सहृदयी पदमः समाजसेवा गर्ने लक्ष्य

भगवतीमाई गाउँपालिका–३ मेहेलतोली दैलेखका पदमबहादुर खड्का घरका जेठा छोरा हुन् । बुबा जयबहादुर खड्का र आमा जगत खड्काको कोखबाट २०५२ साल भदौ १० गते जन्मिएका उनी असहाय बालबालिकाको साहारा बन्दै आएका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्याय मानविकी तथा सामाजिक शास्त्र संकायमा स्नातकोत्तर तह दोस्रो सेमेष्टारमा पढ्दै गरेका पद्मले प्रविणता प्रमाणपत्र तह भने दैलेखबाटै गरेका हुन् । भविष्यमा समाज सेवाको लक्ष्य राखेका पदम खड्काले आफ्नो कलेज लाइफको कथा साझा बिसौनी सहकर्मी सीता वलीसँग यसरी सुनाएः

मामाको चाहनाले सिएमए पढेँ
मैले वि.सं. २०६६ सालमा ज्वाला उच्च माध्यमिक विद्यालय दैलेखबाट एसएलसी पास गरेको हुँ । मेरो सानैदेखिको सपना ओभरसियर पढ्ने थियो । मलाई ओभरसियर पढाउने सपना मेरो बुबाले पनि देख्नुभएको थियो । तर मेरो मामाको सपना मलाई स्वास्थ्य क्षेत्रमा ल्याउने थियो, त्यसैले मैले सीएमए पढें ।
मेरो आफ्नो चाहना र बुबाको सपनालाई मेरो मामाको सपनाले जित्यो । मैले सुर्खेत प्राविधिक शिक्षालयमा सीएमए पढ्दा–पढ्दै ज्वाला उच्च माध्यमिक विद्यालयमा प्रविणता प्रमाणपत्र तह पनि पढें । सीएमएको नियमित कक्षा लिए पनि प्रविणता प्रमाणपत्र तह भने परीक्षा मात्रै दिएर उत्तीर्ण गरेको हुँ ।
बुबा समाजसेवामा बढी रुची देखाउनुहुन्छ र आमा शिक्षिका हुनुहुन्छ । पेशाको रूपमा कृषि मेरो परिवारको पेसा हो । मेरो बाल्यकाल त्यति रमाइलो सँग बित्न पाएन । किनकी हामी केही संघर्ष गरेर अगाडि बढेका हौं ।
कलेजमा पहिलो दिन
मेरो कलेजको पहिलो दिन अलमलमै बित्यो । दैलेखको एकदमै विकट गाउँमा मध्यम परिवारमा जन्मिएको मान्छे । पढ्नको लागि सुर्खेतमा झरें । पहिलो दिन कलेज जाँदा अलमलमा थिएँ । नयाँ परिवेशमा अलमल हुनु स्वभाविक पनि हो । पहिल्यै चिनेका कोही थिएनन्, नयाँसँग परिचय भएन । पहिलो दिन साथीहरू बनाउन पनि सकिनँ । तर म भित्र–भित्रै खुशी पनि थिएँ । किनकी सुनौलो भविष्य कोर्नको लागि घर छोडेर आएको थिएँ । जीवनमा केही गर्न सकिन्छ भन्ने आशा मनमा पलाएको थियो । कलेजबाट फर्किसकेपछि भने म एकदमै खुशी भएँ । कलेजको पढाइ र विद्यालयको पढाइमा धेरै भिन्नता पाइयो तर प्राविधिक शिक्षामा भने त्यति फरक छैन । किनकी प्राविधिक शिक्षामा व्यक्तिले धेरै लगानी गरेको हुन्छ । त्यसैले पनि अभिभावको लगानीलाई विद्यार्थीले डुबाउन चाहँदैनन् । शिक्षकले पनि विद्यार्थीलाई निगरानी गर्दछ । तर ‘प्लसटु’ मा भने विद्यार्थीलाई त्यति ध्यान दिँदैनन् । कलेजबाहेक मैले घरमा पाँच÷सात घण्टा पढ्ने गर्दछु ।
पढाइ नै पहिलो प्राथमिकता
मलाई जीवनमा पढ्नै नपरे जस्तो कहिल्यै लागेन । किनकी मेरो आफू शिक्षित भएर समाज परिवर्तन गर्ने लक्ष्य छ । त्यसैले मैले पढाइलाई जहिले पनि महŒव दिएँ । म कहिल्यै पनि फिल्म हेर्न गएको छैन । घरमा पनि फिल्ममा मेरो ध्यान गएन । बरु मैले पत्रपत्रिका पढ्ने, रेडियो, टेलिभिजनमा सामाजिक घटनाहरू हेर्ने गर्दछु । मलाई कलेजको सबैभन्दा नरमाइलो लाग्ने पक्ष भनेको पढाइमा बाध्यता हुँदैन । शिक्षकले कहिल्यै पनि विद्यार्थीलाई पढ्नलाई उत्प्रेरित गर्दैन तर विद्यालयमा शिक्षकको प्रत्यक्ष निगरानी हुन्छ । कलेजको राम्रा पक्षहरू धेरै छन् । आफैले रोजेको विषय अध्ययन गर्न पाइन्छ ।
प्रेम विना जीवनको के अर्थ ?
प्रेम विना जीवनको अर्थ छ जस्तो मलाई लाग्दैन । केटा र केटी बीचको प्रेम आफ्नो ठाउँमा छ । तर हरेक मानवबीचको प्रेम अति आवश्यक छ । प्रेम नहुँदो हो त मानव–मानव बीचमा द्वन्द्व भइरहन्थ्यो । मैले पनि कसैलाई प्रेम गर्छु तर त्यो प्रेम समाजमा दुःख पाएका र असायहरूप्रतिको हो । म आफू बेरोजगार छु र विद्यार्थी पनि हुँ । तर मलाई समाजमा दुःख पाएकाहरू देख्दा निन्द्रा लाग्दैन । त्यो स्थानीय सरकार र प्रदेश सरकारले देखेको छ या छैन । तर मैले आफ्नो खाजा खर्च कटाएर र केही साथीहरूको सहयोगमा दैलेखको भगवतीमाई गाउँपालिका ३ दैलेखका १५ जना बालबालीकालाई एक वर्षसम्म पुग्ने शैक्षिक सामग्री र खाद्यन्न र लत्ताकपडा वितरण गरें । त्यसमा मलाई केही साथीहरूले सहयोग गर्नुभयो । तर स्थानीय सरकारका केही उच्च पदस्थ व्यक्तिहरूले मलाई सहयोग गर्नुभएन । त्यसमा मलाई कुनै गुनासो छैन तर उहाँहरूको यस्ता गरीब बालबालिकाहरूप्रति ध्यान जाओस् र १८ वर्षसम्म आधारभूत आवश्यकताको ग्यारेण्टी गरोस् ।
म असहाय बालबालिकाहरूका लागि अझै केही गर्न चाहन्छु । मैले त्यस्ता असहाय बालबालिकाहरूको तथ्यांक संकलन गर्दैछु । अन्तमा मेरो भविष्यको लक्ष्य भनेको समाज सेवा हो । त्यसमा पनि आर्थिक अभावका कारण पढ्नबाट वञ्चित बालबालिकाका क्षेत्रमा काम गर्नेछु ।

प्रकाशित मितिः   २६ श्रावण २०७५, शनिबार १६:०२