गायन र मोडलिङमा स्थापित हुँदै मिथुन

जगतदल जनाला बिक
सुर्खेत, २५ साउन ।
सुर्खेतको पश्चिम लगाममा जन्मिएका मिथुन दर्नाली अहिले गायन र मोडलिङ क्षेत्रमा स्थापित हुँदै गएका छन् । सानै उमेरमा गायन क्षेत्रमा रुचि भएका मिथुनलाई आर्थिक अभावले निकै नै संघर्ष गर्नुपर्‍यो । विशेष गरी टिपिकल लोक र ¥याप गीतमा रुचि राख्ने दर्नाली पारिवारिक समस्याका कारण लामो समयसम्म भारतमा बस्नुपर्‍यो ।


वि.सं. २०७२ सालमा ‘छैन मेरो काचको महल’ भन्ने टिपिकल लोक गीतबाट सांगीतिक यात्रा सुरु गरेका उनी आफ्नो लक्ष्य प्राप्तीका लागि २०७४ साल देखि काठमाण्डौं बस्दै आएका छन् । राजधानीको बसाइँ उनका लागि त्यति सहज थिएन । नयाँ ठाउँ, महँगी, आर्थिक अभावका बाबजुद पनि उनले संघर्ष गर्न छोडेनन् ।
मोडलिङ र गायन क्षेत्रमा अहोरात्र खटिरहने गायक दर्नालीले पछिल्लो समयमा आफ्नै मस्टो म्युजिक प्रा.लि. समेत सञ्चालनमा ल्याएका छन । अहिले उनी सांगीतिक क्षेत्रमा आउनलाई पारिवारिक साथसँगै दर्शक स्रोताको अपार माया पाउन सफल भएका छन् ।
उनका सांगीतिक कोसेली ‘सुदूर पश्चिम..’, ‘सुन्तला केरा…’, ‘रातो भाले’, ‘चन्द्रागिरीमा…’, ‘साउदी कतार… जस्ता एक दर्जन बढी गीतमा शब्द, लय, स्वर र अभिनय गरिसकेका छन् ।
नेपाली सांगीतिक क्षेत्रको अवस्था खस्किदो क्रममा रहे पनि आफू निरन्तर यस क्षेत्रलाई गुणस्तरीय बनाउनको लागिपर्ने उनको भनाइ रहेको छ । पछिल्लो समय तीजमा गीतहरू आधुनिक शैलीबाट आउने गरेका छन । पुरानो समयको जस्तै मादल, चाँपमा गीत गाएर नाँच्ने चलन हराइसकेको छ । अहिले पाँच वर्षका बालकदेखि ६० वर्षका वृद्धसम्म डिजेमा भिजेका बेला मिथुनको को हालै मात्रै बजारमा नयाँ तीज गीत ‘डिजे वाला डिजे बजाइ दे’ आएको छ । यस गीतमा गायक मिथुन दर्नालीसँगै सिर्जु अधिकारीको स्वर रहेको छ भने दर्नालीकै शब्दमा कृष्ण बिसीको संगित रहेको छ । जसका म्युजिक भिडियोमा चर्चित गायक तथा मोडेल चक्र बम र करिश्मा ढकालको नृत्यलाई देख्न सकिन्छ ।

प्रकाशित मितिः   २६ श्रावण २०७५, शनिबार १५:५६