प्रशासनिक विधेयक पारित

साझा बिसौनी संवाददाता
सुर्खेत, २५ साउन ।
कर्णाली प्रदेशको प्रशासकीय कार्यविधि नियमित गर्न बनेको विधेयक–२०७५ प्रदेशसभाबाट पारित भएको छ । कर्णाली प्रदेश सरकारले सभामा पेश गरेको विधेयक शुक्रवार पारित भएको हो ।
विधेयक पारित भएसँगै कर्णाली प्रदेशमा आयोग, प्रतिष्ठान, विकास समितिहरू बनाउन बाटो खुलेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले संसदमा पेश गरेको विधेयक दफावार छलफल पछि पारित गरिएको हो । विधेयक पास भएसँगै प्रदेश प्रमुखले प्रमाणीकरण गर्नेछन् । प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि मात्रै उक्त विधेयक कानुनको रूपमा लागू हुनेछ ।
यस्तै, शुक्रवारको प्रदेशसभा बैठकबाट सहकारी सम्बन्धी विधेयक–२०७५ संसदीय समितिमा पठाइएको छ । सीता नेपाली, वीरबहादुर शाही, गोपाल शर्मा लगायतका केही प्रदेशसभा सदस्यहरूले विधेयक संशोधनका लागि प्रस्ताव दर्ता गराएसँगै थप छलफलका लागि समितिमा पठाइएको हो ।
सहकारी सम्बन्धी विधेयक संशोधनका लागि सामाजिक समितिमा पठाइएको कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले बताए । उनका अनुसार आगामी कर्णाली प्रदेश सभा बैठक सूचना टाँस नभएसम्मका लागि स्थगित गरिएको छ ।

प्रकाशित मितिः   २६ श्रावण २०७५, शनिबार १६:०८