उत्साह नै देखियो ।

प्रकाशित मितिः   ७ मंसिर २०७९, बुधबार ०५:०३