नगरका सबै वडामा प्रहरीबिट
साझा बिसौनी संवाददाता
सुर्खेत, २६ साउन ।
जिल्लाको भेरीगंगा नगरपालिकाका सबै वडामा प्रहरीबिट राखिने भएको छ । इलाका प्रहरी कार्यालय छिञ्चुले चालु आर्थिक वर्षमा नगरका सबै वडाहरूमा प्रहरी खटाउने भएको हो ।
स्थानीय नागरिकलाई सुरक्षित भएको महसुस गराउने गरि प्रहरी टोली परिचालन गरिने योजना ईलाका प्रहरी कार्यालय छिञ्चुको छ । जस अन्तर्गत प्रहरीको पहुँच नपुगेको भेरीगंगा नगरपालिकाको १,२ र ३ वडामा तीन महिनाभित्रै प्रहरीबिट निर्माण गरिने भएको छ । सुरक्षाको प्रत्याभूति गराउन प्रहरी नपुगेका वडाहरूमा बिट निर्माण गरिने ईलाका प्रहरी कार्यालय छिञ्चुका प्रहरी निरीक्षक मधुसुधन न्यौपानेले बताए । प्रहरीबिटमार्फत् समुदायका सुरक्षा अवस्था, चुनौती र समाधानका लागि आवश्यक रणनीति बनाएर सुरक्षा प्रदान गरिने उनले बताए ।
वडामा प्रहरीबिट स्थापना भएसँगै घरेलु हिंसा, लागू औषध, बलात्कार जस्ता घटनाहरूमा निगरानी बढाउन सहज हुने विश्वास लिइएको छ । प्रहरीले सहर क्षेत्रमा मात्रै गस्ती गर्ने र दुर्गम ठाउँहरूमा असुरक्षा बढ्ने वर्तमान समस्या समाधानका लागि पनि वडा तहमा प्रहरी परिचालन हुने भएका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी श्यामसिंह चौधरीले प्रहरीले अपराधिक गतिविधि रोक्नमा कुनै कसर बाँकी नराख्ने बताए । उनले सामाजिक अपराध नियन्त्रणका लागि प्रहरीले विशेष अभियान नै थालेको बताए । उनले नागरिकलाई सुरक्षा दिनु सरकारको दायित्व भएकाले प्रहरील वडामा बस्ने बताए ।
साझा बिसौनी ।