पर्यटकीय स्थलको बेहाल

सुर्खेत: वीरेन्द्रनगरको प्रमुख पर्यटकीय स्थल हो, बुलबुले ताल । जिल्लाकै पहिचान र इतिहास जोडिएको यो ताल यतिबेला अस्तित्वकै संकटमा छ । क्षेत्र विस्तार गर्ने योजनाअनुरूप फराकिलो पारिएसँगै बुलबुले ‘पानीविनाको ताल’ भएको छ । विकास र विस्तार गर्दा प्राकृतिक अवस्था तथा भू–बनावटको ख्याल नगरिँदा बुलबुले उद्यानको मुख्य आकर्षण ताल नै नरहने अवस्थामा पुगेको छ ।
केही समय पहिले बुलबुलेमा मेसिन ‐डोजर) को प्रयोग गरेर तालको क्षेत्रफल विस्तार गरिएको थियो । सोहीक्रममा पानी जमिन मुनिबाट छिरेर ताल बाहिर पुग्यो । विस्तारित क्षेत्रमा पानी नरोकिने समस्या आएपछि अहिले ताल कुरूप बनेको छ । विस्तार योजनाले पूर्णता नपाउँदै लामो समयदेखि ताल क्षेत्र अस्तव्यस्त छ । बुलबुले उद्यानको गुरुयोजनाअनुसार विकास र विस्तार गर्ने भनिएको तालको उल्टै बेहाल भएको हो ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारी तालमा पानी जम्मा नहुने समस्या आएपछि आफूहरू निकै चिन्तित बनेको बताउँछन् । उनी भन्छन्, ‘प्राविधिक खटाएर समस्याको पहिचान गर्ने काम भइरहेको छ । जमिनमुनी पानी छिरेकाले त्यसको अवस्था विश्लेषण गरेर मात्रै बाँकी कामहरू अघि बढाइनेछ ।’ यसअघि प्राकृतिक रूपमा बनेको ताल भत्काउँदा पानी नरोकिएको हुनसक्ने उनको आकलन छ । उपत्यका नगर विकास समितिका सदस्य सचिवसमेत रहेका तिवारीले ताल क्षेत्रको सरसफाइलगायत व्यवस्थापनका कामहरू भने भइरहेको जनाए ।
बुलबुले उद्यानमा विभिन्न संरचना निर्माण तथा ताल विस्तार योजनाअन्तर्गत आर्थिक वर्ष २०७६/०७७ बाट विकासका काम थालिएको थियो । उक्त योजना वन तथा वातावरण निर्देशनालयले कार्यान्वयनमा लगेको थियो । निर्देशनालयले सुरुमा ११ हजार वर्गमिटर रहेको ताल क्षेत्रलाई विस्तार गरी २८ हजार वर्गमिटर बनाएको छ । निर्देशनालयका लेखा अधिकृत तिलकप्रसाद सापकोटाका अनुुसार गत वर्षसम्म यो कार्यक्रम निर्देशनालयले हेर्दै आएकोमा यो वर्षदेखि जलाधार व्यवस्थापन कार्यालयको जिम्मा दिइएको छ । बुलबुले उद्यानको सुरक्षा तथा संरक्षणका लागि पक्की पर्खाल निर्माण तथा ताल वरिपरी २० वटा सोलार बत्ती जडान गरिएका छन् । त्यस्तै, दश ठाउँमा पिकनिक स्थल र बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यानहरू निर्माण भएका छन् । तर, पर्यटकको मुख्य रोजाइँमा पर्दै आएको ताल नै व्यवस्थित नहुँदा भ्रमण अवलोकनका लागि आउनेहरू निराश भएर फर्कने गरेका छन् । पहिलाभन्दा तालमा पानीको सतह निकै कम भएकाले पर्यटकीय गतिविधि नै घटेको बुलबुले उद्यानमा कार्यरत चौकीदार हिमराज रेग्मीले बताए । ‘केही महिना अघिदेखि यस्तो समस्या आएको हो’, उनले भने, ‘ताल थुनछेक गरेर पानी रोक्ने प्रयास गरिएपनि अवस्थामा सुधार आएको छैन ।’ उनले ताल विस्तारका क्रममा नै पानी जमिन मुनिबाट छिरेर बाहिर गएको जनाए ।

