रेडपाण्डा संरक्षणमा चुनौती

जुम्ला: भदौ अन्तिम साता कर्णाली हातेमालो सेवा समाज जुम्लाका कार्यक्रम अधिकृत विकास भण्डारी तातोपानी–८ को नदै सामुदायिक वनमा रेडपाण्डा (हाब्रे) को बेसलाइन सर्वेक्षणमा निस्किए । जुम्ला सदमुकामदेखि झन्डै ६० किलोमिटरको दूरीमा पुगिन्छ, नदै सामुदायिक वन क्षेत्र । स्थानीयले उक्त वनमा रेडपाण्डा देखिदै आएको बताएपछि पहिलो पटक बेसलाइन सर्वेक्षण तथा अनुसन्धान हुँदै थियो । लामो पैदल यात्रापछि खस्रु र निगालोले झाँगिएको वनमा रेडपाण्डाको खोजी सुरू भयो । पाँच जना स्थानीयको नेतृत्व गर्दै हातेमालो समाजका भण्डारीसहितको टोली जंगल चहार्न थाले । घण्टौंसम्म डुल्दा पनि रेडपाण्डा भेटिएन ।

विश्वमै दुर्लभ बन्दै गएको रेडपाण्डाको अवस्थाबारे जानकारी लिन त्यति सहज थिएन । डुलेर थकित भएका टोलीका सदस्यहरू आराम गरिररहेका बेला भण्डारीले एउटा दृष्य देखे । झट्ट हेर्दा घरपालुवा बिरालोजस्तो । शरिरको माथिल्लो भाग रातो र खैरो तथा भुँडीमा कालो, अनुहारमा सेतो र आँखा छेउछाउमा कालो भएको रेडपाण्डा देखियो । नजिकै गएर नियाल्दा पनि भागेन । निकै लामो समयसम्म रेडपाण्डाले एकोहोरो हेरिरह्यो मात्र । ‘सामान्यतया अन्य जंगली जीव, जनावर मानिसको आवाज सुनेपनि भाग्छन्, तर रेडपाण्डा भाग्दैन । यो जीव अति लजालु हुन्छ,’ भण्डारीले भने, ‘हामीले त्यसको फोटो लियौं, जिउको आवरण पुरै नियाल्यौं ।’ आफूहरू आधा घण्टासम्म रेडपाण्डाको नजिकै बस्दा पनि नभागेको उनले बताए । ‘रेडपाण्डा हेर्न निकै धैर्य गर्नुपर्ने हुन्छ । लजालु हुनाले पनि यसको संरक्षणमा चुनौती छ, यो भाग्दैन,’ भण्डारीले भने ।

चरिचरण क्षेत्र विस्तार, जंगलमा भेडा गोठालाले जथाभावी कुकुर छोड्नु, आहारको विनास हुँदै जानु तथा वनमा आगलागी भइरहँदा रेडपाण्डाको बासस्थान र आहारामा समस्या छ । जसले गर्दा पछिल्लो समय रेडपाण्डा पनि लोप हुँदै गएको विभिन्न अनुसन्धानले देखाएका छन् । त्यस्तै, चोरी शिकारीका कारण पनि यसको संरक्षणमा चुनौती हुने गरेको छ । नदै सामुदायिक वनमा भने घना जंगल र पर्याप्त निगालो हुँदा रेडपाण्डाको लागि अनुकूल देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन् । रेडपाण्डा २२ सयदेखि ४८ सय मिटर उचाइसम्मको क्षेत्रमा बस्छ । यो प्रायः रूखमा बस्ने गर्दछ । एक रुखबाट अर्कोमा उफ्रन र जमिनमा छिटो दौडिन सक्ने जनावर हो रेडपाण्डा ।

डिभिजन वन कार्यालय जुम्लाका वन डिभिजन अधिकृत दिनेश जंग खत्रीकाअनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा कुनै पनि व्यक्तिले नियन्त्रणमा राखेको, मारेको र ओसारपसार गरेको पाइएमा एक देखि १० वर्षसम्म कैद वा एकदेखि पाँच लाखसम्म जरिवाना र दुवै सजायसमेत हुनसक्ने प्रावधान रहेको छ । जुम्लाको पातारासी र सिंजा गाउँपालिकामा रेडपाण्डाको संरक्षणका सवालमा कर्णाली हातेमालो सेवा समाजले काम गर्दै आएको छ । समाजका कार्यकारी निर्देशक टेकवहादुर रावतका अनुसार पातारासी–७ पठमारामा रेडपाण्डाको संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्न स्थानीयले होमस्टेसमेत सञ्चालनमा ल्याएका छन् । रारा ताल जाने उर्थु–भुलभुले सडक खण्डको आडैमा रहेको पठमारामा रेडपाण्डा हेर्न पुग्ने पर्यटकका लागि ६ जना स्थानीयले होमस्टे सञ्चालन गरेका हुन् । ‘रेडपाण्डा हेर्न आउने पर्यटकलाई सहजताका लागि होमस्टे सञ्चालनमा ल्याएका हौं,’ सञ्चालक टेकबहादुर कठायतले भने, ‘हामी पर्यटकलाई स्थानीय अर्गानिक खाना खुवाउँछौं ।’

प्रकाशित मितिः   ११ पुष २०७८, आईतवार ११:०४