सम्पर्कविहीन चिकित्सकलाई कारबाही सिफारिस

साझा बिसौनी संवाददाता
जाजरकोट, २६ साउन ।
अग्रिम हाजिर गरेर बेपत्ता हुने चिकित्सकलाई कारबाहीका लागि सिफारिस गरिएको छ । जाजरकोट जिल्ला अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. पूर्णिमा राईले साउनभरीको हाजिर गरेर जिल्ला छाडेकी छन् ।
उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट विशेषज्ञ सेवा दिन जेठदेखि काजमा खटिएकी हुन् । विशेषज्ञ सेवा दिनुको साटो महिनाभरीको अगाडि नै हाजिर गरेर उनले जिल्ला छाडेपछि प्रसूति लगायत स्त्रीरोग सम्बन्धी विशेषज्ञ सेवा ठप्प भएको छ । एक साताअघि जिल्ला छाडेकी डा. राईले साउनसम्मको हाजिर गरेकी छन् । जाजरकोट अस्पतालमै विशेषज्ञ सेवा दिने उद्देश्यले उनलाई प्रतिष्ठानले करारमा लिएर पठाए पनि अस्पताल प्रशासनको चरम लापरबाहीले सेवा नियमित हुन नसकेको स्थानीयको गुनासो छ । ५० शैयाको जाजरकोट अस्पतालमा नौ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि उनीबाहेक हालसम्म एक जना पनि विशेषज्ञ चिकित्सक आएका छैनन् । आएका पनि अगाडि नै हाजिर गरेर आफूखुशी हिँडेपछि सेवा ठप्प भएको हो । सामान्य अवस्थाका प्रसूतिसमेत नहुने यो अस्पतालले बिरामीलाई रिफर मात्र गर्ने गरेको स्थानीय युद्धजित शर्माले बताए ।
अस्पतालका निमित्त प्रमुख केशरजंग कार्कीले भने, ‘गत शनिबार बेखर्ची भएँ भनेर उहाँ नेपालगन्ज चेक सटाउनु छ भनेर जानुभएको हो । केही दिनमै आइहाल्छु भन्नुभएको छ । थाहा नपाएर अगाडि नै हाजिर गर्नुभयो होला । त्यसरी काम नगरेको अवधिको हाजिर गर्न मिल्दैन ।’ महिना बित्नु अगावै हाजिर गरेर बेपत्ता भएपछि उनलाई स्थानीय प्रशासनले कारबाहीका लागि सिफारिस गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाको नेतृत्वमा उक्त अस्पतालमा गरेको छड्ने अनुगमनमा अस्पताल प्रमुखलाई जानकारी नै नदिइ हाजिर कापीमा साउनभरिको हाजिर जनाइ उनी नेपालगन्ज गएको पाइएको छ । उनलाई स्वास्थ्य सेवा ऐन अनुसार कारबाहीका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेतस्थित स्वास्थ्य सेवा निर्देशनालय र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय लगायतमा लिखित पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले बताए ।
उनले जिल्ला छाडेपछि प्रसूति लगायत स्त्रीरोग सम्बन्धी विशेषज्ञ सेवा ठप्प छ । दुई वर्षअघि नै १५ शैयाबाट ५० शैयामा स्तरोन्नति गरिएको उक्त अस्पतालमा नौ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि हालसम्म विशेषज्ञ सेवा सुरु हुन सकेको छैन ।

प्रकाशित मितिः   २७ श्रावण २०७५, आईतवार १२:४४