के गर्यो सिनेटले ?

mu ko naya officeसुर्खेत, २६ जेठ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको पाँचौ विश्वविद्यालय सभा (सिनेट)ले विभिन्न १० वटा प्रस्ताव पारित गरेको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति एवम् शिक्षामन्त्री गिरीराजमणि पोख्रेलसहितको उपस्थितिमा भएको सिनेटले ती प्रस्तावहरू पारित गरेको हो । सिनेटले आगामी आर्थिक वर्षका लागि एक अर्ब ६ करोड बराबरको अनुमानित बजेट प्रस्ताव गरेको छ । यस्तै तीन सय सात जना शिक्षक तथा कर्मचारीको दरबन्दी थप गर्ने प्रस्ताव पनि पारित गरिएको विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए । उनका अनुसार दुई सय नौ जना शिक्षक र ९८ जना कर्मचारीका लागि दरबन्दी थप गर्ने प्रस्ताव पारित गरिएको हो । सिनेटले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको पहिलो पटक मानार्थ विद्यावारिधिको उपाधि साहित्यकार झमककुमारी घिमिरेलाई प्रदान गर्ने निर्णय पनि गरेको छ ।
सभाले विश्वविद्यालयमा रहेका आङ्गिक स्कुलहरूको नाम परिवर्तन गदै क्याम्पस राख्ने, शिक्षा विज्ञान सङ्कायको नाम परिवर्तन गदै शिक्षाशास्त्र सङ्काय राख्ने र थप सात वटा क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउने प्रस्ताव पनि पारित गरेको छ । जसमा द्रोणाञ्चल शिक्षा क्याम्पस दैलेख, मानसरोवर बहुमुखी क्याम्पस हुम्ला, सल्यान बहुमुखी क्याम्पस सल्यान, रास्कोट बहुमुखी क्याम्पस कालिकोट, डोल्पा बहुमुखी क्याम्पस, देउखुरी बहुमुखी क्याम्पस दाङ र राप्ती बहुमुखी क्याम्पस तुलसीपुर दाङलाई आङ्गिक क्याम्पस बनाउने प्रस्ताव पारित गरेको हो । यसअघि सरकारले १० वटा
आङ्गिक क्याम्पसलाई स्वीकृत दिइसकेको छ । विश्वविद्यालयमा पुनरावेदन आयोगको गठन गर्ने निर्णय पनि गरिएको छ । वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धरको संयोजकत्वमा ध्रुवकुमार श्रेष्ठ र विद्याभूषण मानन्धर सदस्य रहेको आयोग गठन गरिएको हो ।
यस्तै विभिन्न नियमावली संशोधन सम्बन्धी परेका प्रस्तावहरूमाथि छलफल गरी तीन दिनभित्र सहकुलपति एवम् शिक्षामन्त्रीलाई पेश गर्न उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । बीबीए र एमबीए तहमा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई सुर्खेत चेम्बर अफ कमर्स एण्ड इण्डट्रिज अवार्ड, सम्पूर्ण सङ्काय मध्ये सर्वोत्कृष्ट एक जना विद्यार्थीलाई कुलपति पदक र प्रत्येक सङ्कायमा सर्वोत्कृष्ट हुने एक÷एक जना विद्यार्थीहरूलाई उपकुलपति पदक प्रदान गर्ने प्रस्ताव समेत पाँचौं सभाले पारित गरेको छ ।

प्रकाशित मितिः   २६ जेष्ठ २०७३, बुधबार ०५:१२