यस्तै, नेपालकै संरक्षित क्षेत्र काँक्रेविहारको पनि बिजोक छ । ऐतिहासिक तथा पुरातात्विक स्थल घेरबार, आवश्यक संरक्षण र विकास नहुँदा वीरेन्द्रनगरको नजिकको गन्तव्यस्थल भएपनि अव्यवस्थित बन्दै गएको छ । उक्त स्थानसम्म जाने गतिलो सडकसमेत छैन । निर्माणाधीन मंगलगढी–लाटीकोइली सडकखण्ड स्तरोन्नति थालिएको लामो समय भयो । तर, सडक विस्तारको काम बीचमै अलपत्र परेको छ । विगतमा दैनिक रूपमा सयौँको संख्यामा पर्यटकहरू आउने यो स्थलमा पछिल्ला समय सडक पूर्वाधार नभएकै कारण चहलपहल घटेको स्थानीयहरू बताउँछन् । मंगलगढीदेखि काँक्रेविहारसम्मको सडक निर्माणको काम २० प्रतिशतमात्रै सम्पन्न भएको छ । सडक निर्माणको जिम्मा पाएको सिस्ने कन्ट्रक्सन निर्माण सेवाका प्रतिनिधि रणबहादुर शाहीले चाडपर्वका कारण केही समय काम रोकिएको जनाए । ‘दुुई÷चार दिनमा सडक स्तरोन्नतिको काम अघि बढ्छ,’ उनले भने, ‘अब छिट्टै ग्राबेल हाल्ने योजनामा छौँ ।’ निर्माणाधीन धुलाम्मे सडकका कारण पनि यस क्षेत्रमा जानेहरूले वैकल्पिक मार्गको प्रयोग गर्नुपर्ने बाध्यता छ । प्रदेश सरकारको १२ करोड ७७ लाख लगानीमा सडक निर्माण थालिए पनि कामको प्रगति अपेक्षित रूपमा हुन सकेको छैन । सडक पूर्वाधार गतिलो नभएकै कारण काँक्रेविहार आउने पर्यटकहरूले सास्ती खेप्नु परिरहेको वीरेन्द्रनगर–९ का वडा अध्यक्ष ऋषि गिरी बताउँछन् । उनले निर्माण व्यवसायीको लापरबाहीले सडक विस्तारको कामले तीव्रता पाउन नसकेको जनाए । गत आर्थिक वर्षदेखि काँक्रेविहार संरक्षित क्षेत्रको घेरबारका लागि पक्की पर्खाल निर्माणको काम थालिए पनि संरक्षित क्षेत्रको जग्गा विवादका कारण बीचमै रोकिएको छ ।
बुलबुले र काँक्रेविहार वीरेन्द्रनगरका प्रमुख पर्यटकीय गन्तव्य हुन् । यी क्षेत्रको विकासमा भने सरोकारवाला निकायको चासो कमै देखिन्छ । वीरेन्द्रनगर नगरपालिका र कर्णाली प्रदेश सरकारलाई प्रदेश राजधानीमै रहेका पर्यटकीय स्थलको पूर्वाधार विकासमा जोड दिन नसकेको आरोप लाग्दै आएको छ । आवश्यक नीति कार्यक्रम, बजेट र अनुगमन नहुँदा बुलबुले ताल अस्तित्वकै संकटमा छ भने काँक्रेविहारले पूर्वाधारको अभाव झेल्दै आएको छ । तीन वटै तहका सरकारको दीर्घकालीन योजना, संरक्षण तथा प्रवद्र्धनको ठोस नीति नहुँदा पर्यटकीय स्थल लथालिङ्ग बनेको पर्यटन क्षेत्रका जानकारहरू बताउँछन् ।
प्रकाशित मितिः १९ कार्तिक २०७९, शनिबार ०९:०७
रजनी याेगी ।