‘क्लीन सुर्खेत’ अभियान सुरु

साझा बिसौनी संवाददाता
सुर्खेत, २६ साउन ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई सुन्दर बनाउन सरसफाइ अभियान सुरु गरिएको छ । वीरेन्द्रनगरलाई स्वच्छ, सफा र हरियाली सहरको रूपमा विकास गर्न विंग्स फाउण्डेशन सुर्खेतले शनिवारदेखि ‘क्लीन सुर्खेत, ग्रीन सुर्खेत’ अभियानको सुरुवात गरेको हो ।
वीरेन्द्रनगर-६ को बुद्धपथलाइन र लक्ष्मीहल लाइनमा सरसफाइ गर्नुका साथै स्थानीय नागरिकलाई सरसफाइका बारेमा सचेत गराएर अभियानको सुरुवात गरिएको हो । उक्त अभियानका क्रममा नागरिकलाई आफ्नो घर वा पसल अघि फोहोर संकलनका लागि डस्टविन राख्न समेत आग्रह गरिएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई स्वच्छ, सफा र हरियाली सहरको रूपमा विकास गर्नका लागि उक्त अभियानको थालनी गरिएको विंग्स फाउण्डेशनका अध्यक्ष डा.नवराज केसीले जानकारी दिए । अभियन्ता डाक्टर केसीले उक्त अभियानले बाटो घाटोको फोहोर उठाउने मात्र नभइ मान्छेहरूको फोहोरी मानसिकतालाई पनि सफा गर्ने दाबी गरे । अभियानले विभिन्न विद्यालयका विद्यार्थीहरूको क्लीन क्लब स्थापना गर्ने र उक्त क्लबको माध्यमबाट मान्छेहरूको फोहोरी बानी बेहोरालाई समेत हटाउने बताए ।
बालरोग विशेषज्ञसमेत रहेका डाक्टर केसीले वर्षायाम सुरु भएसँगै मौसमी रोगहरू बढेको र त्यसको प्रमुख कारण घर वरपरको फोहोर नै भएको भन्दै सरसफाइमा ध्यान दिनुपर्ने बताए । फोहोरसँग बालबालिकाको प्रत्यक्ष सरोकार भएकाले नै सरसफाइलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष मोतिप्रसाद कँडेलले क्लिन सुर्खेत, ग्रीन सुर्खेत अभियान उत्कृष्ट भएको भन्दै वडा नम्बर ६ ले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष कँडेलले प्रत्येक हप्ताको शनिवार फरक–फरक ठाउँमा अभियान सञ्चालन हुने भएकाले अभियानलाई साथ दिन आम नगरबासीलाई आग्रह समेत गरे ।
अर्का अभियान्ता भद्र भण्डारीले वीरेन्द्रनगरमा बढ्दो सहरीकरणसँगै फोहोरमैला पनि बढ्दै गएकाले स्वच्छ, सफा र हरियाली वीरेन्द्रनगर निर्माणका लागि प्रत्येक व्यक्तिले आफ्नो फोहोरको जिम्मा आफैले लिनुपर्नेमा जोड दिए । उनले फोहोर व्यवस्थापनका लागि मुख्यतयाः सफा सोच निर्माण गर्नुपर्ने बताए । उक्त अभियानमा वीरेन्द्रनगर वडा नम्बर ६, वीरेन्द्रनगर जुनियर जेसीज वर्ष २०१८, उषा बालबाटिका माध्यमिक विद्यालय, शान्तिनगर टोलविकास संस्था, सुर्खेत महिला जेसीज, फ्यूचर नेपाल, क्यान सुर्खेत, विभिन्न लियो तथा लायन्स क्लब लगायत जिल्लास्थित क्रियाशील एक दर्जन भन्दा बढी संस्थाहरूको सहभागिता रहेको थियो ।

 

प्रकाशित मितिः   २७ श्रावण २०७५, आईतवार १२:४६