ठडिंदै पक्की पुल, जोडिंदै सम्बन्ध

साझा बिसौनी संवाददाता
सुर्खेत, २३ साउन ।
चार वर्षअघि साउनमा उर्लंदो भेरीले झोलुंगे पुल बगायो । पुल मात्र बगेन, पश्चिम सुर्खेतको पञ्चपुरीस्थित तातापानीमा भेरी किनारामा रहेको बस्ती नै बाढीमा बग्यो । दर्जनौं व्यक्तिको मृत्यु भयो, ठूलो संख्यामा परिवारहरू घरबारविहीन भए । नदी वारपार गर्ने एकमात्र पुल बगेपछि आफन्तहरू छुट्टिए, छिमेकीहरू पनि टाढा भए । स्थानीयलाई नदी वारपार गर्न निकै समस्या भयो ।
सहज रूपमा वारपार गर्न नपाएपछि स्थानीयले ज्यान नै जोखिममा राखेर डुङ्गामार्फत नदी तर्दै आएका थिए । तर बावियाचौरको तिखाकुना र तातापानीलाई जोड्ने जामुस्थित भेरी नदीमा चार वर्षपछि पक्की पुल ठडिएको छ । बाढीका कारण आफन्त र घरबास गुमाएका स्थानीयले लामो समयपछि बल्लतल्ल जामुमा पक्की पुल पाएका हुन् । अहिले जामुमा पक्की पुल निर्माणको काम धमाधम चलिरहेको छ । अबको एक महिनाभित्रमा सञ्चालनमा ल्याउने तयारी भइरहेको यो पुल निर्माण भएसँगै स्थानीयमा खुशीयाली छाएको हो ।
विगतमा नदीमा पुल नहुँदा आपसमा टाढिएका स्थानीय बासिन्दाबीचको सम्बन्ध र आउजाउ पनि विस्तारै बाक्लिन थालेको छ । सवारी साधनका लागि खुला नभए पनि यो पुलमा अहिले मानिसहरू सहज रूपमा आवतजावत गरिरहेका छन् । डुङ्गाको जोखिमपूर्ण यात्रामा नदी तर्दै आएका र डुङ्गा नचल्दा वारपार गर्न नपाएका स्थानीयले हिजोआज यही पुलबाट निर्धक्क वारपार गर्न पाएका छन् । यसले नदीको वारीपारीका बस्तीलाई आपसमा जोडेको छ भने, पुल भत्किएपछि नदीको वारी र पारी रहेका आफन्तहरू पनि भेटघाट गर्न थालेका छन् । भेरीमा पक्की पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । योसँगै बाढीको विनाशपछि चार वर्षसम्म नदीको दुई किनारमा सीमित भएको स्थानीयको सम्बन्ध पनि पुनः जोडिएको हो ।
‘चाहेको बेला आफन्तलाई भेट्न पाएका थिएनौं, नदीमा डुङ्गा नचल्दा एउटै परिवारका सदस्यहरू पनि छुट्टिएर बस्नुपर्ने बाध्यता थियो’ तातापानीका उपेन्द्र नेपालीले भने, ‘बाढीले पुल बगाएपछि हामी आफन्त र छिमेकीसँग टाढिएका थियौं, चार वर्षसम्म हामीले पाउनु दुःख
पायौं । अहिले त पक्की पुल बनेको छ, सजिलै नदीमा वारपार गरेर आफन्तलाई भेट्न पाएका छौं ।’ बाढीका कारण विस्थापित भएपछि तातापानीका अधिकांश परिवार बावियाचौरस्थित सामुदायिक वनमा अस्थायी रूपमा बस्दै आएका छन् । जन्मेको थाकथलो छोडेर जंगलमा बस्दै आएका बाढीपीडितहरू पुल बनेपछि सबैभन्दा बढी खुशी भएका छन् । पुलबाट सजिलै वारपार गर्न पाएपछि उनीहरूले आफ्ना आफन्तलाई भेट्न थालेका छन् । जसका कारण उनीहरूबीचको सम्बन्ध पनि बाक्लिदै गइरहेको छ ।
अहिले जामुस्थित भेरी नदीमा तीन सय ५० मिटर लामो पक्की पुल निर्माणको ९० प्रतिशत काम सकिएको छ । पुल निर्माण भएसँगै त्यसक्षेत्रका बासिन्दालाई नगरपालिकाको कार्यालय र सदरमुकामसम्म पुग्न पनि सहज भएको हो । अहिले पुलको काम अन्तिम चरणमा पुगेको र आगामी भदौ महिनादेखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । २०७२ साल माघदेखि पुल निर्माणको काम सुरु भएको थियो । अनक—लुम्बिनी—हिम्दुङ जेभी कन्स्ट्रक्सनले निर्माण जिम्मा लिएको यो पुलको ९० प्रतिशत काम सकिएको कम्पनीका प्रतिनिधि ओभरसियर विनोद पाण्डेले जानकारी दिए । उनका अनुसार बाँकी काम पनि सकेर आउँदो भदौदेखि नै पूर्ण रूपमा खुला गर्ने तयारी छ । यो पुलको लागत एक अर्ब बढीको भएको बताएको छ । पुल निर्माणको काममात्र होइन, पुल वारीपारी चार सय २५ मिटर तटबन्धको काम पनि निर्माण कम्पनीको जिम्मामा छ ।
ओभरसियर पाण्डेका अनुसार पुल सुरक्षित बनाउन पुलको वारीपारी चार सय २५ मिटरसम्म तटबन्धसमेत गरिनेछ । सम्झौता अनुसार पुल बनाउने अवधि पाँच वर्षको भए पनि तोकिएको अवधिभन्दा छिट्टै पुल निर्माण गरिसक्ने उनले बताए । यही कम्पनीले नै भेरी नदीको अन्य तीन ठाउँमा पनि त्यस्तै पक्की पुल निर्माणको काम सुरु गरेको छ । पञ्चपुरी नगरपालिकालाई कैलाली जोड्ने कुइने–कचालीघाट पुल, घाटगाउँ र तातापानी जोड्ने पुल र चिप्ले पुलको काम सुरु गरिएको ओभरसियर पाण्डेले बताए । पञ्चपुरी नगरपालिका वडा नं. २ का सचिव तिलकराम अधिकारीले बाढीबाट विनाश भएको उक्त क्षेत्रमा निर्माण भएको पुलले छुट्टिएका आफन्त र छिमेकीलाई पुनः जोडेको बताए । भेरी नदीमा अहिलेसम्मकै सबैभन्दा लामो पक्की पुल भएकोले यसले आन्तरिक पर्यटकलाई पनि बढावा दिने उनको दाबी छ ।