ओझेलमा सहिद, उपेक्षामा आफन्त

साझा बिसौनी संवाददाता
सुर्खेत, २४ असोज ।
जब साउन २५ गते आउँछ, तब वीरेन्द्रनगर–४ भैरवस्थान निवासी दुर्गादेवी गौतमलाई श्रीमानु गुमाउनुको पीडाले थला पार्छ । घटना भएको दिन सम्झेर उनी भक्कानिन्छीन्, जीवनसाथीले बगाएको रतगको सम्मान नै नहुँदा उनलाई थप पीडा हुन्छ ।

२०७२ साउन २५ गतेका दिन प्रदेश सीमाकंनविरुद्ध सुर्खेतमा भएको आन्दोलनमा दुर्गादेवीका श्रीमान् टीकाराम गौतम प्रहरीबाट मारिए । गौतमको शरीरबाट बगेको त्यही रगतको बलमा आन्दोलन सफल भयो, सुदूरपश्चिममा गाभिएका जिल्लाहरू पनि फिर्ता भए । आन्दोलनकै बलमा स्थापना भएको प्रदेशमा अहिले सरकार र संसद पनि गठन भइसके । तर दुर्गादेवीको आँगनमा आजसम्म न मन्त्री पुगेका छन्, न त कोही सांसद र नेता नै ।
दुर्गादेवीले पति गुमाएको र यस क्षेत्रका नागरिकले नयाँ प्रदेश पाएको तीन वर्ष पूरा हुँदैछ । तर दुर्गादेवी मात्र होइनन्, प्रदेश आन्दोलनमा मारिएका चार जना सहिदका आफन्त र परिवार भने हालसम्म उपेक्षामा छन् । ‘मेरा श्रीमान्ले रगत बगाउँदा आन्दोलन सफल भयो, अहिले आफ्नै प्रदेश र सरकार भन्न पाएका छौं’ दुर्गादेवीले भनिन्, ‘प्रदेश र स्थानीय सरकार आएको यतिका भयो, तर आजसम्म कोही पनि मेरो आँगनमा फर्केर आएका छैनन् । आन्दोलन सफल भएपछि न सहिद देखे, न त हामीलाई नै सुने ।’ छाती र मुटुको समस्याका कारण घरबाहिर राम्रोसँग हिँड्डुलसमेत गर्न नसक्ने उनले प्रदेश सरकारले आफूहरूको पीडा नसुनेको गुनासो गरिन् ।
उनले भनिन्, ‘यो प्रदेशमा हाम्रा आफन्तको रगत मिसिएको छ, तर आज सत्तामा पुगेपछि कसैले सहिदलाई सम्झेनन् । हामीसँग गरिएको बाचा पनि पूरा भएनन्, हामीलाई राज्यबाटै अपहेलना भयो ।’ सीमाकंनको विरुद्धमा भएको आन्दोलनका क्रममा सुर्खेतमा टीकाराम गौतमसँगै यामबहादुर बिसी र गोपालसिं रजवार मारिएका थिए । १३ दिनसम्म चलेको सोही आन्दोलनमा जुम्लामा हरिबहादुर कुँवरको पनि ज्यान गएको थियो । चार जनाको ज्यान जाने गरी भएको सोही आन्दोलनको बलमा अहिले कर्णाली प्रदेश प्राप्त भएको छ । कर्णालीको नाम र स्थायी राजधानी पनि टुङ्गो लागिसकेको छ । तर आन्दोलनका सहिदलाई औपचारिक कार्यक्रममा सम्झनेबाहेक प्रदेश सरकारबाट ठोस सम्मानका काम नभएको सहिद परिवारको गुनासो छ ।
सहिद यामबहादुर बिसीका बुबा शेरबहादुर बुढा भन्छन्, ‘हामीले छोरा गुमाएको तीन वर्ष भयो, छोराको रगतबाट आज प्रदेशमा सरकार र संसद छन् । तर हाम्रा आफन्तले बगाएको रगतको उचित सम्मान भएन, हामीलाई पनि कसैले आजसम्म हेरेनन् ।’ आन्दोलनका क्रममा यहाँका राजनीतिक दलहरूले प्रदेश सरकार बनेपछि सहिदका शालिक स्थापना गर्ने, पीडित परिवारलाई रोजगारी, सहिदको नाममा चौकको नामाकरण र पार्क बनाउने प्रतिबद्धता जनाएका थिए । तर हालसम्म कुनै पनि प्रतिबद्धता पूरा नभएको सहिद परिवारले गुनासो गरेका छन् । प्रदेश सरकार र संसदले आफूहरूको पीडा नसुनेको भन्दै उनीहरूले सहिदको पनि अपमान भएको बताएका हुन् । यस्तै संसद र मन्त्रालयमासमेत सहिदका फोटा राख्न आनाकानी गरिएको सहिद परिवारको दुखेसो छ । ‘रगतको उचित सम्मान हुनुपर्छ, हाम्रा आफन्तले यो प्रदेशका लागि रगत बगाएका हुन्’ सहिद हरिबहादुर कुँवरका दाजु राजबहादुर कुँवर भन्छन्, ‘प्रदेश सरकार र संसदले सहिदलाई बिर्सिए, यो दुःखद् पक्ष हो । हालसम्म सहिदलाई सम्झन लायक काम नै हुन सकेनन्, अब यसतर्फ पहल गरियोस् ।’
उपलब्धी हात लागेपछि सहिद र तिनका परिवारलाई भुल्न नहुने उनको भनाइ छ । आन्दोलनमा ज्यान गुमाएका चारै जनाको कुनै व्यक्तिगत स्वार्थ थिएन । उनीहरू कर्णाली छुट्टै प्रदेश भएको हेर्न चाहान्थे । तर जसको रगतसँग साटेर कर्णाली प्रदेश स्थापना भयो, आज उनीहरू नै ओझेलमा परेका छन् । प्रदेश घोषणा भएपछि सहिदका शालिक निर्माण र चौकका नामाकरण गर्ने उद्घोष गरिएको थियो । तर तीन वर्ष पुग्नै लाग्दा एउटा पनि प्रतिबद्धता पूरा नभएपछि सहिद परिवार र तिनका आफन्तहरू निराश बनेका हुन् । आन्दोलनका नेतृत्वकर्ता र राज्य दुवै पक्षबाट आफूहरूलाई बेवास्ता गरिएको उनीहरूको दुखेसो छ ।