समृद्धिका लागि औद्योगिक विकास
कर्णाली प्रदेशमा औद्योगिक विकास हुन सकेको छैन । औद्योगिक विकास नहुँदा प्रदेशको अर्थतन्त्र कमजोर बनेको छ । आत्मनिर्भर हुन सकेको छैन । अर्कोतर्फ रोजगारीका पर्याप्त अवसर सिर्जना हुन सकेका छैनन् । गरिबी व्याप्त छ । औद्योगिक विकास हुन नसक्दा यस्ता यावत समस्याहरू छन्, तर राज्य नै औद्योगिक विकासका लागि गम्भिर भएको देखिदैन । कतिसम्म गैरजिम्मेवार भएको देखिन्छ भने स्थानीय तहहरूमा औद्योगिक ग्राम स्थापनाका लागि बजेट छुट्याउँदासमेत त्यसको कार्यान्वयन हुन सकेको छैन । स्थानीय सरकारले उदासीनता प्रकट गरेका छन् ।
संघीय सरकारले औद्योगिक विकास योजनालाई प्राथमिकतामा राखेको छ । जसअन्तर्गत स्थानीय तहलाई बजेट कार्यान्वयनका लागि पठाउने गरेको छ । यद्यपि स्थानीय सरकारको बेवास्ताका कारण उक्त बजेट खर्च हुन सकेको छैन । संघीय सरकारले भने बर्सेनि बजेट विनियोजन गर्दै आएको छ । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न सरकारले ल्याएको यो अवधारणामा स्थानीय तहहरू उत्साहित नदेखिएका हुन् । पालिकाहरूले लामो समय भइसक्दासमेत औद्योगिक ग्राम निर्माण गर्ने सुरसार थालेका छैनन् । स्थानीय तहकै बेवास्ताका कारण यो परियोजनाको कार्यान्वयन अन्योलमा परेको हो । एक स्थानीय तह एक औद्योगिक ग्राम परियोजना अन्तर्गत आर्थिक वर्ष २०७७/०७८ मा संघीय सरकारबाट बजेट लगेका स्थानीय तहले पनि उद्योग स्थापनाको काम गरेका छैनन् । काम नभएपछि उक्त रकमसमेत फिर्ता नगरेको महालेखा परीक्षकको ५८औं प्रतिवेदनले औंल्याएको छ । परियोजना अन्तर्गत पहिलो चरणमा पूर्वाधार निर्माणमा मन्त्रालयले सहयोग गर्ने र त्यसपछि पालिकाले लगानी गर्दै जानुपर्ने औद्योगिक ग्राम घोषणा तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७५ मा उल्लेख छ । उद्योगको विकासका लागि क्रमागत रूपमा पालिकाहरूले लगानी गर्नुपर्ने भनिएको छ । स्थानीय स्रोतको परिचालन गरी लगानी वृद्धि गर्न सुरू गरिएको यो परियोजनाले ग्रामीण क्षेत्रमा उद्योगहरूको स्थापना, विकास र प्रवद्र्धनमा टेवा पुग्ने सरकारको अपेक्षा छ ।
देशभरका सबै स्थानीय तहमा एक÷एक वटा औद्योगिक क्षेत्र बनाउने सरकारी नीति कर्णालीमा पनि अलपत्र परेको छ । प्रदेशका अधिकांश स्थानीय तहले औद्योगिक ग्राम स्थापनाका लागि कुनै प्रक्रिया सुरू गरेका छैनन् । मुलुकको आर्थिक समृद्धिका लागि औद्योगिक विकास अपरिहार्य छ । औद्योगिक विकास केवल उद्योगको स्थापना र उद्योगमा लगानी गर्नेहरूको आम्दानीको स्रोत मात्र होइन, यसले सिंगो अर्थतन्त्रलाई चलायमान बनाउँछ । अन्यलाई रोजगारीका अवसर सिर्जना गर्दछ । त्यसैले पनि समृद्ध मुलुक निर्माणको लक्ष्य हासिल गर्न स्थानीय तहहरूमा औद्योगिक ग्राम स्थापना अनिवार्य छ ।
प्रकाशित मितिः ११ पुष २०७८, आईतवार ११:०२
सम्पादकीय ।