‘सहिदका सपना अधुरा राख्दैनौं’

साझा बिसौनी संवाददाता
सुर्खेत, २५ साउन ।
कर्णाली प्रदेश प्राप्तीका लागि भएको आन्दोलनमा सहिद भएकाहरूको उच्च सम्मान गर्ने प्रदेश सरकारले प्रतिबद्धता जनाएको छ । सहिदका परिवार र आफन्तले तीन वर्षसम्म पनि सरकारबाट सहिदको सम्मान हुन नसकेको र रगतको अबमूल्यन गरिएको गुनासो गर्दै आएका थिए । सहिदको स्मृतिमा शुक्रवार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा प्रदेश सरकारले सहिदको सम्मान हुने गरी काम गर्ने प्रतिबद्धता जनाएको हो ।
तीन वर्षअघि प्रदेशको सीमांकनका क्रममा यस क्षेत्रका जिल्लाहरू सुदूरपश्चिमा गाभिएको विरोधमा भएको आन्दोलनमा चार जनाको मृत्यु भएको थियो । आन्दोलनकै क्रममा २०७२ साउन २५ गते सुर्खेतका टीकाराम गौतम, यामबहादुर बिसी, गोपालसिं रजवार र जुम्लामा हरिबहादुर कुँवरको मृत्यु भएको थियो । त्यही आन्दोलनको बलमा कर्णाली प्रदेश स्थापना भएको भए पनि आफूहरूको बेवास्ता गरिएको र सहिदलाई ओझेलमा पारिएको सहिद परिवारले गुनासो गर्दै आएका थिए ।


सहिदको स्मृतिमा आयोजित कार्यक्रममा प्रदेश सरकारले अब सहिदका परिवारले हिनताबोध गर्नु नपर्ने बताएको हो । प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले सहिद परिवारले हिनताबोध गर्नु नपर्ने गरी अब सरकारले काम गर्ने बताइन् । ‘सहिदको सम्मान भएन भनेर अब सहिद परिवारले हिनताबोध गर्नुपर्नेछैन’ उनले भनिन्, ‘राजनीतिक नेतृत्वले गरेको प्रतिबद्धता अब प्रदेश सरकारले नै पूरा गर्नेछ ।’ प्रदेश आन्दोलनको समयमा शहादत प्राप्त गरेका सहिदहरूको नाममा पार्कको स्थापना र शालिक निर्माण गर्नका लागि प्रदेश सरकारले बजेटसमेत विनियोजन गरिसकेको प्रदेश सरकारका प्रवक्तासमेत रहेकी मन्त्री केसीले जानकारी दिइन् ।
कर्णाालीको गरिबी घटाउन, रोजगारीको सिर्जना गर्ने र सहिद परिवारसँग आन्दोलनको समयमा भएका प्रातिबद्धताहरू कार्यान्वयन गर्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने उनले बताइन् । आन्दोलनका क्रममा मृत्यु भएका सहिदहरूको सपना साकार पार्न सरकार मात्रै नभइ अब सबैले हातेमालो गर्नुपर्ने उनको भनाइ छ । यस्तै कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले सहिदका सपना पुरा गर्ने दायित्व प्रदेश सरकारको भएको बताए । उनले सहिद र जनताका सपना पुरा गर्न आफूहरू लागि परेको जनाए । कर्णाली प्रदेशमा महिला, दलीत र जनजाती लगाएत थुप्रैका समस्या भएको उल्लेख गर्दै सभामुख शाहीले ती सबै समस्याको समाधान गरेर अब सहिदको सपना साकार पार्ने अभियानमा जुट्ने बताए ।
याम बिसी स्मृति प्रतिष्ठानका सचिव भगवती बिसीले चार जना शहिदको परिवारले शोकलाई शक्तिमा बदलेर सहिदको
सपनालाई साकार पार्नका लागि लाग्ने बताइन् । उनले आन्दोलनसँगै विभिन्न राजनीतिक दल र नागरिक समाजले सहिद परिवारसँग गरेका सम्झौताहरू कार्यान्वयन हुन नसकेको भन्दै दुःख व्यक्त गरिन् । ‘राजनीतिक दलले गरेको प्रतिबद्धता कहिले पूरा हुन्छन् ?’ उनले प्रश्न गर्दै भनिन्, ‘जसको रगतबाट पोतिएको कर्णाली प्रदेशमा पद, शक्ति र सत्तामा पुगेपछि कोही कसैले केही गर्न खोजेको जस्तो देखिएको छैन ।’ निर्विवाद रूपमा कर्णाली नामाकरण गर्ने, सुर्खेतलाई राजधानीको रूपमा स्थापित गर्ने अन्य प्रदेशको दाँजोमा एक कदम अगाडि भएको कर्णाली प्रदेश सरकारले सहिदको नाममा चोकको नामाकरण समेत गर्न नसक्नु दुःखद् भएको उनको भनाइ छ । ‘खै सहिद पार्कको निर्माण कार्य सुरु गरेको ? खै सहिदका शालिकहरूको निर्माण कार्यलाई अगाडि बढाएको ?’ उनले भनिन्, ‘त्यतिबेला गरिएका बाचाहरू अक्षरस कार्यान्वय नहुँदा सहिदको सपना साकार हुँदैनन् की भन्ने चिन्ता छ ।’
यस्तै नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले कर्णाली प्रदेश आन्दोलनको समयको स्मरण गर्दै सहिदले देखेको सपना पूरा गर्नका लागि सरकार, नागरिक समाज र सहिद परिवार सबैले लक्ष्य र उद्देश्यका साथ अगाडि बढ्नुपर्ने बताए । यसैबीच वीरेन्द्रनगर नगरपालिकाको ६ नम्बर वडा कार्यालयको आयोजनामा सहिदको सम्झनामा दीप प्रज्वलन गरिएको छ । सो अवसरमा प्रदेश प्राप्तीको आन्दोलनमा सहादत प्राप्त गरेका सहिदका सपना पूरा गर्नेबेला भएको नगरपालिका उपप्रमुख मोहनमाया भण्डारीले बताइन् । उनले सहिदका सपना पूरा गर्न स्थानीय सरकारले विशेष पहल गरेको बताइन् । कार्यक्रममा राजनीतिक दल, विभिन्न वडाका वडाअध्यक्ष, टोलविकास संस्थाका प्रतिनिधि, वडास्थित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू र समाजसेवीहरूको उपस्थिति थियो ।

प्रकाशित मितिः   २६ श्रावण २०७५, शनिबार १६:१३