प्रारम्भिक मत परिणाम: प्रत्यक्षमा कांग्रेस, समानुपातिकमा एमालेको अग्रता

सुर्खेत: आइतवार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको धमाधम मतगणना चलिरहेको छ । केही स्थानको अन्तिम मतपरिणाम समेत आइसकेको छ । मतगणनाको प्रारम्भिक नतिजाअनुसार प्रत्यक्षमा नेपाली कांग्रेस अघि देखिएको छ भने समानुपातिकमा नेकपा ‐एमाले) ले अग्रता लिएको छ । मंगलवार साँझ यो समाचार तयार पार्दासम्म कांग्रेसले प्रतिनिधिसभाका चार सीट जितेको छ । त्यस्तै, एमालेले दुई र नागरिक उन्मुक्ति पार्टीले एक स्थानमा जित हासिल गरेका छन् । देशभर प्रतिनिधिसभाका एक सय ६५ मध्ये एक सय ४३ निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ । प्रदेशसभातर्फ पनि प्रत्यक्षमा कांग्रेसले चार निर्वाचन क्षेत्रमा जितेर अग्रता लिएको छ । प्रदेशमा जनमत पार्टीले दुई र अन्यले एक स्थानमा जितेका छन् । समानुपातिकमा नेपाली कांग्रेसको सुरुवाती अग्रता तोड्दै एमाले अघि बढेको छ । मंगलवार साँझसम्मको विवरणअनुसार एमालेले एक लाख मत कटाएको छ । गणना भएको कूल तीन लाख ५० हजार सदर मतमध्ये पहिलो स्थानमा रहेको एमालेले एक लाख एक हजार ६ सय ६५ मत प्राप्त गरिसकेको छ । यो गणना भएको सदर मतको २९ प्रतिशत हो । समानुपातिकामा कांग्रेसले ८७ हजार दुई सय २५ मत कटाएर दोस्रो स्थानमा रहेको छ । कांग्रेसले समानुपातिकमा प्राप्त गरेको उक्त प्रारम्भिक मत कूल सदरमतको २५ प्रतिशत हो । प्रत्यक्षतर्फ मतगणना जारी रहेका धेरै स्थानमा कांग्रेस अगाडि देखिन्छ भने एमाले दोस्रो र नेकपा ‐माओवादी केन्द्र) तेस्रो स्थानमा रहेर प्रतिस्पर्धा गरिरहेका छन् ।

राजनीतिक दलहरूको लोकप्रियता मापन गर्ने समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत भइरहेको मतगणनामा पहिलो पटक चुनावमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उल्लेख्य मत पाएको छ । परम्परागत दलहरूलाई चुनौती दिएको सो पार्टीले माओवादी केन्द्रलाई उछिनेर तेस्रो स्थानमा छ । देशभर प्रत्यक्षसँगै समानुपातिक मत पनि गणना भइरहेको छ । लाखौँ मत गन्न बाँकी रहेकाले यही स्थान कायम रहन्छ भन्ने यकिन नभएपनि गणनाको रुझानले समानुपातिकतर्फ रवि लामिछाने नेतृत्वको पार्टी तेस्रो बन्ने सम्भावना बलियो देखिएको छ । तेस्रो स्थानमा रहेको घण्टीले ४६ हजारभन्दा धेरै मत समानुपातिकमा ल्याइसकेको छ । स्वतन्त्र पार्टीले सदर मतको १३ प्रतिशत मत प्राप्त गरिसकेको छ । स्वतन्त्र पार्टीलाई माओवादी केन्द्रले पछ्याइरहेको छ । माओवादी केन्द्रले समानुपातिकमा ३८ हजार मत कटाएको छ । माओवादी केन्द्रले समानसपातिकतर्फ झन्डै ११ प्रतिशत मत पु¥याएको छ । सुरुवाती चरणभन्दा पछिल्ला विवरणमा माओवादीले स्वतन्त्र पार्टीसँगको समानुपातिक मतान्तर भने घटाइरहेको देखिएको छ ।

समाजवादीलाई ‘थ्रेसहोल्ड’ कटाउने चुनौती

समानुपातिक मतमा नेकपा (एकीकृत समाजवादी) निकै पछि परेको छ । मतगणनाको प्रारम्भिक परिणामले समाजवादीलाई ‘थ्रेसहोल्ड’ कटाउनै मुस्किल हुने देखिएको छ । मतगणनाको सुरुवाती परिणाम हेर्दा समाजवादीलाई राष्ट्रिय पार्टी बन्न चुनौती हुने देखिन्छ । मंगलवार बेलुकासम्म एकीकृत समाजवादीले समानुपातिकतर्फ पाँच हजार ८३ मत मात्रै ल्याएको छ । उक्त पार्टीले प्रत्यक्षमा ६ ठाउँमा अग्रता गर्दा समानुपातिकमा भने निकै न्यून मत प्राप्त गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी २५ हजार मतसहित पाँचौँ स्थानमा छ भने जनता समाजवादी पार्टी आठ हजार एक सय ३४ मत कटाएर छैटौँ स्थानमा देखिएको छ । समानुपातिक मत पाउनेमा सिके राउत नेतृत्वको जनमत पार्टी सातौँ स्थानमा छ । यो पार्टीले सात हजार चार सय ६२ मत प्राप्त गरेको छ । त्यस्तै, समानुपातिकतर्फ क्रमश नेपाल मजदूर किसान पार्टी र नागरिक उन्मुक्ति पार्टीले मत प्राप्त गरेका छन् ।

प्रकाशित मितिः   ७ मंसिर २०७९, बुधबार ०५:०१