जिल्ला अधिवेशनमा जुट्यो एमाले

सुर्खेत: नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुर्खेतले यही पुस २३ र २४ मा जिल्ला अधिवेशन गर्ने भएको छ । पार्टीको आगामी जिल्ला नेतृत्व चयनका लागि अधिवेशन गर्न लागिएको हो । अधिवेशनका लागि वडाबाटै प्रतिनिधि छनोट भएर आउने अधिवेशन प्रचार–प्रसार समितिका संयोजक गंगाराम तिमिल्सेनाले बताए । उनका अनुसार जिल्लाका नौ स्थानीय तहका ९९ वटै वडामा पुस १७ गते प्रतिनिधि चयन हुनेछन् ।

प्रतिनिधि छनोट गर्दा ३० जना संगठित सदस्य बराबर एक र दलितबाट २० जना बराबर एक जना प्रतिनिधि चुनिने जनाइएको छ । यसरी चयन गर्दा ३३ प्रतिशत महिला प्रतिनिधि अनिवार्य गरिएको छ । जिल्लाभरबाट झन्डै ६ सय जना प्रतिनिधि छानिने छन् । सुर्खेतमा एमालेका बाह्र हजार पार्टी संगठित सदस्य छन् ।

जिल्ला अधिवेशनले एक सय पाँच जनाको नयाँ कार्यसमिति चयन गर्नेछ । अधिवेशनमा आमसभा गरिने छैन । ‘प्रतिनिधि छनोट गर्दा सकेसम्म सर्वसम्मतको प्रयास हुनेछ,’ अध्यक्ष ध्रुवकुमार शाहीले भने, ‘त्यसो हुन नसके निर्वाचन पनि गर्नुपर्ने अवस्था आउन सक्छ ।’

जिल्ला अधिवेशन सम्पन्न गर्न विभिन्न आठ वटा समिति गठन गरिएको छ । अध्यक्ष शाहीको नेतृत्वमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति, उपाध्यक्ष अमृतबहादुर विसीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, घनश्याम पाण्डेको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति र गंगाराम तिमिल्सेनाको संयोजकत्वमा प्रचार–प्रसार समिति बनाइएको छ ।

त्यस्तै, हल तथा मञ्च व्यवस्थापन समितिमा हरिहरनाथ योगी, खाना तथा खाजा व्यवस्थापन समितिमा पूर्णप्रसाद पौडेल, स्वयम्सेवक परिचालन व्यवस्थापन समितिमा चर्तुभुज शाही र अतिथि सत्कार समिति संयोजकमा सुशिला विक छन् । जिल्ला कमिटी बैठकले सचिवालय सदस्य संख्या पनि थपेको छ । जिल्ला कमिटी सदस्यहरू डम्मर तिवारी, हरिहरनाथ योगी, गंगाराम तिमिल्सेना, पूर्णप्रसाद पौडेल, यज्ञ ढकाल, ऋषि गिरी र खड्क भट्टराईलाई सचिवालय सदस्यको जिम्मेवारी दिइएको छ । त्यस्तै, टीकाराम सोमै, सुशीला विक, बलबहादुर नेपाली, तुलबहादुर सहकारी र जीतबहादुर सिंहलाई पनि सचिवालयमा राखिएको छ ।

प्रकाशित मितिः   ११ पुष २०७८, आईतवार ११:०६